रुप फेर्दै काठमाडौं

२०७१ मंसिर २४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 8 मिनेट

सरकारी काम अहिलेकै गतिमा अघिबढे राजधानीको स्वरुप फेरिन धेरै दिन लाग्ने छैन ।


– डम्बरकृष्ण श्रेष्ठ

सार्क सम्मेलनको समयमा सिंगारिएको काठमाडौं। तस्वीरः कशिसदास श्रेष्ठ

पुराना पार्कहरूको सम्भार तथा पुनर्निर्माण, खाली जग्गामा नयाँ पार्क, खानेपानी, ढल, सडक र ट्राफिक व्यवस्थापनको सुधारसँगै शहरवासीको आनीबानीमा आइरहेको परिवर्तनले राजधानी उपत्यकालाई नयाँ बनाउँदैछ। कार्यान्वयनमा आएका योजना अहिलेकै गतिमा अघि बढे राजधानीमा नयाँपन स्थापित हुन धेरै समय लाग्ने छैन।

१०–११ मंसीरमा काठमाडौंमा सम्पन्न दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलनको तयारीको क्रममा सरकारले थालेको कामले ‘गरे हुने रहेछ’ भन्ने देखाइसकेको छ। रु.२ अर्बभन्दा बढी खर्च भएको छ, तर यसले फोहोर र अव्यवस्थित काठमाडौंलाई दीर्घकालीन रूपमै सुन्दर बनाउने थिति बसालेको छ । सरकारले चाहे जस्तै भएका कामको संरक्षण र नयाँ योजनाहरूको कार्यान्वयन भयो भने ‘पाहुनालाई देखाउन गरेको दुईदिने रंगरोगन’ भन्ने आशंका स्वतः हराएर जानेछ।

२० वर्षपछि ८० लाखको आवादी पुग्ने स्मार्ट सिटीका लागि स्थानीय समुदाय र सरकार अहिलेबाटै तयार हुनुपर्छ। गगन थापा, सभासद्

काठमाडौंमा १८औं सार्क सम्मेलन त्यतिबेला भयो, जतिबेला सरकारले यो राजधानी उपत्यकामा फिलिपिन्सको मनिला शहरको ‘मेट्रो सिटी’ अवधारणा लागू गर्ने पहल थालेको थियो। सरकारले उपत्यकाको एकीकृत विकासका लागि १६ मंसीरमा नयाँ नगरपालिकाहरू घोषणा गरेर काठमाडौंलाई गाविसविहीन बनाएको छ । यसरी कामहरू संयोगले भन्दा योजनाबद्ध रूपमा अगाडि बढेका छन्।

हाल आउने–जाने ‘फ्लटिङ पपुलेसन’ सहित राजधानीमा करीब ४० लाखको आवादी छ। आगामी २० वर्षमा यो जनसंख्या दोब्बर हुने अनुमान छ। त्यसकारण पनि यो उपत्यकाको एकीकृत विकास जरूरी भएको विज्ञहरू बताउँछन्। सोसाइटी अफ नेपाली आर्किटेक्ट (सोना) ले मंसीर पहिलो साता प्रस्तुत गरेको ‘काठमाडौं भिजन प्लान’ ले उपत्यकालाई दीर्घकालीन योजनातर्फ लैजान सुझाएको थियो। सोनाका आर्किटेक्ट अरुणदेव पन्त भन्छन्, “अब टुक्रे योजनाहरूले उपत्यकालाई धान्दैन।”

आफूसहित उपत्यकाका १५ जना सभासद्को समूह बनाएर यहाँका खुल्ला स्थलको संरक्षण र बसोबास क्षेत्रलाई ‘बस्न लायक’ बनाउने अभियानमा लागेका गगन थापा २० वर्षपछि ८० लाख मानिस अटाउने काठमाडौंलाई अहिलेबाटै सम्हाल्न जरूरी भएको बताउँछन्। उनको भनाइमा, पूर्वको इलाम र पश्चिमको कैलाली विकसित भए पनि त्यहाँ धनी भएका मानिसहरू काठमाडौं बस्न आउँछन्। “त्यसको तयारी अहिलेबाटै हुनुपर्छ”, सभासद् थापा भन्छन्, “त्यसका लागि हामीले आफ्नो सुझावसहितको अध्ययन प्रतिवेदन सरकारलाई बुझाइसकेका छौं।”

रुप फेर्दै काठमाडौंसरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई बलियो बनाएर यसैको मातहतमा दीर्घकालीन योजनाहरू अघि बढाउनुपर्ने थापा बताउँछन्। उनले भने जस्ता योजनाहरू अगाडि बढ्ने गतिला संकेतहरू देखिएका पनि छन्। दुई वर्षअघिसम्म उपत्यकामा हरियाली बढाउने योजनामा बजेट दिन कन्जुस्याईं गर्ने सरकारले पछिल्लो तीन महीनामा यही काममा रु.२ अर्बभन्दा बढी खर्च गर्‍यो। काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार, चालु आवमा सरकारले उपत्यकाको सौन्दर्य बढाउन मात्र रु.३५ करोड खर्च गर्दैछ।

के हुँदैछ, के बन्दैछ?

फटाफट काम भए अबको तीन वर्षमा राजधानीका २२ स्थानमा ठूला यातायात ‘जंक्सन’ र आधा दर्जन फ्लाईओभर बन्नेछन् भने ३२ स्थानका ट्राफिक लाइट स्वचालित (प्रहरी नचाहिने) बन्नेछन्। रिङरोडको १० किमी क्षेत्र ८ लेनमा विस्तारित हुँदैछ। दिगो शहरी यातायात आयोजनाले बस र्‍यापिट ट्राञ्जिट (बीआरटी) प्लान अनुसार सार्वजनिक यातायात सञ्चालन गर्दैछ। दिगो शहरी यातायात आयोजनाको उप–आयोजना निर्देशक निरज शर्मा मानिसहरूलाई निजी कार र मोटरसाइकल छाडेर बस चढ्न प्रेरित गर्ने गरी काम भइरहेको बताउँछन्। “पहिलो चरणमा ललितपुरको ग्वार्काेबाट पुल्चोकहुँदै बल्खुसम्म र काठमाडौंको गोंगबु–रत्नपार्कहुँदै एअरपोर्टसम्म त्यस्ता बसहरू चल्नेछन्”, शर्मा भन्छन्।

यससँगै पैदल यात्रीका लागि १५ किलोमिटर फूटपाथ र कोर एरियाका ८ किलोमिटर भित्री सडक सुधार गरिंदैछ। टेकु र डल्लुमा नयाँ पुल थपिंदैछ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पूरै उपत्यकाको ट्राफिक र शहरी यातायात व्यवस्थापनको दीर्घकालीन योजना बनाइरहेको छ। अहिले काठमाडौंका १९०४ किलोमिटर सडकमध्ये ९०२ किमी पक्की, ४५५ किमी ग्राभेल र बाँकी कच्ची छ। पैदल, साइकल, सार्वजनिक सवारी र निजी गाडीमा गुड्ने सबैलाई एउटै सडक छ भने वागमती अञ्चलमा दैनिक १८० को हारहारीमा नयाँ सवारी साधन दर्ता भइरहेका छन्।

आर्थिक वर्ष २०७१/७२ को बजेटमा उल्लेख भए अनुसार काठमाडौंमा जग्गा किनेरै भए पनि कम्तीमा १० स्थानमा उद्यान बनाइने काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त योगेश्वर पराजुली बताउँछन्। प्राधिकरणले सरकारको रु.१ करोड ६३ लाख बजेटमा काठमाडौंको नक्सालस्थित २० रोपनी क्षेत्रफलको नारायणचौरमा नन्दीकेशर बगैंचा बनाउँदैछ। करीब २४ रोपनी क्षेत्रफलको कमलपोखरी क्षेत्रमा पनि पार्क बन्ने भएको छ। गोकर्ण ल्याण्डफिल क्षेत्रको २४७ रोपनी जग्गामध्ये १३३ रोपनीमा पार्क र सुविधासम्पन क्रिकेट मैदान बनाउने योजना तयार छ। यसैगरी, ललितपुरको नागदह, कीर्तिपुरको टौदह, काठमाडौंको सपन तीर्थ लगायतका स्थानलाई पर्यटकीय स्थलका रूपमा पुनर्निर्माण गर्ने तयारी भइरहेको छ। पराजुली भन्छन्, “निसास्सिंदो राजधानीमा हरियाली र सौन्दर्यको फोक्सो जोड्दैछौं, जसबाट स्वस्थ जीवन बाँच्न सकियोस्।”

काठमाडौं महानगरपालिकाले रत्नपार्कलाई पुनर्जीवन दिने काम शुरू गरिसकेको छ भने तीनकुनेमा आकर्षक पार्क निर्माणको तयारी गर्दैछ। महानगरपालिकाको वातावरण महाशाखाका प्रमुख रविमान श्रेष्ठका अनुसार तीन साताभित्रमा रत्नपार्कमा पोखरीसहितको बालमैत्री बगैंचा देख्न पाइनेछ। महानगरपालिकाले रानीपोखरी, घण्टाघर र शान्ति बाटिकामा सुधार गरेको छ भने चण्डोलमा नयाँ पार्क बनाउँदैछ। विष्णुमती करिडोरमा तीन वटा र वाग्मतीको गुह्येश्वरीदेखि टेकुसम्म २५ वटा पार्कको योजना बनेको श्रेष्ठ बताउँछन्।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र शहरी विकास मन्त्रालय अन्तर्गतको आयोजना निर्देशनालयले खानेपानी र ढलका लागि गरिरहेका कामले चाँडै मूर्तरूप लिंदैछन्। बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणाका अनुसार २०७३ वैशाखमा आउने भनेको मेलम्चीको पानी चार महीना ढिलो भए पनि पहिलो चरणको १७ करोड लीटर पानीका लागि ११ सय किमी पाइप बिच्छ्याएर ६ स्थानमा रिजर्भ्वायर निर्माण भइसक्नेछ। आरुबारी, महाङ्काल, बाँसवारी, बालाजु, खुमलटार, पानीपोखरीमा रिजर्भ्वायर बन्नेछ। दैनिक ३६ करोड लीटर खानेपानीको माग रहेको उपत्यकामा पहिलो चरणमा १७ करोड लीटर आपूर्ति भए पनि थप दुई चरणमा अरू ३४ करोड लीटर पानी आउनेछ। जसका लागि भक्तपुरको कटुञ्जे, बोडे र कीर्तिपुरमा रिजर्भ्वायर बन्नेछ। मेलम्चीबाट तेस्रो चरणमा दैनिक ५१ करोड लीटर पानी आउनेछ।

उपत्यकाका ४०० भन्दा बढी स्थानमा ढल नदीमा मिसिन्छ। त्यसलाई रोक्न वाग्मती, विष्णुमती, मनोहरा, धोबीखोला र टुकुचामा ६ वटा प्रशोधन केन्द्र बन्दैछ। राणाका अनुसार गोकर्ण, गुह्येश्वरी, बालकुमारी, धोबीघाट, सल्लाघारी, खोकनामा बन्ने प्रशोधन केन्द्रले ढलको फोहोर पानी सफा गरेर नदी–खोलामा छाड्नेछ। यसका लागि एशियाली विकास बैंकको १७० मिलियन अमेरिकी डलर खर्च गरिनेछ। यो रकमबाट ५०० किलोमीटर लामो ढल सञ्जाल निर्माण गरिनेछ। यसबाहेक ४.४ किमी पुराना र १०१ किमी नयाँ इन्टरसेप्टरहरू समेत मर्मत तथा निर्माण गरिनेछ। एकीकृत वाग्मती सभ्यता ढल विकास समितिले ढल खोलामा मिसाउने प्रचलन रोक्न खोला किनारहरूबाट ढल बनाएर प्रशोधन केन्द्रसम्म पुर्‍याउने काम गरिरहेको छ।

जनता नै लागे

नक्सालको नारायणचौरमा एक वर्षअघिसम्म फोहोरको डङ्गुर थियो। अहिले त्यो ठाउँमा धमाधम नन्दीकेशर बगैंचा बन्दैछ। सरकारको रु.१ करोड ६३ लाख खर्चमा बनिरहेको यो परियोजनामा स्थानीयवासीको पहल उल्लेख्य रह्यो। नन्दीकेशर बहाल गुठीका नाममा रहेको यो जग्गामा १० वर्षअघि नै स्थानीय सामुदायिक सेवा केन्द्रले पार्क बनाउन खोजेको थियो। २०६३ सालमा यूरोपियन युनियनले पार्क निर्माणका लागि रु.३ करोड २५ लाख सहयोग गर्न लागेकोमा गुठी संस्थानका कारण रोकिएको बताउने केन्द्रका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ भन्छन्, “यहाँ आउन लागेको ईयूको सहयोग गुठीको कारण श्रीलंकामा गयो।”

रुप फेर्दै काठमाडौंनारायणचौरमा स्थानीयहरूले २०६९ सालमा संरक्षण समिति गठन गरेर फोहोर हटाउने र रूख रोप्ने अभियान चलाएका थिए। समितिलाई एस डेभलपमेन्ट ब्याङ्क, सानिमा ब्याङ्क, लुम्बिनी ब्याङ्क र प्रिमियम इन्स्योरेन्सले वृक्षरोपणको लागि आर्थिक सहयोग गरेको थियो। अहिले त्यहाँ स्थानीय आर्किटेक्ट प्रबल थापाको डिजाइनमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उपयुक्त हुने, न्यूनतम खर्चमा मर्मतसम्भार र प्राकृतिक प्रकोप व्यवस्थापन गर्न सकिने वातावरण अनुकूलको पार्क बन्न थालेको डेढ महीना भयो।

पाहुनालाई देखाउन शहर टल्काउने सरकार र सडकमा फोहोर पाल्ने जनता पछौटेपनबाट माथि उठ्न जरुरी छ। सुरेश ढकाल, मानवशास्त्री

पार्क निर्माणमा त्यस क्षेत्रका सभासद् गगन थापादेखि सरकारका मुख्यसचिव लीलामणि पौडेलसम्म सहयोगी बनेका छन्। चार वटा इनारसहितको यो पार्कमा वरिपरिको सवारी साधनको आवाज कम गर्न चार कुनामा ढिस्को बनाइँदैछ। पानीलाई जमीनमुनि रिचार्ज गर्ने गरी ढलहरू राखिने बताउँदै आर्किटेक्ट थापा भन्छन्, “माइतीघरको अष्टमण्डलपछि काठमाडौंमा यस्तो खालको नयाँ पार्क थपिएकै थिएन।”

काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त पराजुली स्थानीयहरूको पहल र सरकारको लगानीमा बनिरहेको यो पार्क राजधानीकै नमूना बन्ने बताउँछन्। नजिकैको कमलपोखरीलाई समेत आर्किटेक्ट सचिन महर्जनको डिजाइनमा नयाँ स्वरुप दिने तयारी भइरहेको छ। करीब २४ रोपनीको कमलपोखरी क्षेत्रमा बोटिङ सुविधासहितको आकर्षक पार्क निर्माणको काम थाल्न मात्र बाँकी रहेको पराजुली बताउँछन्। उनी भन्छन्, “यो दुईवटा काम सक्ने बित्तिकै अरू योजनाहरू अघि बढाउँछौं।”

उता फोहोर थुपार्ने ठाउँ बनिरहेको गोकर्ण ल्याण्ड फिल साइटमा पार्क र क्रिकेट मैदान बनाउन प्राधिकरणले युवा तथा खेलकुद विकास परिषद्सँग सहकार्य गर्दैछ। त्यस्तै ललितपुरको नागदहको ४० रोपनी क्षेत्रफललाई संरक्षण गर्न स्थानीयहरूकै सहभागितासहितको योजना बन्दैछ। टोखा र टौदह क्षेत्रका स्थानीय बासिन्दा सरकारलाई सहयोग गर्न अग्रसर भएको काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त पराजुलीले बताए।

काठमाडौंको कुमारीगालवासी पनि खाली रहेको एक रोपनी जग्गामा पार्क बनाउन कस्सिएका छन् भने चारखाल अड्डाछेउको गुर्जुमार्गमा रहेको ९ आना सरकारी जग्गामा निजामती कर्मचारी महिला संघको भवन बनाउन टेण्डर नै गरिसकेपछि स्थानीय बासिन्दाले रोकेर सानै भए पनि पार्क बनाउने तयारी गरेका छन्। काठमाडौंको उत्तरी क्षेत्र गोकर्ण, चपली र चुन्नीखेलका बासिन्दाहरू पनि स्थानीय स्तरमा सार्वजनिक जग्गा संरक्षण समिति बनाएर पार्क निर्माणको तयारी गरिरहेका छन्।

सोसाइटी अफ नेपाली आर्किटेक्ट (सोना) का पूर्व महासचिव आर्किटेक्ट एवं प्लानर अरुणदेव पन्त काठमाडौं भिजन प्लान प्रस्तुत गर्दै। यो प्लान पन्तले विरेश शाह र सरोज बस्नेतसँग मिलेर तयार पारेका हुन्।

खाँचो अनुशासनको

देशको राजधानी काठमाडौंले नयाँ स्वरुप ग्रहण गर्न लाग्दा कतिपय राजधानीवासीको आचरणमा सुधार आउन भने बाँकी नै देखिन्छ। तीनकुने–माइतीघर सडकमा लाखौं खर्चेर रोपिइएका फूलबिरुवा सार्क सम्मेलन सकिएको भोलिपल्टै कुल्चिंदै हिंड्ने शहरवासीलाई सम्झाउन प्रहरी नै परिचालन हुनुपर्‍यो। अर्कातिर घर र पसलको फोहोर सडकमा फ्याँक्नेहरूलाई प्रहरीले नगरप्रहरीको जिम्मा लगाइरहेको छ। सडकमा जानाजान लेन मिच्नेहरूलाई रोक्न समेत ठूलो संख्यामा प्रहरी खटिनुपरेको छ।

१६ मंसीरबाट दैनिक जथाभावी फोहोर फ्याँक्ने ८०/९० जनालाई पक्राउ गरी महानगरपालिकाले जरिवाना तिराएर छाडिरहेको छ। फोहोर फ्याँक्नेलाई रु.१ हजार र रेस्टुरेन्ट, पसलको फोहोर फ्याँक्नेलाई रु.२ हजार जरिवाना तिराएर छाडिएको महानगरका प्रहरी प्रमुख धनपति सापकोटाले बताए। महानगरीय प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा कतिपय शहरवासीले सामान्य सभ्यता पनि देखाउन नसकेको बताउँछन्। “सडकमा लेन मिच्ने, फूलबारी कुल्चिने र जथाभावी फोहोर फ्याँक्नेहरूलाई नियन्त्रण गर्न उपत्यकाका सबै प्रहरी कार्यालयमा सर्कुलर पठाइएको बताउँदै एआईजी शर्माले भने, “अब फोहोर फ्याँक्नेलाई थुन्छौ, घर अगाडि फोहोर देखिए घरधनीलाई समात्छौं।”

मानवशास्त्री सुरेश ढकाल भने अहिले राजधानीमा एकाएक देखिएको विकास स्वाभाविक प्रक्रियाबाट नआएको हुनाले फूल कुल्चने, सडकमा फोहोर फाल्ने प्रवृत्ति पनि अस्वाभाविक नभएको बताउँछन्। ढकालको प्रश्न छ– “सरकारले जनता र समुदायको कति सहभागिता लिइरहेको छ? पैदल यात्रीहरूलाई सोचेर कहाँ–कहाँ बाटो बनाएको छ? फोहोर फाल्ने ढ्वाङ कति ठाउँमा राखेको छ?” ढकाल अगाडि भन्छन्, “शहरवासीको मानसिकता पनि अराजक छ। पछौटेपन व्याप्त छ। टाई लगाउनेहरू आकाशे पुल मुनिबाट सडक काटिरहेका हुन्छन्। भौतिक संरचना बनाएर पनि त्यसलाई उपयोग गर्ने चेतना आइसकेको छैन।”

निर्माणाधीन वागमती करिडोर र काठमाडौंलाई ललितपुरसँग जोड्ने नयाँ पुल। तस्वीरः बिक्रम राई

सभासद् गगन थापा उपत्यकामा ५० प्रतिशत मानिस अझै पनि पैदल हिंडिरहेको भए पनि बनिरहेका सडकहरू पैदलयात्री, साइकल र अपाङ्गमैत्री हुन नसकेको बताउँछन्। अर्कोतिर सडकमा सवारी चालकहरूको मनपरीले सीमा नाघ्दो छ। लेन मिच्ने, ओभरटेक गर्ने जस्ता कुरा सामान्य भएको देखिन्छ। २०० भन्दा बढी यातायात समितिहरूले मनपरी सवारी रुट बनाएका छन्। यस्तो अराजकताका बीच विस्तारै सभ्यता पनि बढिरहेको छ। सडकमा रोपेका फूल कुल्चनेहरू देखिंदा फूलमा पानी हाल्ने जमात पनि अगाडि आएको छ।

दुर्गन्धको प्रवाह नगरी वाग्मतीको फोहोर सफा गर्नेहरू निरन्तर आफ्नो काममा जुटिरहेका छन्। मण्डिखाटारवासीले आफ्नो क्षेत्रमा बन्दै गरेको सडकमा फूटपाथ राख्न बाध्य पारे। चाबहिलचोक, मित्रपार्क, जयवागेश्वरी र गौशालाका सडकहरूमा फोहोर व्यवस्थापनका लागि प्रत्येक १०० मिटरमा ६५ वटा डष्टवीन राख्ने तयारी गरिंदैछ। ती क्षेत्रका घर, पसलवालाले पनि देखिने गरी डष्टबीन राख्नुपर्नेछ। र घरहरूको फोहोर, फोहोर उठाउने गाडीलाई बुझाउनुपर्नेछ।

————————————————————————————————————————————————–

‘कामले गति पाएको छ’ -योगेश्वर पराजुली, आयुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरण

नक्सालस्थित नारायणचौरको २० रोपनी जग्गामा बन्दै गरेको अत्याधुनिक नन्दीकेशर बगैंचा। तस्वीरः बिक्रम राई

योगेश्वर पराजुली, आयुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरण

शहरी जीवनमा पानी र हरियालीको महत्वपूर्ण भूमिका हुन्छ। १५ महीनाअघि प्राधिकरणको आयुक्त भएपछि यी दुई कुरामा बढी ध्यान दिइरहेको छु। आम शहरियामा ‘यो देशमा राम्रो केही हुँदैन’ भन्ने निराशा व्याप्त छ। चार जनाको भेलामा निराशाकै कुरा बढी हुन्छ। जनतालाई उमङ्गमा बाँच्ने वातावरण दिने दायित्व सरकारको हो। पञ्चतत्व अर्थात् पृथ्वी, जल, अग्नि, वायु र आकाशलाई सन्तुलनमा राख्न सके जनजीवनमा स्वतः उमङ्ग आउँछ। त्यसैले शहरी सौन्दर्यको कुरालाई अगाडि बढाएका छौं।

तीनकुने–माइतीघर सडकमा गत वर्षको विश्व वातावरण दिवसमै रुख रोपेका थियौं। सडक निर्माण पूरा हुँदै गएका स्थानमा हरियाली बढाउन केन्द्रित छौं। हालैको सार्क शिखर सम्मेलनले यो अभियानमा ऊर्जा थप्यो। चालु आवको बजेटमा उपत्यकामा १० स्थानमा सार्वजनिक पार्क निर्माण गर्ने र आवश्यक परे जग्गा समेत खरीद गर्ने सरकारी घोषणाले सबैलाई उत्साहित पारेको छ। नक्सालको नन्दीकेशर बगैंचा र कमलपोखरीको पुनर्निर्माण त्यसकै उदाहरण हो।

हामीले भारतको राजधानी नयाँदिल्लीको मास्टर प्लान– २०२१ लाई पनि हेरिरहेका छौं। दिल्लीमा वर्षौअघि नै सरकारले खाली जग्गाहरू किनेर राखेकाले पार्कहरू बनाउन सजिलो भयो। हामीकहाँ त्यस्तो छैन। र पनि, सरकारका मुख्यसचिव, शहरी विकास मन्त्री, अर्थ मन्त्री र यहाँका सभासद् उपत्यकाको मुहार फेर्ने योजनामा सकारात्मक भएर लागिपरेकाले कामले गति पाएको छ।

Kathmandu HKP Info

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय