बुढेसकालमा श्रम गर्न प्युठानदेखि सिन्धुपाल्चोकसम्म

२०७२ जेष्ठ ३१, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

दिनेश थापा,
dahri ba
सिन्धुपाल्चोक, ३० जेठ – विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता जिल्लामा भूकम्पपीडितका लागि अस्थायी टहरा तथा विद्यालय निर्माणमा व्यस्त छन् । जिल्लाको यो विपत्तिमा टाढाटाढाबाट आएर राजनीतिक दलका कार्यकर्ता श्रममा खटिएका छन् र दुःखेको जिल्लाको घाउमा केही भए पनि मलम लगाउने प्रयासमा छन् ।

एमालेले सुरु गरेको पुनर्निर्माण अभियानअन्तर्गत क्षेत्र नं. २ का विभिन्न गाविसमा एमाले दाङ र प्युठानका नेता–कार्यकर्ता खटिएका छन् । एमाले राप्ती अञ्चल इन्चार्ज एवं केन्द्रीय सदस्य खेममान खड्काको टोलीमा दुवै जिल्लाका ८० स्वयंसेवक परिचालन भएर पीडितका लागि अस्थायी घर तथा विद्यालय निर्माण गरे ।

यही टोलीमा अरूभन्दा फरक लवाइ र वेशभूषा भएका एक स्वयंसेवक छन् अनि उनकै अगुवाइमा अस्थायी संरचना निर्माणमा जुटेका छन् अरू स्वयंसेवक । कानमा पेन्सिल, सुरुवालको एक छेउमा नाप्ने टेप अनि हातमा करौंती र बसिला लिएका उनी सबैलाई काम गर्न हौस्याइरहन्छन् ।लामो दाह्री, फुलेको कपाल अनि हेल्मेट र रातो ज्याकेटमा छन् उनी । उमेरले ६० काटेका छन् तर अरू युवामा भन्दा काममा कतै पनि कमी छैन । सिन्धुपाल्चोकभन्दा निकै टाढाबाट आएका हुन् उनी । प्युठान जिल्ला बिजुली गाविस–९ का रविध्वज पाण्डे अर्थात् ‘दाह्री बा’ ।

उनी दुई सातादेखि जिल्लाको सिपापोखरे हुँदै चौतारा अनि साँगाचोकसम्म पुगेर जिल्लावासीको दुःखेको मनमा केही भए पनि मलम लगाइरहेका छन् । गाउँमा सामान्य खेती किसानी र अरू बेला सिकर्मी काम गरेर दैनिकी गुजार्ने पाण्डेको घरको खेतीले वर्षभरि खान पुग्दैन ।

सिकर्मी काम नै हो उनको मुख्य पेसा । नेपालमा बहुदल आएदेखि नै उनी एमालेमा छन् । अरू नेताको जस्तै उनको पनि एमालेको पहिचान भनेको पार्टीले दिएको त्यही एउटा संगठित सदस्य मात्रै हो, उनले पार्टीबाट कहिल्यै केही लिएनन्, बरु दिए मात्रै । र त अहिले पनि पार्टीले भन्नासाथ घरपरिवार सबै छाडेर काम गर्न नौ डाँडापारिको जिल्ला सिन्धुपाल्चोकमा छन्, त्यो पनि निःशुल्क । उनी अहिले एमाले बिजुली गाउँ कमिटीका उपाध्यक्ष छन् ।

पाँच सन्तानका पिता ‘दाह्री बा’को परिवार आर्थिक रूपमा सम्पन्न छैन, दुई छोरा रोजगारीका लागि भारतमा छन् अनि कान्छा छोरा भर्खर एसएलसी दिएर बसेका छन् । सामाजिक काम भन्नासाथ उनी घरको काम छाडेर पनि त्यसमा सामेल भइहाल्छन् । यतिबेला सिन्धुपाल्चोकमा आएर काम गर्न पाउँदा गर्वले छाती फुलेको पाण्डे बताउँछन् । उनी काममा एकछिन विश्राम लिँदैनन् । बरु, उनी निरन्तर काम गरिरहँदा अरूलाई समस्या भएको अनुभव छ पाण्डेसँग । ‘पार्टीले जाऔं भन्यो, आफैं खर्च गरेर आउन सक्ने क्षमता थिएन, पार्टीले व्यवस्था गरेपछि आएको छु,’ उनले भने, ‘फेरि पनि पार्टीले जाऔं भन्यो भने जान तयार छु ।’

१२ वैशाखमा गएको भूकम्पले सिन्धुपाल्चोकलगायत अन्य जिल्ला तहसनहस भएको उनले सञ्चार माध्यमबाट सुनेका थिए । त्यसमा पनि सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति भएको थाहा पाएपछि उनलाई जसरी पनि यहाँ आउने इच्छा थियो । ‘पार्टीले सिन्धुपाल्चोकमा काम गर्न जाने हो भनेर सोधेपछि मैले अरू कुनै प्रश्नै नगरी हुन्छ भनिहालें,’ उनले भने । पार्टीमा लागेर यो उमेरसम्म उनले ठूला नेतासँग एक पटक पनि भेट गर्न पाएका थिएनन् रे † तर, सिन्धुपाल्चोकमा उनलाई अर्काे अवसर पनि जुट्यो । टिभीमा देखेका र अरू बेलामा नाम सुनेका एमालेका ठूला नेताहरूसँग उनले गफ गर्ने मौका पनि पाए । एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, स्थायी कमिटी सदस्यद्वय अमृतकुमार बोहरा, शंकर पोखरेललगायत अरू नेतालाई उनले नजिकबाट अभियानकै क्रममा नियाल्ने मौका पनि पाए । यसलाई पनि उनले आफ्नो सौभाग्यका रूपमा लिएका छन् ।

उनले पालेको दाह्री र कपालको पनि एउटा रोचक कहानी छ । माओवादी द्वन्द्व सुरु भएपछि उनले देशमा जहिलेसम्म शान्ति प्रक्रिया आउँदैन तबसम्म दाह्री–कपाल नकाट्ने अठोट लिए र काटेनन् पनि । माओवादी र सरकारबिच शान्ति प्रक्रियाको सम्झौता भएपछि उनले दाह्री–कपाल फालिदिए । देशमा संविधानसभाको निर्वाचन भयो तर चार पटक म्याद थप्दा पनि संविधान बन्ने कुनै लक्षण नदेखेपछि फेरि नयाँ संविधान नआउँदासम्म दाह्री–कपाल नकाट्ने संकल्प लिए अनि अहिलेसम्म उनले काटेका छैनन् पनि । बरु, बाँधेर मिलाएर राखेका छन् । ‘अरूले विभिन्न रूपमा क्रान्ति गर्छन्, मेरो क्रान्तिचाहिँ यही हो,’ पाण्डेले भने ।

पाण्डेको कामको प्रशंसा उनीसँग आएका अरू स्वयंसेवी र एमाले नेताहरूले पनि गर्ने गरेका छन् । एमाले प्युठानका सचिवालय सदस्य श्याम थापा, जिल्ला कमिटी सदस्य प्रमोद खड्का, रत्नमान राना मगर लगायतका जिल्ला नेताहरूले पाण्डे जहिले पनि पार्टीको काममा प्रतिबद्ध भएको बताए । र, पाण्डेले यसो पनि भने, ‘हामी त वामदेव गौतमको जिल्लाका कार्यकर्ता, यहाँ अमृत बोहरालगायत एमालेका अरू ठुला नेताको जिल्लामा विपत्ति आएपछि सहयोग गर्न आएका छौं र फेरि पनि संकट आयो भने आउन तयार छौं ।’ यसो भनिरहँदा वामदेव गौतमसँग भने एक पटक पनि भेट गर्ने अवसर उनलाई मिलेको छैन रे । – राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय