तीजका चेलीहरुलाई पोषणविद् डा. कोइरालाका ६ टिप्स

२०७३ भाद्र ८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

DSteejहिन्दु नारीहरुको महान पर्व हरितालिका तीज संघैरमै आइपुगेको छ । गाउँ गाउँमा तीजका गीतहरु घन्किन थालेका छन् भने सहरमा  यसको रौनक छाइसक्यो । अहिल्यैदेखि दिदीबहिनी मिलेर दर खान सुरु भइसक्यो । अहिले दरको ट्रेन्ड घरभित्र भन्दा पनि पार्टी प्यालेस या रेस्टुरेन्टसम्म पुगेको छ । तीजका दिदिवहिनीहरु दिनहुा चिल्लो, पिरो, गुलियो र मसलेदार दरमा रमाउने गरेको पाइन्छ । चाडबाडमा धेरै चिल्लो, पिरो र मसलेदार परिकार खानाले कस्तो असर गर्ला ? दर कसरी खाने ? चिल्लो र मसलेदार खानाको असर न्यूनीकरण गर्ने कुनै उपाय छन् कि ? रमाइलो माहोलमा यसबारे सोच्ने फुर्सद अधिकांशलाई हुादैन । त्यसैले पोषणविद् प्रा.डा. उमा कोइरालाले सबै चेलीबेटीलाई यसबारे सम्झाइदिएकी छिन्  :

दर भनेपछि चिल्लो, पिरो र मसलेदार हुनुपर्छ भन्ने मान्यता बसिसक्यो । तर, त्यो होइन । दर खाने भनेको एउटा माहोल हो । त्यसैले संस्कारलाई स्वास्थ्यका हिसाबले पनि हेर्न सक्नुपर्छ । सामान्य नेपाली खाना नै दर हो । यस्तो खाना स्वस्थकर पनि हुन्छ । तर, आजकाल हाम्रा पारम्परिक खानेकुराभन्दा पनि बाहिरी संस्कृतिसँग जोडिएका खानेकुरा प्राथमिकतामा पर्दै आएका छन् । त्यस्ता खानेकुराको गुणस्तरमा विश्वसनीयता हुँदैन । हरेक खानामा मिसावट हुन्छ । त्यसैले स्वास्थ्यका लागि हितकर हुने दर घरमै आफ्नै हातले बनाएर खानु राम्रो हुन्छ ।

लामो समयसम्म नियमित मसलेदार खानेकुरा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । दैनिक रूपमा यस्ता खानेकुरा सेवन गर्दा शरीरले नै नसहने गम्भीर समस्याहरू पनि आउन सक्छन् । अझ सहरी क्षेत्रमा शारीरिक परिश्रम पनि नहुने हुँदा मसलेदार खानाले पाचनक्रियामा समस्या निम्तिन्छ । यस्तो अवस्थामा रक्तचाप असन्तुलित हुन्छ । त्यसैले भरसक संयम अपनाएर सादा खानपान नै उपयुक्त हुन्छ ।

नियमित रूपमा अत्यधिक गुलियो, अमिलो, पिरो, चिल्लो खाना खाँदा ग्यास्ट्रिक हुने, कोलेस्टोरल बढ्ने, हृदयघातको सम्भावना बढ्ने, कब्जियत हुने, अल्सर हुनेजस्ता जटिलता आउन सक्छन् । त्यसैले स्वादे जिब्रोमा जोडबल नगर्नु नै राम्रो हुन्छ ।

स्वस्थ व्यक्तिलाई अस्वस्थकर खानाले रोगी बनाउँछ । अस्वस्थ व्यक्तिलाई त झनै गम्भीर अवस्थामा पुर्‍याउने खतरा रहन्छ । त्यसैले मसलेदार खानेकुरा खानुअघि आफ्नो स्वास्थ्य अवस्थामा ख्याल पुर्‍याउने गर्नुहोस् । स्वादमा लोभिने होइन, संयम अपनाउने गर्नुहोस् ।

साथीभाइको आग्रहलाई पनि नकार्न सकिँदैन । संस्कार तोड्न पनि सकिँदैन । यस्तो गर्न आवश्यक पनि छैन । तर, सचेत भएर यी सब काम पूरा गर्न सकिन्छ । घरमै स्वस्थकर परिकार बनाएर रमाउन
सकिन्छ । माछामासुभन्दा पनि फलफूलमा जोड गर्नुहोस्, मसलेदार खानपानभन्दा सलादमा मन लगाउनुहोस्, चिल्लो, पिरो कम भएको गेडागुडी खानुहोस् । यस्तो खानाले रमाइलो पनि घटाउँदैन, स्वास्थ्य पनि बिगार्दैन ।

चाडबाडमा देखिने ठूलो समस्या भनेको खाने आनिबानी पनि हो । एकैपटक  धेरै खाने आमनेपालीको बानी छ । यो बानी त्याग्नुपर्छ । थोरै–थोरै गरेर पटक–पटक खानु राम्रो हुन्छ । चाडबाडमा मिठाई पनि खुबै खाने चलन छ तर,  मिठाईमा धेरै किसिमका मिसावट हुने भएकाले नखाएकै राम्रो हुन्छ । माछामासु खाने नै हो भने उसिनेर सेवन गरेको राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय