
ए वान नेपाल , भेषराज पाण्डे
नेपालले विज्ञान प्रविधिको क्षेत्रमा गर्दै आएको लगानी धेरै न्युन छ। स्वदेशमै धेरै राम्रो गर्न सक्ने विज्ञान कर्मीहरु पनि देशमा विद्यमान नीति नियम देखि आर्थिक समस्याका कारणहरुले निराश बन्न विवश छन्। यस्तै समस्याहरुका वावजुद पनि हुदै गरेका र भएका अनुसन्धानात्मक कामहरु पनि सम्बन्धित निकायले चासो नदिदा धेरै विद्यार्थी तथा विज्ञान प्रेमीहरु पछाडी परिरहेका छन्। विज्ञानमा स्नातकोत्तर गरेका युवाहरुलाई नेपालमा पढाउने वाहेक अरु कुनै काम मिल्नु भनेको फलामको चिउरा चपाउनु सरह हो। त्यसैले धेरैले विधावारिधि विदेश गर्ने मनशाय बनाएका हुन्छन। त्यसमा पनि आफ्नो अध्ययनको लागी छात्रवृत्ति पाउन र पछि आफ्नो भविष्य उज्यालो बनाउन सजिलो हुनाले स्नातकोत्तर पश्चात अमेरिका जाने युवाहरुको जमात बढ्दो छ।
यसैलाई मध्यनजर गर्दै रसायन शास्त्र विध्यार्थी संघ नेपाल (केमिस्ट्री स्टुडेन्ट एसोसिअसन नेपाल – सिसान ) ले धेरै विद्यार्थीहरुको चाहनालाई मध्यनजर गर्दै शनिबार एउटा अनलाइन वेबिनारको आयोजना गर्यो। अमेरिकामा अनुसन्धानको सम्भावना शिर्षकमा संचालित सो कार्यक्रममा अमेरिकामै हाल विभिन्न तरिकाले अनुसन्धान गर्दै गर्नु भएका व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको थियो। अमेरिकाको फ्लोरिडामा रहेको फ्लोरिडा ए एंड एम विश्वविध्यालयमा असिस्टाण्ट प्रोफेसर डाक्टर विष्णु रेग्मी, नेसनल क्यान्सर इन्स्टिच्युटमा पोस्ट डाक्टर गर्दै गर्नु भएका डा पवन कुमार राउत र मायामी विश्वविध्यालयमा विद्यावारिधि गर्दै गर्नु भएका दिपेन्द्र खड्काले आफ्नो अनुभव र अमेरिकामा अनुसन्धान गर्न सकिने माध्यमहरुको बारेमा बोल्नु भएको थियो। अनलाइन लाइभमा सहभागीहरुले देखाउनु भएका प्रश्नहरुलाई वक्ताहरुले सम्वोधन गर्नु भएको थियो। सो कार्यक्रमको दौरानमा सिसानका सल्लाहकार बोर्डका सदस्य प्रा डा निरन्जन पराजुलीले अमेरिकामा हुने अध्ययन वढी प्रयोगात्मक हुनाले अनुसन्धान गर्न खोज्ने युवाहेरु ढिला गर्न नहुने बताउनु भयो। सो कार्यक्रममा सिसानका निवर्तमान अध्यक्ष्य यम रोका मगरले सिसानको तर्फबाट सबैलाई विजया दशमी तथा शुभ दिपावली लगायत चाढहरुको एकमुष्ट शुभकामना दिनु भएको थियो । कार्यक्रमका सभापति तथा सिसाना अध्यक्ष्य आकाश घिमिरेले आउने दिनहरुमा पनि यस्ता कार्यक्रमहरुले निरन्तरता पाउने र सम्पुर्ण रसायनशास्त्री साथीहरुको कल्याणको लागी लागिरहने प्रतिवद्दता व्यक्त गर्नु भयो।