शाहवंशीय राजा🌷चीन🌷MCC – मोहन लामा रुम्वा

२०७८ फाल्गुन २२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 8 मिनेट

गतवर्ष चीनको राष्ट्रपति सि जिन्पिङको नेपाल भ्रमणको दौरानमा एउटा वाक्य बोल्नु भएको थियो “चीनले इतिहासमा गरेको गल्ती दोहोर्याउन दिने छैन ।” यो वाक्यांशको धेरैले धेरै अर्थ लगाएर विवेचना गरे। चीनको तारिफदारी गर्ने बुद्धिजीवीहरूले अब चीन नेपाल मामिलामा अगाडि बढ्छ । अब चीन चुपचापले बस्दैन । आदि आदि……… !!
अहिले नेपाल सरकारले सदन बाट MCC पास गरेपछि तिनै बुद्धिजीवीहरु बोल्दै छन् अब चीनले नेपाललाई युक्रेन बनाउँछ चीनको तिब्बत टुक्राउन अमेरिकी सेना नेपालमा आउँछ त्यसपछि हामी दोहोरो भिडन्तमा पर्छौं आदि आदि यस्तै कुराहरू सुनिरहेका होला सबैले।
प्रसंगमा :
चीनको राष्ट्रपति सि.जिन्पिङको अभिव्यक्ति “इतिहासको गल्ती दोहोरिन दिने छैन” भन्ने वाक्यमा जाऔं।
इतिहासमा नेपालले चीनलाई पुर्‍याएको सहयोग भनेको वि.सं. ७०४ (सन् ६४७) तीर राजा नरेन्द्र देवको पालामा भारत कन्नौजको राजा हर्षवर्धन थियो, सम्बन्ध बिस्तारको लागि चीन बाट लि प्याओ र वाङ छेन नाम गरेका चिनियाँ दुतहरु राजा हर्षवर्धनको दरबारमा गएर सम्बन्ध बिस्तार गरेका थिए, राजा हर्षवर्धन टाढा देशको पाहुना सम्बन्ध बिस्तारको लागि आएको देखेर  प्रसन्न भइ प्रसस्त सम्पत्ति उपहारहरु दिएर बिदाई गरे, त्यसपछि तुरुन्तै हर्षवर्धनलाई उनको सेनापति अरुणाश्व (अर्जुन) ले हत्या गरी आफैं राजा भएको घोषणा गर्दै ति दुवै चिनियाँदुतको पनि मालसामान लुटेर अपमानित गर्दै लखेटेर पठाए।
ती चिनियाँ दुत जसोतसो नेपालमा भागी भागी आउन सफल भयो त्यसपछि भारतमा भएको बेइज्जती पुर्ण घटनाको नालिबेली चीनका राजालाई जानकारी भएपछि चीनले भारत माथि आक्रमण गर्न नेपाल र तिब्वतलाई सैनिक सहयोग माग गर्‍यो। चिनियाँ प्रतिनिधि (दुत) को मालसामान लुटपाट गरेर बेइज्जत गर्ने अरुणाश्व सेनापती (राजा) लाई आक्रमण गर्न चीनको सहयोगको लागि नेपालले ७००० घोड चडी सेना र तिब्वतले १२०० भोटे पैदल सेना सहित संयुक्त फौजले भारतको कन्नौज पुगेर आक्रमण गर्‍यो। बिशाल फौजको अगाडि अरुणाश्वको सेना टिक्न सकेन र अरुणाश्व लाई पक्राउ गरेर तिब्बत पुर्‍याएर त्यहीँ फाँसीमा झुन्डाएर मार्‍यो।
नेपालले चीनको लागि लिच्छविकालमा गरेको सैन्य सहयोग हो यो।
तर इतिहासमा अहिलेसम्म चीनबाट नेपाल कुनै तेस्रो मुलुकसंग साह्रो गार्‍हो पर्दा चीनले नेपाललाई जोखिम मोलेर सहयोग पुर्‍याएको इतिहास कमसेकम मेरो जानकारीमा छैन ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा गोर्खाबाट काठमाडौ उपत्यका कब्जामा लिनेे बेला उपत्यकाको मल्ल राजाहरूले उत्तरको बादशाह चीनको सहयोगको अपेक्षा गरेको देखिन्छ जुन स्वाभाविकै पनि थियो किनभने उपत्यकाको मल्ल राजाहरुले महाचीनको वादशाहको हजुरमा बेला बेलामा सौगात टक्राएर बसिरहेको पनि थियो, चीन बिशाल भूभागमा साम्राज्य फैलिएको मुलुक भएकोले स-साना राज्यहरू ऊनीप्रति झुकाव राखेर नै आफ्नो मुलुक सुरक्षित हुने भएकोले चीनको सुरक्षा घेरामा बस्नु स्वभाविकै हो। लिच्छविकाल देखि मल्लकाल सम्म ठुलो दाईको भुमिकामा चीन रहेकोे देखिन्छ।
चीनको मिङवंशी बादशाहले बनेपामा राज गरिरहेका सामन्त शक्तिसिंहरामलाई पठाएको एक पत्र हेरौं (भ्वाइस अफ् हिस्ट्रि १ ठेली, २०३१, २४-२८ पृ.)
‘आकाशादुत्पन्नगगनोपममहाराजाधिराजपरमेश्वरः श्रीश्रीमहाप्रकाशमहाराजा’ अर्थात् ‘आकाशबाट उत्पन्न, आकाश जस्ता, महाराजाधिराज, परमेश्वर, श्रीश्रीतायीमिङ ठूलो प्रकाश भएका महाराज’ले {चीनबाट} पश्चिमपट्टि आर्यावर्त नेपाल पल्लखचो (पलाञ्चोक) शहरमा बसेका शक्तिसिंहराम’ लाई पठाएको ‘पारमान’ हो भनी यस पत्रमा लेखिएको छ। फारसीको ‘परवानः’ लाई संस्कृत रूप दिइएको ‘पारमान’ को अर्थ ‘आदेशपत्र हुक्मनामा राजादेश हुन्छ ( इतिहासकार डा महेशराज पन्त, हिमाल खबर बिहीबार, १४ असोज, २०७८)
जब पृथ्वीनारायण शाहको सेना उपत्यकाको घेराबन्दी गर्दै अगाडि बढ्यो मल्ल राजाको लागि चीनको कुनै सहयोग भएको देखिएन बरु कलकत्ता बाट सहयोगको लागि बोलाएको अंग्रेज सेना क्याप्टेन किनलकको नेतृत्वमा गोर्खाली फौज संग लड्न अगाडि आए, यदि अंग्रेजको सेना संग गोर्खाली फौज पराजित भएको भए त्यतिबेला नै नेपाल अंग्रेजको नियन्त्रणमा पुगिसकेको हुने थियो।
पृथ्वीनारायण शाहले उपत्यका हातमा पारेपछि अंग्रेज त यसै चिडिने भइ हाल्यो पृथ्वीनारायण शाहले उत्तरको चीन संगको सम्बन्धलाई पुनः निरंतरता दिइरहे, यो सम्बन्ध सन् १८१४ देखि १८१६ सम्म नेपाल अंग्रेज युद्ध सम्म कायम रह्यो।
प्रधानमन्त्री भिमसेन थापाको नेतृत्वमा आफू भन्दा धेरै ठूलो शक्तिशाली अंग्रेज संग युद्ध हुने बेला नेपालले चीन संग ठूलो अपेक्षा र भरोसा राखेको थियो र नेपाल चीनको वेत्रावती सन्धि (वि.सं १८४९ (सन् १७९२ )मा पनि नेपालको रक्षा गर्ने एउटा बुँदा थियो जसमा लेखिएको थियो “नेपालमा तेश्रो मुलुकबाट आक्रमण भएमा चीनले नेपाललाई सहयोग गर्ने” बुँदा थियो जसबापत नेपालले चिनियाँ सम्राट समक्ष प्रत्येक ५ वर्षमा उपहार पठाउने शर्त बमोजिम नेपालले ठुलो दाईलाई प्रत्येक पाँच-पाँच वर्षमा सौगात पठाउँदै रहेकोे थियो।
अङ्ग्रेज नेपालको युद्ध हुने निधो जस्तै भएपछि नेपालले चीनको सहयोग पाउने ठूलो आशावादी रहेकोे देखिन्छ त्यसैले नेपालले युद्धमा साथ दिन पटकपटक पत्राचार गरेर अनुनय विनय गरेको थियो। अहिले MCC पास भयो भने चीन बाट तिब्बत टुक्र्याउछ भनेर तर्क गरे जस्तै त्यतिबेला पनि राजा श्री ५ गीर्वाणयुद्ध वीरविक्रम शाहले चीनलाई यसरी सम्झाउदै पत्र लेखेका थिए ” तिब्बतमा आक्रमण गर्ने उद्देश्य लिई अङ्ग्रेजहरूले त्यतातर्फको बाटो विचार गर्न भनी आफ्ना गुप्तचर हाम्रो अधिराज्यका पहाडी भेगहरूतर्फ पठाएका रहेछन् । जोगी एवं सन्यासीका भेषहरू पहिरिई फकीरको भेष धारण गरेर आएका यस्ता गुप्तचरहरूलाई हाम्रा चौकिदारहरूले बीच – बाटामा नै पक्रिएका थिए । चीन – बादशाहबाट हुकुम प्राप्त नभई तिब्बतमा जान पाइँदैन भनी हाम्रा चौकिदारले उनीहरूलाई दण्ड र शासनाहरू दिई आफ्नो देशबाट निकाला गरिदिएकाले आफूलाई तिब्बततर्फ जान दिएन भन्ने यसै रीसले उनीहरूले अहिले हाम्रो देशमा जोडदार आक्रमण गर्ने तैयारी गरिरहेका छन् । हाम्रो देशलाई खाइसकेपछि उनीहरूले तिब्बतलाई पनि छोड़ने…… तिब्बतमा जानको निमित्त हामीले उनीहरूलाई बाटो छोडिदिएमा उनीहरूले हाम्रो कुनै हानि – नोक्सानी पनि गर्ने छैनन्। तर तिब्बतको सुरक्षा गर्नु हाम्रो पनि कर्तव्य भएकोले लडाईको निमित्त हामी पूरापूर तयार भएर बसिरहेका छौं, यसैले उनीहरूलाई रोक्नको निमित्त चीन बादशाहको तर्फबाट हामीले केही आर्थिक सहयोग र सम्भव भएसम्मका खर-खजाना पनि यथासम्भव चाँडो उपलब्ध गराइयोस भनी हार्दिक अनुरोध गर्दछौं।”
यस पत्रको प्रत्युत्तरमा श्री ५ गीर्वाणयुद्ध बीरविक्रम शाहको नाममा निम्नाङ्गित भावको चिनियाँ आम्बान (राजदूतले)पठाएको पत्रोत्तर यसप्रकार थियो
“अङ्ग्रेज र तिब्बत सरकारका बीचमा अहिलेसम्म कुनै पनि किसिमका बैरभावहरु भएका छैनन् र उनीहरू अहिलेसम्म यहाँ आएका पनि छैनन्। यसैले तिब्बतमा आक्रमण गर्नको निमित्त बाटाघाटाहरूको चियो चर्चा गर्न उनीहरू यहाँ आएहोलान् भन्ने कुरालाई विश्वास गर्न सकिदैन। तैपनि उनीहरू कथंकदाचित् यहाँ आएका नै हुन् भने पनि उनीहरूलाई छेक्ने काम त्यहाँ तपाइहरूको नै हो। बादशाहको दक्षिणतर्फको ढोकाको सुरक्षा गर्न अभिभारा त्यहाँ तपाइहरूमाथि नै रहिआएको छ… अङ्ग्रेजको बिरुद्धमा त्यहाँ तपाईहरुलाई सहयोग गर्न आउनुको अर्थ हुन्छ , हामीले आफ्नो देशका सीमा क्षेत्रहरूबाट बाहिर निस्कनु । यसो गर्ने पनि हाम्रो प्रचलन रहिआएको छैन । तिब्बतका सीमाक्षेत्रमा हाम्रा सैनिकहरू अहिले पनि रहि नै रहेका छन् । हामी अम्बानहरू तपाईंका यस्ता अनुपयुक्त कुराहरू बादशाहका हजूरमा बिन्ती जाहेर गरी पठाउन सर्वथा असमर्थ रहेका छौं। यसैले अहिलेलाई तपाईहरूले अङ्ग्रेजहरूसँग मिलिजुली गरी आफ्नो मुलुकको स्याहार र सम्भार गरी बसेमा नै बेश होला। यसो गरेमा नै तपाइहरूमाथि बादशाहको युगयुगान्तरसम् मेहरबानी रहिरहन सक्नेछ। अब आइन्दा यस किसिमका मागहरू त्यहाबाट हामीकहाँ कहिल्यै पनि नआऊन्। ” नेपालले सहयोगको याचना गरेर पठाएको पत्रको जवाफमा यस्तो रुखो जवाफ आएपछि पनि नेपालले दोहराएर सहयोग माग्नुको अर्को विकल्प पनि थिएन नेपाल अधिराज्यमाथि युद्धको बादल मडारी सकेको थियो ठूलो शक्तिशाली अंग्रेज संग युद्धको चपेटामा पर्दै गरेको घडीमा चीन बाहेक गुहार लगाउने अर्को ठाउँ पनि थिएन त्यसैले फ़ेरि राजा श्री पाँच वीरविक्रम शाहकै नाउँ बाट अर्को अनुरोध पत्र लेखियो। (यो अनुरोधपत्र त पाइएको छैन , तर यस अनुरोधपत्रको प्रत्युत्तरमा सम्राट् च्याछिनको राज्यकालको बिसौ वर्षको वैशाख वदि १२ ( वि.सं. १८७२ वैशाख २४ गते तदनुसार ९ मइ इ.स .१८१५) का दिन तिब्बतमा रहेका चिनियाँ अम्बानहरूबाट नेपाली राजा श्री ५ गीर्वाणयुद्ध बिरबिक्रम शाहको नाउँमा निम्नङ्कित भावको अर्को पत्रोत्तर पठाएको पाइन्छ।)
“त्यहाँबाट तपाईले पठाउनुभएको पत्र यहाँ हामीकहाँ यथा समयमा नै आइपुगी अर्थ मालुम भयो बादशाहका हजुरमा अर्जी पत्र जाहेर गरि बादसाह हरुबाट अंग्रेजहरुको नाउँमा तपाईंहरुले नेपाल सरकारलाई दपेटा नदिनु, दवै देशले आ – आफ्ना साँध सिमाना भित्रै रहनु भनी पत्र लेखी पठाउने व्यवस्था मिलाउन पाए हुने थियो भनी हामीलाई आग्रह गर्नुभएको रहेछ यस सम्बन्धमा हामीले विचार गर्दा चीन बादशाहका हजुरमा अर्जिपत्र एवं उपहारहरु पठाउने तपाईंका जस्ता देशहरू यस संसारमा हजारौंको सङ्ख्यामा रहेका छन् , अर्जीपत्र एवं उपहारहरू पठाउने निर्धारित समय आएपछि बादशाहका हजुरमा बिन्ती जाहेर गरी पठाउने र आदशाहबाट स्वीकृति प्राप्त भएमा मात्र दूत , उपहार र अर्जिपत्रहरू पठाउने परम्परा चलिआएको यहाँहरूलाई पनि अवगत नै रहेको छ । साबिकदेखि चलिआएको यस शिष्टाचारलाई उल्लङ्घन गरी नियत समय नभई अहिले नै बादशाहका हजूरमा अर्जीपत्र जाहेर गरी पठाउन सम्भव रहेको छैन । यसरी असमयमा नै ” खलितापत्र ” पठाइएमा बादशाहबाट रिसानी हुन्छ । यो कुरा पहिले पनि यहालाई जानकारी गराइएको नै हो । अङ्ग्रेजहरूसंग मिलिजुली आफ्नो मुलुकको स्याहार तथा सम्भार गरी बसिरहनु। यहाँ पटक – पटक धेरै कुराहरू लेखी नरहनू र दूतहरू पनि पटक – पटक पठाई नरहनू । ” नेपालले जतिसुकै हारगुहार गरे पनि चिनियाँ आम्बान हरु टसमस भएन तर अन्तिम सम्म गुहार लगाउन भने छोडेन त्यसपछि पनि फ़ेरि अर्को पत्र पठाएर सहयोग माग गरेको छ ” हाम्रो देशका प्रायः सबै तराईक्षेत्रहरू कब्जा गरी पहाडी क्षेत्रहरूमा पनि उक्लिएर अङ्ग्रेजहरूले हाम्रो कुमाउ- प्रदेशलाई घेरा दिइसकेसम्मको व्यहोरा यहाँहरूलाई पहिले पनि जानकारी गराइएको हो । अहिलेसम्ममा कुमाउँ – प्रदेश त प्रायः सबै नै उनीहरूको कब्जामा पुगि नै सकेको छ , कुमाउँभन्दा पूर्वका पहाडी भूभागहरू मात्र हाम्रो देशमा बाँकी बचेर रहेका छन् । हामीले आजसम्म पनि चीन – बादशाहलाई मानि नै आएका छौं । हामीलाई आइपरेको अहिलेको यस विपत्तिको घडीमा बादशाहका हजूरमा विन्ती जाहेर गर्न पाएमा बादशाहबाट हामीमाथि मेहरबानी होला , हामीहरूको दुःख र कष्टहरू छुट्ला र सुख पाउला भन्ने हामीले ठूलो आशा राखिरहेका थियौँ । निर्धारित समय नआई बीच अवधिमा अर्जिपत्र एवं मानिसहरू केही पनि बादशाहका हजूरमा पठाउन मिल्दैन भनी त्यहाँबाट लेखिई आउंदा हामीहरूको निमित्त आशाको तन्तु पूरापूर मेटियो । हामीले बादशाहका हजूरमा अर्जिपत्र चडाई पठाउने वर्ष आइपुगुञ्जेलसम्ममा उनीहरूले यस मुलुकलाई बाँकी राखिदिए भने त्यसपछि त्यहाँबाट केही मद्दत आयो र हामीले सङ्घर्षपूर्ण लडाइहरू लडेर त्यतिञ्जेलसम्म आफ्नो देशलाई बचाइराख्न सक्यौं भने वेशै भयो , त्यसपछि बादशाहका हजूरमा अर्जिपत्र चढाई पठाउँला र बादशाहबाट आवश्यक सहायता पनि प्राप्त होला । होइन , त्यहाबाट कुनै किसिमको सहायत प्राप्त हुन सकेन र हामीले भरिसक्य प्रयत्न गर्दा पनि आफ्नो देशलाई बचाउन सकेनौं भने त्यति वेला बादशाहका हजुरमा आवश्यक बिन्ती जाहेर गरी बादशाहलाई चित्त बुझाउने जिम्मेवारी त्यहाँ तपाइहरूमाथि नै रहनेछ । हामीले यहाँलाई अनुरोध गर्नुपर्ने खास कुरा अहिलाई यत्ति नै हो । धेरै कुराहरू नलेखौँ । ” जतिसुकै हार – गुहार र अनुनय तथा विनयहरू गर्दै रहे पनि चिनियां अम्बानहरूबाट कत्ति पनि सुनुवाइ नभएपछि अम्बानहरूबाट निषेध हुँदाहुँदै पनि बादशाहकै नाममा सम्बोधन गरिएको अर्को एउटा औपचारिक ” अर्जिपत्र ” दिई केही महिनापछि नेपाली दूतहरू फेरि पनि सहयोगको याचना गर्न गएको थियो………(चीन तिब्बत र नेपाल- बाबुराम आचार्य) तर जतिसुकै नेपालले अंग्रेज विरुद्धको युद्धमा सहयोगको अपेक्षा गरे पनि रुखो जवाफ् बाहेक केही पनि पाएन बरु उल्टै के लेखेर जवाफ् दिएको थियो भने हामीलाई मल्ल राजाले पनि सहयोग मागेको थियो तर हामीले फौजी सहयोग दिएनौं अहिले पनि हाम्रो निति त्यही हुने भन्ने खालको व्यहोरा दिएर हात टट्काएर अंग्रेजको बिशाल फौज संग नेपाल एक्लै लड्न परेको थियो परिणाम पराजय भोग्न पर्‍यो काठमाडौमा अंग्रेजको दुत बस्ने सम्झौता भयो त्यसपछि यहाँ बाट तिब्बतको निगरानी गर्ने एउटा अखाडा पनि हुन पुग्यो।
राजा गीर्वाणयुद्ध विक्रम शाहको हारगुहारले केहि काम लागेन नेपालले ठूलो भूभाग गुमाई सकेको थियो अंग्रेजको हस्तक्षेपको पिडा बाट मुक्तिको लागि गीर्वाणयुद्ध विक्रम शाहको नाति श्री पाँच सुरेन्द्र शाहले अंग्रेज संग जोरी खोज्दै थियो उनलेे पनि चिनियाँ सम्राट् लाई आवश्यकता भन्दा बढी सम्बोधन गरेर सहयोगको याचना यसरी गरेका थिए ” म गोरखाहरुका राजा सुरेन्द्रविक्रम शाह नौ चोटि लम्पसार परी, घुँडा टेकी अभिवादन गर्दै यो विन्तिपत्र चढाउँछु। तपाईंको राज्य देवता हो यसले हामीलाई पालनपोषण गरेको छ, तपाईंको बुद्धिविवेकले हामीलाई चन्द्र सुर्यको जस्तो प्रकाश दिएको छ तपाईंको संरक्षण सर्वत्र व्याप्त छ, तपाईंको उमेर सुमेरु पर्वत जस्तै छ। हे सर्वमान्य, सर्वपूज्य मन्जुश्री बोधिसत्व ! र तपाईंमा हाम्रो अभिवादन छ र तपाईंको सुसमाचारको प्रतिक्षामा छौं। भन्दै लामो सहयोगको विवरण लेखेर पठाएको थियो ( नेपाल हिन्दुराज्य सिल्भाँ लेभी) तर जवाफमा उहि यिनको हजुरबुबा
गीर्वाणयुद्ध विक्रम शाहलाई जस्तै रुखो जवाफ् पठाएको थियो यसरी “पैसाको माग गरिएकोमा यसरी रकम पठाउने कुनै नियम छैन तर पाखण्डी परदेशीहरुको बिरोधमा लड्न चीनले कहिले पनि फौज पठाएको छैन।” यस्तो रुखो जवाफ आएपछि श्री ५ सुरेन्द्रविक्रम शाह अन्ततः असहाय हुन पुग्यो सम्भवत चीन संगको अनुनय विनय गर्ने अन्तिम राजा हुनसक्छ त्यसपछि त जंगबहादुरको उदय भयो उनलेे नेपाल निति चीनको गुलामी गर्नुभन्दा अंग्रेजको गुलामी गरे फाइदा देखिने भएकोले अंग्रेज संग सहकार्य गर्ने निति अवलम्बन गर्न पुग्यो त्यसपछि चीन संगको नेपाल सम्बन्ध १०४ वर्ष लगभग बिच्छेद नै भयो। अंग्रेज संगको सहकार्यले युद्धमा गुमेको केही भूभाग पनि पाए, सिमानामा पिल्लर राखेर आधुनिक नक्साङ्कन पनि हुन पुग्यो, नेपाली सेनालाई आधुनिकीकरण पनि गर्दै लगे अंग्रेज संगको सहकार्यले शाहवंशीय राजाहरू भन्दा राणा नै उपयुुक्त हुने ठहर्‍याएकोले १०४ वर्ष सम्म राणाको हुकुम चल्न पुग्यो उता चीनलाई गुहार लगाउने शाहवंशीय राजाहरू भने खोपीमा खुम्चेर बस्नुपर्ने भयो।
लेख्दै गए लामो हुन्छ अब टुंग्याउने तर्फ लाग्छु। २००७ सालपछि राणाको युग पतन भएर शाहवंशीय राजाहरूको युग सुरु भयो त्यसपछि फ़ेरि चीन भित्र्याउने काम राजा महेन्द्र बाट सुरु हुन पुग्यो। राजा महेन्द्र कै निगरानीमा नारायणहिटी राजदरबार अगाडि आँगनमा फोहोरा दरबार भित्र नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन गराएको थियो, रत्नपार्क – पिपल बोट तिर माओत्सेतुङको लकेट छ्यापछ्याप्ती बिक्रीवितरण हुने गर्थ्यो भने सचित्र चीन नामक चिनियाँ पत्रपत्रिका पसल पसलमा बिक्रि गर्ने व्यवस्था गरेर चीनको गुणगान गाउने एउटा ठूलो जमात जमानामा नै तयार गर्दै ल्याएर चीन र चीनको सहयोगी कम्युनिस्टहरुको उत्पादन भए नेपालको राष्ट्रियता जोगिन्छ भन्ने भ्रममा कम्युनिस्ट उत्पादनमा कुनै कसर बाँकी राखेन। भारत अमेरिकाको दबदबा हुँदाहुँदै पनि नेपालको दरबारले चीनले गुमाएको भुमिका स्थापित गराउँदै ल्याएको थियो।
तर अन्तमा के भयो ? नेपालमा दिल्ली १२ बुँदे आन्दोलन चर्केर राजदरबार असहाय भएको बेला चिनियाँ दूतावास नै बन्द गरेर गए फर्केर आएको राजदूतले राजा ज्ञानेन्द्र नारायणहिटिमा हुँदाहुँदै गिरिजाप्रसाद कोइरालालाई गएर ओहदाको प्रमाणपत्र बुझाएर नेपालमा गणतन्त्रको सांकेतिक समर्थनमा उभिन पुगे त्यतिबेला सबैलाई अनौठो लागे पनि पछी तत्कालीन भारतिय राजदूत श्याम शरणको आफ्नो पुस्तकमा दिल्ली १२ बुँदे रोड म्यापको लागि चीनको समर्थन गराउन एक हप्ता बसेर आएको खुलाए पछी चीनको निति दरबार प्रति के रहेछ प्रष्ट भयो त्यतिबेला प्रष्ट नभएकाहरु पनि जब १२ बुँदे रोड म्याप अनुसारको संविधान जारी गरेपछि त भनी रहनै परेन।
चीनले जे गर्दै छ ठिकै गर्दै छ उनलेे आफ्नो देशको स्वार्थमा रहेर काम गर्ने हो हामीले गुनासो गर्नुको के अर्थ हुन्छ र ? तर नेपालले चीनलाई अभिभावकको रूपमा हेर्दै उहिले देखिन अहिलेसम्म शाहवंशीय राजाहरूले पाएको भोगेको भुक्तमान बाट पाठ सिक्दै अगाडि बढेर हामीले पनि आफ्नो स्वार्थलाई केन्द्रविन्दुमा राखेर हेरौं।
चिनियाँ राष्ट्रपतिले “इतिहासमा भएको गलती दोहरिने छैन” भनेको यही हिजो नेपालको शाहवंशीय राजाहरूले चीनको भरोसा गर्दै भोक्न परेको पिडालाई मल्हम लगाउन खोजेको हो की ? वा अरु केही होला यसै भन्न सकिएन तर चीन MCC आओस् वा IPS जेसुकै आओस् उनलेे केही गर्दैन बस् उनको BRI जतासुकै बाट पास होस् भन्ने चाहन्छ कुरा यति हो MCC को बिरोध त BRI को फाइल ओली सरकारले पेण्डिङमा पारेपछि बल्ल MCC को बिरोध सडकमा सुरु हुन थालेको होइन र ? त्योभन्दा अगाडि ४ वर्ष सम्म चीन के हेर्दै थियो त ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय