
– भेषराज पाण्डे
हरितालिका तीजको अवसरमा देश अनि विदेशमा नेपाली चेलिहरुमा रौनकता छाएको छ । महिना अघि देखि नै कलाकारहरु कार्यक्रमहरुमा व्यस्त हुँदै आएको पाइन्छ । यसरी कलाकारहरुलाई आफ्नो प्रस्तुती दिन भ्याई नभ्याई हुने चाडको रुपमा तीजलाई लिइएको छ । अरु चाडबाडहरु बिस्तारै ओझेल पर्दै गएको जस्तो देखिए पनि तीज भने फस्टाउदै गएको प्रष्ट हुन्छ । दर खाने अर्को दिन व्रत बसेर त्यसको अर्को दिन ऋषि पञ्चमीको पुजा गरेर सकिने पर्व नै तीज हो । यसरी सरसर्ती हेर्दा यो पर्व तीन दिनमा सकिनुपर्छ । तर हुनेखानेहरुको हप्तौँ अघिदेखिको चहलपहलले बजार पनि तात्ने गर्छ, यो समयमा । विवाहित महिलाहरु आफ्नो पतिको सु स्वास्थ्य अनि दिर्घायुको कामना गर्दै र अविवाहित नारीहरु शिव जस्तो पत्नी व्रता श्रीमान पाउने विस्वासमा व्रत बस्ने चलन चल्दै आएको छ । विवाह गरेर जन्मथलो बाट कर्मथलो गएका महिलाहरु आफ्ना बाल्यकालका साथीहरु भेटेर आफुले भोगेका दुख वेदनाहरुलाई गीतको माध्यमबाट व्यक्त गर्ने गरि तीज गितको सुरुवात भएको पाइन्छ । धान रोपाई सहितको बर्खे काम सकिएपछी शरिरलाई आराम होस् भनेर माइत जाने अनि खिरको मिष्ठान्न स्वादमा माइती घर परिवार सङ्ग बसेर आफ्नो दुख बिर्साउने चाडको रुपमा तीजलाई लिइन्छ ।
समय सङ्गसङ्गै चाडवाडलाई ग्रहण गर्ने तरिकामा पनि परिवर्तन आएको पाइन्छ । युवाहरु रोजगारीको सिलसिलामा विदेश पलायन हुँदा चाडबाडहरु ओझेलमा पर्दै आएका छन् । तर तीज पर्व भने झन फस्ट्याएको पाइन्छ । महिना अघि देखि नै दर खाने /खुवाउने काम मात्र नभएर तीज विशेष कार्यक्रमहरु पनि संचालित हुँदा तीजको महत्व बढेको हो या घटेको भन्ने जस्ता टिप्पणीहरु सुनिन थालेका छन् । विशेष गरि सहर र विदेशी भूमिमा तीज पर्व महिना अघि देखि मनाउन थालिएको छ । अहिले नेपालीहरु विश्वका धेरै देशमा पुगेका छन् । जुन ठाउँमा धेरै नेपाली छन् ,त्यहाँ संघ संस्थाहरु पनि बढी नै छन् । जति धेरै संस्था,उति धेरै कार्यक्रम । सायद यही कारण पनी तीजका कार्यक्रमहरु महिना अघि देखि आयोजना गरिएका होलान् । यस्तो गरिदा कलाकारहरुको गरि खाने बाटो त बढेको जस्तो देखिएला तर यसले तीजको गरिमा नै घटाउदै लगेको छ।
विशेष गरि लोक गीत सङ्गितमा आवद्द सर्जक तथा गायकहरुलाई यो पर्वले बढी व्यस्त बनाउछ । स्वदेश अनि विदेशका विभिन्न कार्यक्रमहरुमा ठाउँ पाउँदा नेपाली कला संस्कृतिलाई टेवा पुग्ने मात्र नभएर कलाकारहरु जिउने माध्यम पनि दरिलो बन्दै गएको छ तथापी लामो समय पहिला देखि यसो गरिदा तीज पर्वमा नकारात्मक टिप्पणी गर्नेहरुको संख्या बढ्दो छ । पहिला पहिला जसरी तीज गितमा मौलिकता हुन्थ्यो, त्यो आजकाल हराउदै गएको छ । आफ्ना दुख सुखमा साथ दिएका बाल्यकालका साथीहरुलाई वैवाहिक जिवनका उतारचढावहरु गितको माध्यमबाट पोख्ने अनि मन हल्का बनाउने काम तिजमा पहिला गरिए पनि हिजो आज यस्तो भेटिदैन । यसको मत्लब तीज गित सङ्गितमा हुनुपर्ने मौलिकता हराउदै गएको छ ।
सर्जकहरु सस्तो प्रचारवाजीमा लागेर तीजको मर्म बिर्सदै जादा लोक गित सङ्गीत नै धरापमा पर्न थालेको छ । तीज गितमा पछिल्लो समयमा प्रयोग गरिएका शब्दहरु अश्लील मात्र नभएर देखाईने भिडियोमा पनि त्यो पाइन्छ ,जुन तीजको मर्म विपरित हो । नारीहरु अर्ध नङ्ग शरीर देखाएर नाच्ने अनि पुरुषहरु महिलाका वस्त्रमा नाच्ने जस्ता कार्यहरु पछिल्लो समयका तीज गीतमा देखिनु चिन्ताजनक विषय हो । यसलाई केही युवा वर्गले रुचाए पनि सचेत नागरिक समाज अनि युवाहरुले नै अपच्य भन्दै टिप्पणी गर्दै आएका छन् ।
गाउँ घरका डाडो पाखोमा गाइने र त्यस्तै भाव बोकेका गीत हराउदै छन् तर आधुनिकताको नाममा उच्छृङ्खलपन बोकेका तीज गित अहिले सहरका होटेलहरुमा घन्किन लागेका छन । तीज गित भन्दै हिन्दी गित घन्काएर रमाइलो गर्नेहरुको जमात पनि कम छैन ।
तीज गित सङ्गितमा मात्र बढ्दो विकृती नभएर दर भन्ने शब्दलाई पनि अपवित्र बनाईदै छ । दर भन्न बित्तिकै पहिला खिर,घिउ अनि काक्रोको अचार सम्झिइन्थ्यो । तर हिजो आज दर भन्न बित्तिकै माछामासु र रक्सी सम्झिइन थालेको छ । तीजको व्रत बस्नु अघिल्लो रात चेलिबेटीहरु मिलेर खाईने विशुद्द शाकाहारी भोजन नै दर हो । पछिल्लो समयमा तीजको दर खानु भन्दा एक डेढ महिना अघि देखि नै दरको नाममा होटल रेस्टुरेन्टमा गएर विभिन्न ब्राण्डका रक्सि अनि माछा मासुमा रमाईन थालिएको छ । त्यति मात्र नभएर महङ्गो साडी तथा सुन अनि हिराका गरगहना प्रदर्शन गर्ने विकृति तीजमा बढी छ । तीज पर्वको नाममा गरिने यस्ता गतिविधीले तीजको न त मर्म नै बुझाउछन न त आम चेलीहरुको सम्वेदना नै बुझ्न सक्छन् । त्यसैले तीज पर्वमा हुने विकृतीहरु घटाउन युवा पुस्ता लाग्नु पर्छ । सचेत नागरिक समाजले यस्ता गतिविधिहरुलाई निरुत्साहित पार्नुपर्छ ।
लेखक एन आर एन ए-इजरायलका उपाध्यक्ष हुनु हुन्छ ।