सिंगानेहरु… !! – राजेश लामा रुम्वा

२०८० मंसिर ४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

– राजेश रुम्वा तामांग

वृहत नेपाली शब्द कोषमा “आफ्ना भाषा, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज भएका र कुनै निश्चित क्षेत्रमा बसोबास गर्ने पछौटे जाति, शिकार खेली जीविका चलाउने आदिम जातिको समुदाय, आदिवासी”। भनेर जनजाति आदिवासीको परिभाषा लगाएको छ। जानकारी रहोस् यो परिभाषा जनजाति आदिवासी अभियान्ताहरुको सुझाव अनुसार नै गराएको हो, त्योभन्दा अगाडि अलिक अर्कै थियो।

यो परिभाषा अनुसार नेपालको जनजाती आदिवासीहरु भनेको अझै पनि ब्राजिल र अफ्रिकाको जंगलमा झारपात स्याउलाले तुरी छोपेर जंगलमा बाँदरको शिकार गर्दै हिंड्ने कविलाई जाति जस्ता हुन् यस्तै छन् यहाँका जनजाती आदिवासीहरु !!

आज नेपालको जनजाती आदिवासी भनेर किटानी गरेको जातिका मान्छेहरु बिकासित मुलुक अष्ट्रेलियामा पुगेर त्यहाँको टप टेन धनीमा शेष घले पुगेको छ भने अर्को P.S. गोले भन्ने एउटा तामाङको छोरा भारतमा मुख्यमन्त्री भएर बसेको छ त्योभन्दा अगाडि चाम्लिङले मुख्यमन्त्री खाइरहेको थियो।
यो मुलुकको प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ देखि प्रधानसेनापति गुरुङ, प्रहरी प्रमुख तामाङ हुँदै सभामुख सम्म खाएर बसिसकेको यहाँको मतुवाली जातिलाई अझै पनि “निश्चित क्षेत्रमा बसोबास गर्ने पछौटे जाति, शिकार खेली जीविका चलाउने आदिम जातिको समुदाय, भनेर आफ्नो समुदायलाई होच्याएर परिभाषा गरेको आदिवासीको फुली भिरेर हिंड्ने अभियान्ताहरु भनेको वंश गद्दारहरु हुन्।

अहिलेको बाहुन क्षेत्रीहरु पनि कुनै समय निश्चित क्षेत्रमा बसोबास गर्ने, पछौटे जाति, शिकार खेली जीविका चलाउने आदिम जाति बाटै बिकास भएर आएका समुदाय हुन्। बाहुन क्षेत्री मात्रै होइन यो धर्तीको जुनसुकै मानव समुदाय यही मानव बिकासको चरण बाट गुज्रेर आएको समुदाय हुन् र हुन्छ। बिकास क्रममा कुनै समुदाय अगाडि कुनै पछाडी हुन्छ।

बाल्यकालमा जोसुकै सिंगाने हुन्छ, सिंगान हातले गालामा पुछ्दै लडिबडी खेल्दै हुर्केको हुन्छ। बाल्यकालमा कसैले सिंगान खेलाउथ्यो भनेर त्यसको नाम सिंगाने भनेर राख्दैन।
तर यहाँनेर अचम्म छ ! झन् उल्टै खुशी भएर म सिंगाने हुँ !! सिंगाने हुनुमा मलाई गर्व छ ! गर्वले भनौं हामी सिंगाने हौं भन्दै नारा लगाउँदै कोहि उफ्रिदै हिंड्छन् भने त्यसलाई के भन्ने ?
ठिक त्यस्तै यहाँ आफुलाई हामी आदिवासी जनजाती हुँ भनेर छाती फुलाएर उफ्रिनेहरु भनेको म सिंगाने हुँ भन्दै उफ्रेको जस्तै हो !

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय