जिटूजी प्रक्रियाबाट इजरायल आएका कामदारहरुका समस्याबारे दूतावाससँग अन्तरक्रिया

२०८० भाद्र २८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए१न्यूज इजरायल

केही समयदेखि भिसा नविकरण लगायतका समस्या खेपिरहेका जिटूजी प्रक्रियाबाट इजरायल आएका नर्सिङ सेन्टरहरुमा कार्यरत एक्जुलरी वर्कर्सहरुका समस्याहरुलाई सम्वोधन हुने गरी गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले नेपाली राजदूतावास र इजरायली राजदूतावास काठमाण्डौको समेत सहभागितामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

केही साता अघि जिटूजी प्रक्रियावाट इजरायल आएका नेपालीहरुका समस्याहरु लगायतका विविध विषयहरुमाथि एनआरएनए-एनसिसी इजरायलका पदाधिकारी तथा सदस्यहरु र  नेपाली राजदूतावासविच भएको छलफल पश्चात  नेपाली राजदूतावासको सल्लाहमा गत १० सेप्टेम्वर आइतवार “राजदूतावासको सरोकार” विषयक अन्तरक्रिया कार्यक्रम zoom भर्चुअल अनलाइनमा संचालन गरिएको थियो ।

एनसिसी इजरायलका अध्यक्ष श्री कृष्ण भण्डारीको सभापतित्व, नेपाली महामहिम राजदूत कान्ता रिजालको प्रमुख आतिथ्यता, नेपालको लागि इजरायली महामहिम राजदूत हनान गोडेरको विशिष्ट आतिथ्यता र नेपाली राजदूतावासका प्रथम सचिव तथा काउन्सिलर अर्जुन घिमिरे, एनआरएनए-आइसिसी सदस्य विशाल ज्ञवाली, एनसिसी इजरायलका संरक्षकद्वय दिपक प्रसाद ओली र गणेश गिरीको विशेष आतिथ्यतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा १०० जना सहभागिहरु zoom मार्फत जोडिएका थिए भने zoom को क्यापिसिटी पार गरिसके पछी बाँकीले एनसिसी इजरायलको अफिसियल फेसवुक मार्फत लाइभ सहभागिता जनाएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै महामहिम राजदूत कान्ता रिजालले जिटूजी प्रक्रियावाट आएका नेपालीहरुले झेलिरहेको भिसा नविकरणको समस्यामाथि दूतावासले निरन्तर  पिबा (Population and Immigration Authority)  संग समन्वय गरिरहेको जनाउदै अधिकांशको भिसा नविकरण भइसकेको र वांकीको पनि यथासक्य नविकरण हुने बताउदै कसैले पनि भिसाकै कारण गरिरहेको काम नछोड्न अपिल गर्नु भएको थियो । उहाँले १३०० नयाँ कामदारहरुको लागि छिट्टै सम्झौतामा हस्ताक्षर हुने बताउनु भयो । महामहिम राजदूतले कामदारहरुसँग जो़ड्न व्रिजको रुपमा यस किसिमको कार्यक्रम गरेकोमा एनआरएनए एनसिसी इजरायलप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका विशिष्ट अतिथि इजरायली राजदूत हनान गोडेरले नेपाली कामदारको कामप्रति इजरायल सरकार अत्यन्तै खुशी भएको र यसले दुई देशविचको मैत्रीपूर्ण सम्वन्ध अझ प्रगाढ भएको जानकारी दिदै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभाग तथा पिबा लाई नेपालबाट श्रमिक इजरायल लैजाने प्रक्रिया अत्यन्तै पारदर्शी र निश्पक्ष भएकाले दक्ष कामदार इजरायल जान सफल भएकाले यस कार्यमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै ठूलो संख्यामा सहभागिता रहेको सो कार्यक्रममा सहभागिता जनाउन पाउदा खुशी व्यक्त गर्नुभयो ।

अन्ततरक्रियाको क्रममा सहभागिहरुले सोधेको जिज्ञासाहरुको नेपाली राजदूतावासका प्रथम सचिव तथा काउन्सिलर अर्जुन घिमिरेले प्रष्ट पार्ने कोशिस गर्नुभएको थियो ।

आइतवार दिउसो साढे ३ बजेदेखि करिव ३ घण्टा संचालन गरिएको उक्त zoom भर्चुअल अनलाइन अन्तरक्रियात्मक कार्यक्रमको समापन गर्नुहुदै एनसिसी इजरायलका अध्यक्ष श्री कृष्ण भण्डारीले कामदारहरुको हक हित र सेवा सुविधाहरुको विषयमा सहभागिहरुमा धेरै नै जिज्ञासाहरु रहेकोप्रति इंगित गर्दै आगामी डिसेम्वर १५ मा काभ्लाओभेद र अन्य सम्वन्धित क्षेत्रका वकिलहरुको साथमा नेपाली राजदूतावासको नागरिक वडापत्र समेत सार्वजनिक गर्ने गरी प्रत्यक्ष  कार्यक्रमको आयोजना गर्ने  घोषणा गर्दै कार्यक्रममा आफ्नो अमूल्य समय दिएर सहभागिता जनाउनु भएका प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि तथा सहभागि सम्पूर्ण प्रति आभार व्यक्त गर्दै कार्यक्रम सम्पन्न गर्न मेहिनेतका साथ लागि पर्ने समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय