दिल होइन दिमाग !! – मोहन लामा रुम्वा 

२०८० असार ७, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

– मोहन लामा रुम्वा
राजा ज्ञानेन्द्र सरकार गद्दीमा आरुढ भैसकेपछी मित्रराष्ट्र चीनको हितार्थ सबैभन्दा पहिला लाजिम्पाटमा रहेकोे दलाई लामाको दूतावास “गादेन खाङ्सार” नामको कार्यलय बन्द गर्न लगायो।
सार्क राष्ट्रमा ठूलदाईको भुमिकामा रहने भारतलाई काउन्टर दिन पर्यवेक्षकको रूपमा चीनको प्रस्ताव अगाडि सार्‍यो।
एउटा कामले पश्चिमा शक्ति रुष्ट हुन पुग्यो अर्को कामले छिमेकी भारत ! सम्भवतः राजा ज्ञानेन्द्रलाई भीमसेन थापालाई जस्तै आपतकालीन अवस्थामा बिशाल चिनियाँ सम्राट साथमा छँदैछ भन्ने भ्रम पो परेको थियो की ? नभए त शक्तिसाली भारत र पश्चिमी शक्तिलाई एकैसाथ “नाखुस” हुने निर्णय त गर्नुनपर्ने हो तर गर्‍यो !!
त्यसपछि के भयो ? जगजाहेर छ सबैको अगाडि ! फ़ेरि सोध्नु होला आपतकालमा चीनको भुमिका चाहिँ के रह्यो ? त्यो पनि सबैको अगाडि जगजाहेर भएकै छ। चीनले जे निर्णय गर्‍यो ठिक गर्‍यो, सबैले आफ्नो देशको “हित” सर्वोपरि राखेर गर्छन्। कुटनितिमा “दिल” होइन “दिमाग” ले निर्णय गर्छ। चीनले दिमागले काम गर्‍यो हाम्रो राजा ज्ञानेन्द्रले दिलले काम गर्‍यो फरक त्यत्ति भएको हो अरु केही होइन।

नेपालको आधुनिक इतिहासमा दिमागले कुटनैतिक काम गर्ने दुईवटा शासक हुन्, एउटा राजा महेन्द्र अर्को जंगबहादुर राणा !! वास्तविक इतिहास यहाँनेर लुकाएर मात्रै हो अन्यथा राजा महेन्द्र यस्तो कुटनैतिक खेल खेल्ने राजा हुन् की अहिले आदि पुरुष फिल्ममा भाइरल भएको “डाइलग” जस्तो –
“कपड़ा तेरे बाप का, तेल तेरे बाप का, आग तेरे बाप का, जलेगी भी तेरे बाप की…… ! भनेको जस्तो शुन्य लगानीमा दिमाग लगाएर सबै अन्तर्राष्ट्रिय शक्तिलाई घुमाई दिएको थियो उनको चातुर्यले।


राजा महेन्द्रले सत्ता हत्याएको थियो भारतको सहयोगमा, त्यो पनि भारतीय सेना प्रमुखलाई नै गोप्य रूपमा ल्याएर बिपी को सरकार अपदस्थ गरेको थियो। जब राजा महेन्द्र सत्तामा आएर शक्ति आर्जन गरेपछि त्यही भारतको नेपालको उत्तरी नाकामा रहेकोे भारतीय चेकपोस्ट हटाएर नेपाल सार्वभौम सम्पन्न मुलुक बनाउने पनि उनै राजा हुन। अमेरिकाको परियोजना अनुसार खम्पाली बिद्रोहीलाई “स्पेस” दिने पनि राजा महेन्द्र हुन् तिनै राजाले सिविल पोसाकमा चाइनिज सेना भित्र्याएर कोदारी राजमार्ग खनाएर चीनलाई स्पेस दिने पनि तिनै राजा हुन् ! र त्यही खम्पालीलाई दमन गर्ने नेपाली सेनाको हतियार पनि त्यही अमेरिकाले दिएको अत्याधुनिक हतियार नै हुन्। यो हो कुटनिती !! कपडा तेरे बापका – तेल तेरे बापका आग भि तेरे बापका……… !!
जंगबहादुर राणाले “दिल” लाई महत्त्व दिएन उनलेे पनि दिमाग चलायो, अंग्रेजले चीन देखि भारत हुँदै पुरै दक्षिण एसिया कब्जा गरिसकेको साम्राज्यवादी शक्तिको अगाडि भीमसेन थापाले जसरी पाखुरा सुर्केको भए बाँकी रहेकोे यो थोरै टुक्रा पनि निमेष भरमा अस्तित्व सकिन्थ्यो।
जंगबहादुर राणाले आफू भन्दा ठूलो शक्तिलाई रिझाएर नै आफ्नो सार्वभौमसत्ता जोगाउन सकिन्छ भन्ने व्यवहारिक चतुर कुटनिती अपनायो जसले गर्दा युद्धमा गुमाउनुपरेको भूभाग समेत फिर्ता लिएर जंगे पिलर गाडेर चार किल्ला तोकेर त्यो चार किल्ला भित्र कोही अंग्रेज अधिकारी घुस्न नपाउने,हिंडडुल गर्न परे अनुमतिपत्र लिनुपर्ने जस्तो कडा नियम बाँधेर एउटा सार्वभौम मुलुकको पहिचान कायम राख्न सफल भयो।
हावाहुरी तुफानको बिचमा “दियोको बत्ति” जोगाउन तुफान संग “दिल” दिएर होइन “दिमाग” लगाएर जोगाउन सकिन्छ भन्ने राजा महेन्द्र र जंगबहादुरको चातुर्यपुर्ण कुटनिती नै नेपालको दीर्घकालीन हितमा हुन्छ भन्ने कुरा अहिले झन् झन् टड्कारो रूपमा खट्किदै छ।
जंगबहादुर राणाको उनको उचित मुल्यांकन हुनुपर्छ, ऊनी बाट भए गरेको कमि कमजोरी अपराध जे जति छ त्यसको पनि यथोचित समिक्षा गर्दै राष्ट्रहितमा उनलेे पुर्‍याएको योगदानलाई सम्झिनु हामी सबैको कर्तव्य हो। श्री ३ जंगबहादुर राणाको योगदान बारेमा आज बौद्धिक विमर्श गर्दै रहेछ नागरिक शक्ति नेपालले। यो नेपालमा सम्भवत पहिलो सुरुवात होला यो क्रम अब निरंतरता रहनुपर्छ। समय अनुकुल हुने साथीहरू पुग्नु होला।
अन्तमा श्री ३ जंगबहादुर राणाको २०७ औं जन्म जयन्तीको उपलक्ष्यमा हार्दिक श्रद्धा सुमन !!
रुम्वाजीको फेसवुक वालबाट साभार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय