
ए वान नेपाल , भेषराज पाण्डे
इजरायलको राजधानी सहर जेरुसेलमा बुधवार बिहान भएका दुई बम आक्रमणमा एक किशोरको ज्यान गएकाे छ । सो आक्रमणमा अन्य १४ जना घाइते भएका प्रहरीले जनाएको छ । पहिलो विस्फोटमा घाइते भएका १२ जनामध्ये एक किशोरको मृत्यु भएको थियो । दोस्राे विस्फोटमा तीनजना घाइते भएका थिए ।
जेरुसेलममा भएका पछिल्ला बम आक्रमणलाई सबैभन्दा गम्भीर आक्रमणको रूपमा लिइएको छ । स्थानीय समयअनुसार बुधवार बिहान करिब ७ बजेर ५ मिनेट जाँदा सहरको मुख्य द्वार नजिकको गिभात साउलमा पहिलो विस्फोटन भएको थियो ।
त्यसको करिब ३० मिनेटपछि सहरको अर्को प्रवेशद्वार रामोत जन्कसनमा दोस्राे बम विस्फोट भएको थियो ।
एउटा आक्रमणस्थलको भिडियोमा मानिसहरू आत्तिएर दौडिरहेको र भग्नावशेष सडकभरि छरिएको देखिन्छ । इजरायली प्रहरीले यसलाई ‘सामूहिक आतंककारी आक्रमण’ संज्ञा दिएको छ।