वरदान बन्यो राप्ती नदिको गाउँ सुरक्षा तटबन्ध

२०७२ असार २, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

रुद्र सुवेदी

tatbandhaबाँकेको राप्तीपारिका विभिन्न गाविसमा हरेक वर्ष वर्षायाममा आउने बाढीबाट गाउँबस्ती जोगाउन उद्देश्यले गाउँ सुरक्षा तटबन्ध निर्माण गरिएको छ । जिल्ला विकास समिति बाँकेको आर्थिक सहयोगमा राप्ती नदी तथा आसपासका ससाना खहरे खोलाबाट गाउँ बस्तीलाई बचाउन फत्तेपुर, नरैनापुर, लक्ष्मणपुर र कटकटुइयाँमा गाउँ सुरक्षा तटबन्ध गरिएको छ ।

बाँकेका स्थानीय विकास अधिकारी जीवलाल भुसालले राप्ती नदीबाट गाउँमा पानी पस्न नदिन फत्तेपुरमा जिविस बाँके र गैरसरकारी संस्था ‘बेस’को सहकार्यमा करिब डेढ करोड रुपैयाँको लगानीमा गाउँ सुरक्षा तटबन्धको काम जारी रहेको जानकारी दिए । ‘नदीबाट गाउँमा पानी प्रवेश गर्ने नाकाको पहिचान गरी त्यस्ता ठाउँमा तटबन्ध गरेर बाढीको पानी गाउँमा पस्न नदिन गरिएको तटबन्ध सुरक्षा तटबन्ध हो । यसले बाढीबाट गाउँबस्ती जोगाउन प्रभावकारी हुने अपेक्षा गरिएको छ,’ उनले भने ।

उनले यसै उद्देश्यको बाँकेकै नरैनापुर गाउँको उत्तरतर्फ गाउँ सुरक्षाका लागि तटबन्ध करिब ७ लाख रुपैयाँमा निर्माण गरिएको बताए । उनले समुदाय र गैसस तथा उपभोक्ताको सहभागितामा यस्ता कायक्रमहरू सञ्चालन गरिएको जानकारी दिए । यसैगरी, लक्ष्मणपुर–२ र ७ मा पनि निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत ३७ लाख रुपैयाँको लागतमा गाउँ सुरक्षा तटबन्ध निर्माण भइरहेको छ । ३ सय ३० मिटर र दुवैतर्फ नाली निकास भएका कारण यसबाट वर्षायाममा हिलोमा हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने स्थानीय विक्रम यादव बताउँछन् ।

यस्तै, कटकुइँया–२ र ६ पन्हवागाउँमा पनि सुरक्षा तटबन्ध बनाइएको छ । ३६ मिटर लामो तटबन्ध ७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । तटबन्धको काम सकिएपछि कटकुइँया गाउँ डुबानबाट जोगिने उपभोक्ता समितिका सचिव तसद्दु हुसेन अन्सारीको दाबी छ । सो ठाउँमा उपभोक्ताको प्रत्यक्ष लगानी र जनसहभागितामा थप १० मिटर गाउँ सुरक्षा बाँध निर्माणमै जोडेर बाँध बनाउने योजना रहेको सो बाँध निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष प्रमोदकुमार मिश्रले जानकारी दिए ।

यसैबिच, बाँकेका स्थानीय विकास अधिकारी भुसाल नेतृत्वमा रहेको राजनीतिक दल र प्राविधिक सहितको टोलीले निर्वाचन क्षेत्र नं. २ मा चालु आर्थिक वर्षमा निर्माणाधीन विकास निर्माणका योजनाको स्थलगत अनुगमन गरेको छ ।

अनुगमनका क्रममा क्षेत्र नं. २ मा सञ्चालित सबै योजनाको निर्माण कार्य सन्तोषजनक देखिएको र समयमै सम्पन्न हुने स्थानीय विकास अधिकारी भुसालले जानकारी दिए ।

समयभित्रै विकासका योजना गुणस्तरीय ढंगले निर्माण सम्पन्न गर्न उपभोक्ता समिति र ठेकेदार कम्पनीलाई निरन्तर ताकेता गर्ने काम भइरहेको जिल्ला विकास समिति बाँकेका जिल्ला शासन विज्ञ मीनबहादुर मल्लले जानकारी दिए ।

जिल्ला विकास समिति बाँकेका अनुसार निर्वाचन क्षेत्र विकास कार्यक्रमका १ सय ५६, निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका ३६ र जिविस कार्यक्रमबाट ८० योजना निर्माणाधीन छन् । तीमध्ये कतिपय योजनाको काम सम्पन्न भइसकेको छ ।

बाँकेमा सञ्चालनमा रहेका योजनाहरूको यतिबेला अन्तिम चरणमा रहेकाले अनुगमन तथा ती योजनाको काम सम्पन्न गर्दा प्राविधिक रूपले गुणस्तर भए÷नभएको समेत जाँचका लागि जिल्ला प्राविधिक कार्यालय बाँकेबाट प्राविधिकको टोली पनि फिल्डमा खटाइएको प्राविधिक कार्यालयका प्रमुख डिभिजिनल इन्जिनियर गौरीकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘योजनाको गुणस्तरको पाटोमा सूक्ष्म रूपले अनुगमन गरेका छौं । गुणस्तर अपुग भएका योजनाहरूको काम रोक्न लगाउँदै पुनर्निर्माण गर्नसमेत लगाएका छौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय