फेसवुकमा नक्कली युवती बनेर एक जासुस समुहले हात पारे गोपनिय सरकारी दस्तावेज

२०७४ माघ २६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नयाँ दिल्ली, २६ माघ । भारतीय वायुसेनाका क्याप्टेनलाई जासुसले फेसबुकमा केटीको नक्कली प्रोफाईल बनाएर महत्वपूर्ण सूचना हासिल गरेको तथ्य प्रकाशमा आएको छ । जासुसको एक समूहले फेसबुकमा युवती बनेर भारतीय वायुसेनाका एक ग्रुप क्याप्टेनलाई सम्पर्क गरेका थिए । कुराकानी बढ्दै गएपछि क्याप्टेनले  युवती बनेर  जासुसी गरिरहेका जासुसलाई गोप्य दस्तावेज दिएका थिए ।

 

भारतीय संचारमाध्यमका अनुसार पाकिस्तानी गुप्तचर एजेन्सी ‘आइएसआइ’ का लागि जासुस गर्दै आएको सो समूहले भारतीय वायुसेनाका अधिकारीलाई फेसबुकमार्फत जालमा पारेर गोपनीय दस्तावेज हासिल गरेको हो ।

अरुण मारवाह नाम गरेका भारतीय वायुसेनाका ती ‘ग्रुप क्याप्टेन’माथि करिब १० दिन लामो अनुसन्धान गरी यो तथ्य प्रकाशमा आएको अधिकारीहरुको भनाइ छ । उनलाई बिहीबार हिरासतमा लिइएको छ ।

प्राप्त विवरणअनुसार गत वर्ष डिसेम्बरमा दुईवटा नक्कली प्रोफाइलमार्फत मारवाहसँग जासुसले सम्पर्क गरेका थिए । ती दुवै प्रोफाइल युवतीको नाममा थिए । उनीहरुले आफूलाई मोडल बताउँदै आएका थिए ।

मित्रता बढ्दै जाँदा मारवाहले उनीहरुसँग अन्तरङ्ग वार्ता गर्न थालेका थिए । एक साताभन्दा लामोसमय यसरी अन्तरङ्ग वार्ता भएको बताइन्छ ।

पछि उनीहरुले मारवाहसँग वायुसेना मुख्यालयमा रहेका महत्वपूर्ण दस्तावेजका तस्वीर मागेको र मारवाहले आफ्नो मोबाइलमार्फत उनीहरुलाई त्यस्ता दस्तावेज उपलब्ध गराएको भारतीय अधिकारीहरुको दावी छ ।

उनले केही तालिम र युद्धसम्बन्धी तयारीका विविध जानकारीसमेत उपलब्ध गराएको बताइन्छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय