स्थानीयवासीको अमनचयनलाई कायम राख्न ठमेलमा टोलवासीको रात्रि सुरक्षागस्ती

२०७७ आश्विन ३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए वान नेपाल

काठमाडौं । ठमेलको पहिचानमा विकृति आउन नदिन र स्थानीयवासीको अमनचयनलाई कायम राख्न टोलीवासीले रात्रि सुरक्षागस्ती सुरु गरेका छन् । ठैटीदेखि गल्कोपाखासम्म राति ८ बजेदेखि ११ बजेसम्म टोलीवासीका ६० जनाभन्दा बढी युवाहरु सुरक्षाका लागि खटिने गरेको छन् । ठमेल पर्यटन विकास परिषद्का सदस्य तथा ठमेल सुधार समितिका सदस्य नरेन्द्रबहादुर श्रेष्ठका अनुसार रात्रिको समयमा स्थानीयवासीको अमनचयनमा खलल पु-याएकाले ठमेलमा रात्रि सुरक्षा गस्ती अभियान सुरु गरिएको छ ।

साँझ परेपछि मादक पदार्थ सेवन गरेका, यौनकर्मी र तेस्रो लिङ्गीले ठमेलको शान्त वातावरणमा खलल पु-याएपछि रात्रि गस्ती गर्नुपरेको श्रेष्ठको भनाइ छ । मादक पदार्थ सेवन गरेका व्यक्ति होहल्ला गर्ने, तेस्रो लिङ्गी तथा यौनकर्मीले सडकमै बार्गेनिङ गरेर ठमेलवासीको अमचनयमा खलल पु-याउन थालेपछि रात्रि गस्तीको अवधारणा ल्याएको स्थानीयवासीको भनाइ छ । सदस्य श्रेष्ठले भने, ‘अमनचयनको खललमा हद नाघेपछि हामीले रात्रिगस्ती गर्न थालेका हौं ।’

ठमेल सुधार समितिको अगुवाइमा वडा कार्यालय, वडा सदस्य, स्थानीय प्रशासन र ठमेल क्षेत्रमा रहेका विभिन्न क्लबको सहयोगमा रात्रि गस्ती गरिएको श्रेष्ठले जानकारी दिए । अमन चयनमा खलल पु-याउने व्यक्तिलाई पहिले सम्झाउने र त्यसपछि तत्काल ठमेल क्षेत्र छोडेर जान आग्रह गरिने छ । त्यत्ति गर्दा पनि अटेर गरे प्रहरी प्रशासनलाई खबर गरेर बुझाइने श्रेष्ठले बताए ।

ठमेल सुधार समितिको यो अभियानलाई भगवानवाल टोल सुधार समिति, डबली टोल सुधार समिति, गाहिटीः क्वबल, ठमेल प्रहरी, नाट्यवराही क्वबल, चिःवाल क्लब, किसान क्लब र क्वाःवाहल क्लबले साथ दिएका छन् ।

सांकेतिक रुपमा मात्र यो अभियान थालिएको सदस्य श्रेष्ठले बताए । परिस्थितिमा सुधार नआए ठमेलवासीको अमनचयनमा खलल पु-याउने जोकोहीलाई कानुनको कठघरामा उभ्याउन ठमेल सुधार समिति अझ कठोर बन्ने चेतावनी सदस्य श्रेष्ठले दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय