कतार विश्वकप खेलमैदान निर्माणमा मृतकका परिवारले पाउलान् त क्ष्यतिपूर्ति ?

२०७९ पुष २, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए वान नेपाल , भेषराज पाण्डे

चार वर्षमा खेलाईने फुटबलको विश्वकप यतिबेला संसारको ध्यान केन्द्रित छ। यो खेलको वर्तमान जति गौरवशाली छ, यसको इतिहास त्यति नै विवादित र संघर्षपूर्ण छ। कतारमा विश्वकपको खेलमैदान निर्माणको बेला हजारौ कामदारको मृत्युको समाचारले मानवअधिकारीवादी संस्थाहरू अन्तर्राष्ट्रिय श्रमिक संगठनदेखि एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र अन्य अधिकारकर्मी संगठनहरूले कतारको एकतर्फी विरोध गरिरहे। उनीहरूले विदेशी कामदारका लागि क्षतिपूर्ति दिलाउन विश्वकपको पुरस्कार राशिबाट ४४ करोड डलरको कोष स्थापना गर्न फिफा र कतारलाई आग्रहसमेत गरेका थिए। तर, कतारले ती समाचारलाई वास्ता गरेन।

 

आयोजक राष्ट्र कतारले नोभेम्बर  २० (मंसिर ४) गते देखि संचालित २२औं संस्करणको विश्वकपलाई महँगो विश्वकप बनाउन पनि कुनै कसर बाँकी राखेन। विश्वकप आयोजनाका लागि कतारले सात स्टेडियमसँगै एक हवाई अड्डा, मेट्रो प्रणाली, विभिन्न सडक सञ्जाल र एक सय होटल निर्माण गरेको थियो। विश्वकप फाइनलका लागि लुसेल रंगशालाको वरिपरि एउटा सिंगो सहर नै बनाइएको थियो। जसका लागि करिब २२० अर्ब डलर खर्च गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको दाबी छ। यसअघिका विश्वकप आयोजनामा गरिएको लगानीसँग तुलना गर्दा यो अहिलेसम्मकै सर्वाधिक खर्च मानिएको छ। सन् २०१८ को विश्वकप आयोजनाका लागि रुसले ११.६ अर्ब डलर, सन् २०१४ मा ब्राजिलले १५ अर्ब डलर, सन् २०१० मा दक्षिण अफ्रिकाले ३.६ अर्ब डलर र सन् २००६ मा जर्मनीले ४.६ अर्ब डलर खर्चिएका थिए। यस्तै सन् २००२ मा जापान र कोरियाले संयुक्त रूपमा सात अर्ब डलर खर्च गरेका थिए। यस हिसाबले यसअघिका सबै विश्वकप आयोजनाका लागि खर्चिएको कुल आधिकारिक रकमभन्दा बढी रकम कतारले एउटै संस्करणको आयोजनामा खर्चिएको छ। कतारले अधिकांश रकम पूर्वाधार निर्माणमा खर्च गरेको छ। विश्वकप खेलहरूको आयोजनाका लागि भने १.७ अर्ब डलर मात्रै खर्च हुने आकलन छ। यो सन् २०१८ को रुस विश्वकपभन्दा कम हो। चार वर्षअघि रुसले १.८ अर्ब डलर खर्च गरेको थियो।

भौतिक पूर्वाधारमा धेरै खर्च 

कतारले दोहा मेट्रो प्रणालीका लागि मात्रै ३६ अर्ब डलर खर्चिएको छ। सात नयाँ रंगशाला बनाउन र आठौंको मर्मत गर्न मात्रै ६.५ अर्ब डलर खर्चिएको जनाएको छ।

विश्वकपपछि तीनवटा रंगशाला मात्रै प्रतियोगिता प्रयोगमा रहने भएको छ। ९ सय ७४ रंगशाला पूर्ण रूपमा भत्काइँदैछ भने बाँकी रंगशालालाई अन्य प्रयोजनमा प्रयोग गरिने भएको छ।। ९ सय ७४ सिपिङ कन्टेनरहरू प्रयोग गरेर निर्माण गरिएको त्यति नै रंगशालामा विश्वकप फुटबलका सात खेल सञ्चालन भएका थिए। पुनप्रर्योग गर्न मिल्ने कन्टेनरहरूबाट निर्माण गरिएको यो रंगशाला भत्काएर कन्टेनरहरूलाई विभिन्न राष्ट्रमा पठाइने जनाइएको छ।

सन् २०१० मा विश्वकप आयोजनाको जिम्मेवारी पाएपछि १२ वटा रंगशाला बनाउने योजना भएको कतारले कोरोना महामारीलगायतका कारणले आठ वटा मात्रै रंगशाला तयार गरेको थियो। जसमध्ये सात वटा रंगशाला नयाँ बनाएको थियो भने खलिफा अन्तर्राष्ट्रिय रंगशाला भने पुनर्निर्माण गरिएको थियो। कतारका अनुसार लुसेल रंगशाला अब विद्यालय र सपिङ मलमा परिणत गरिनेछ। अल बायत रंगशाला भने पाँचतारे होटलमा परिणत हुनेछ। दुई वटा रंगशाला भने स्थानीय क्लबहरूले प्रयोग गर्ने भएका छन्। अहमद अली बिन रंगशाला अल रेबान क्लब र अल जानोब रंगशालाको स्वामित्व अल वाहराहले लिनेछ। खलिफा अन्तर्राष्ट्रिय रंगशाला भने कतारी फुटबल संघले आफ्नो स्वमित्वमा लिनेछ। यसबाहेक केही रंगशाला भने सन् २०२४ मा हुने एसियन कपका लागि प्रयोगमा ल्याइने छ।

फिफाको आम्दानी कति ?

कतार विश्वकपबाट विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई ४.६ अर्ब डलरभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ। यसमध्ये सबैभन्दा ठूलो हिस्सा टेलिभिजन प्रसारणको अधिकार बिक्रीबाट प्राप्त गर्ने जनाइएको छ।

फिफाले टेलिभिजन प्रसारणको अधिकार बिक्रीबाट कुल आम्दानीको ५६ प्रतिशत अर्थात् झन्डै २.७ अर्ब डलर कमाउने जनाइएको छ। यस्तै २९ प्रतिशत अर्थात् १.३ अर्ब डलर विज्ञापनबापतबाट कमाउनेछ। यस्तै टिकट बिक्रीलगायतबाट करिब ६ सय ७५ मिलियन डलर आम्दानी गर्नेेछ।

यस्तो छ पुरस्कार राशि

कतार विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका रूपमा छुट्ट्याइएको छ। जसमध्ये विजेताले ४ करोड २० लाख, उपविजेताले ३ करोड, तेस्रो हुनेले २ करोड ७० लाख र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन् । यस्तै क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख र बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय