कीर्तिमानी आरोही “हिम चितुवा” आङरिता शेर्पाको निधन

२०७७ आश्विन ५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए1न्यूज नेपाल

काठमाडौं – १० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरी  विश्व  कीर्तिमानी दर्ज गरेका पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । ‘हिम चितुवा’ उपनामले चिनिने पर्वतारोही शेर्पाको सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा निधन भएको हो पारीवारीक स्रोतले जानकारी दियो ।

सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय आङरिता शेर्पा लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।

सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका  शेर्पाले १० पटकसम्म विना अक्सिजन सगरमाथाको सफल आरोहण गरेका थिए । उनले सगरमाथा मात्रै नभई  विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको पटकपटक आरोहण गरेका छन् ।

आरोहणका क्रममै रहेका आङ्रिता बिरामी परपछि आरोहण यात्रा रोकिएको थियो । उनी बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई आङरिता सगरमाथा आरोहणमा नजानाको मुख्य कारण वुझ्न  घरैमा भेट्न पठाएका थिए । गोपीकृष्णस्थित भाडाका कोठामा बसेका शेर्पालाई भेट्न आएका दीपेन्द्रले बुबा वीरेन्द्रले आरोहणबाट सन्यास लिन सुझाएपछि उनी आरोहणमा नगएको शेर्पा परिवारको भनाइ छ ।

त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले ‘दरबार आउनू’ भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित भएका थिए।

दश पटकको विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल शेर्पालाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उनकी छोरीले बताइन्।

हिमचितुवा शेर्पाको पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लगिएको छ भने बुधबार बौद्ध धर्मसंस्कार अनुसार दाहसंस्कार गर्ने तयारी गरिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय