
मध्यपूर्वको इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले अचानक आक्रमण गरेपछि शुरु भएको युद्ध दोश्रो हप्तामा पुगिसकेको छ । अन्य राष्ट्रहरु समर्थन र विरोधमा उत्रिरहेका छन ।
इजरायलले गाजापट्टिमा प्रत्याक्रमण स्वरुप व्यापक बमबारी गरिरहेको छ भने इस्लामिक संगठन हिजबोल्लाले लेबनानबाट आक्रमण गरेर हमासलाई साथ दिइरहेको छ । यो बेला युद्ध तत्काल रोकिइहाल्ने परिस्थिति अझै देखापरेको छैन ।
संसारका विभिन्न मुलुकहरुमा जस्तै इजरायलमा पनि धेरै नेपालीहरु अध्ययन र रोजगारीका सिलसिलामा कार्यरत रहेका छन । यो युद्धमा १० नेपालीहरुले ज्यान गुमाउन पुगे भने एकको अवस्था अझै अज्ञात रहेको छ ।
इजरायलमा रहेको गैर आवासीय नेपाली संघका अध्यक्ष श्रीकृष्ण भन्डारीले कान्तिपुर टेलिभिजनको टफ टकमा कुरा गर्दै यहाँको अवस्थाबारे जानकारी गराउनु भएको छ । नेपालमा गेर आवासीय नेपाली संघको चुनावी महासंग्राम भइरहँदा पनि आफूहरु भने युद्धग्रस्त क्षेत्रमा रहदै आउनु भएका नेपालीहरुको समस्या र उहाँहरुको अवस्थाहरुमा केन्द्रित भएको बताउनु भयो ।
अध्यक्ष भण्डारीका अनुसार इजरायलमा कार्यरत पुराना नेपालीहरुमा भन्दा नयाँ जिटुजीमार्फत इजरायल आउनुभएका नेपालीहरुमा युद्धप्रति अलि धरै नै डर र त्रास रहेको छ । तथापि विगत दुई दशकभित्र इजरायलमा भएका युद्धका घटनाहरु र त्यसको अनुभवका आधारमा आफूहरुले सान्त्वना दिने र सम्झाउने गरेको बताउनु भयो ।