भन्दिएको पो त कमरेड !! – मोहन लामा रुम्वा

२०७८ फाल्गुन १८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

%%%%%%%%%%%%
प्रचण्डले पत्रकार सम्मेलनमा एउटा वास्तविक भेद कुरा खोले, उनलेे मधुर स्वरमा भने MCC पास नगरेको भए यो व्यवस्था नै जान्थ्यो ! तितो लाग्ला सडकमा उग्र उग्र ठुल ठुला कुरा गर्ने गणतन्त्रवादीहरूलाई तर यो यथार्थ हो की MCC अर्थात अमेरिकी स्वार्थमा अलिकति मात्रै आँच पुग्न गएको भए यो व्यवस्थाको दिन गन्ती सुरु हुन्थ्यो।
जुन शक्तिले यो व्यवस्थाको जग बसाल्यो भत्काउने हैसियत पनि त्यही शक्तिले राख्छन् त्यसैले MCC को पक्षमा अगुवाई गर्ने नेपालको राजनीतिक विश्लेषक अरुण सुवेदी पटकपटक भन्नुहुन्छ अमेरिका र युरोपेली युनियनले बनाई दिएको संविधानलाई मानेर बस्ने अनि फ़ेरि पछाडी बाट अमेरिकी साम्राज्यवाद मुर्दावाद भन्न पनि नछाड्ने ? भनेर व्याङ्ग हान्नुहुन्छ बेला बेलामा… !
अहिले सडकमा भुरे टाकुरे बामपंथी पार्टीका ठुला ठुला गुट्टी हाँक्ने नेताहरुले प्रचण्डलाई गद्दार ! राष्ट्रघाती !! अमेरिकी साम्राज्यवादको दलाल भन्दै खेदो खन्ने अगुवाहरुलाई पनि यो कुरा राम्रोसँग थाहै छ की अमेरिकी युरोपेली साम्राज्यवादले हात छोड दिने हो भने अहिले हाम्रो महान उपलब्धि भन्दै आइरहेको संघीय लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्ष भन्ने तथाकथित व्यवस्था हप्ता दिनमा “पानी” पनि भन्न पाइन्न ! यति कुरा नेपालको राजनीतिको “र” सम्म बुझ्नेलाई राम्रोसँग थाहै छ।
बामपंथी क्रान्तिकारी नेता जी बन्नु छ बिचराहरुको पनि आफ्नै वाध्यता के छ भने यति उग्र-उग्र कुरा नगरे सम्म बामपंथी ठिटाहरुलाई डोज नै पुग्दैन त्यसैले अहिले माओवादीमा भएको असन्तुष्ट ठिटोहरुलाई आफू तर्फ तानेर एक दुई वर्ष तन्काउँदै लगेर सेलाउँदै गएपछि फ़ेरि अर्को मुद्दामा पुगेपछि एक दिन दक्षिण पंथी पुनरुत्थनवादी पुँजीवादी दलालहरुको विरुद्धमा बामपंथी प्रगतिशीलहरुको एकता भनेर अन्ततः उहि प्रचण्डकै भकारीमा अहिले सडकमा कुटी राखेको धान मिसाउन पुग्छ, यो कुरा प्रचण्डलाई पनि राम्रोसँग थाहा छ त्यसैले मुसुमुसु हाँस्दै नारायण काजीलाई जाने भए बाटो खुल्ला छ बाँधेर राख्न त सकिन्न भन्दै बाटो देखाउँदै छ… !
जीवनमा एकपटक वामपन्थीको “चस्का” लागेपछि त्यो मान्छे आजीवन “नशा” मा लिप्त हुन्छ, त्यसले जीवनभर अलौकिक नेता खोज्दै हिंड्छ यस्तो नेता खोज्छ की आफ्नो क्रान्तिकारी नेता देखेर अमेरिकाको राष्ट्रपति पनि तर्सिने भारतको प्रधानमन्त्रीको सातोपुग्लो उड्ने चीनको संशोधनवादी राष्ट्रपति पनि हच्किने जस्तो नेताको खोजीमा भौंतारी रहेकोे हुन्छ।
बामपंथीमा भूराजनीतिक कुरा गर्नु हाम्रो वस्तुगत अवस्था यहाँको धरातलीय यथार्थ जस्ता सानुतिनो व्यवहारीक कुरा गर्नु भनेको आत्मसमर्पणवादी हुनु हो त्यसैले अहिले प्रचण्डले MCC पास गरेपछि रक्षात्मक अवस्थामा आइपुगेको छ किनभने उनलेे पनि यस्तै ठूलो ठुलो कुरा गर्दै भुलाउँदै ल्याएको थियो।
प्रचण्डको यही खस्केको मौकामा चौका हान्न फ़ेरि अर्को वामपन्थी नेताहरू आइपुगेको छ, ठुल ठुला उग्र उग्र कुरा गर्दै माओवादीको गोठमा रहेकोे भेंडाहरु तान्न अहिले तँछाडमछाड गर्दै छ। माओवादीको गोठ बाट भेंडाहरु फुत्त फुत्त निक्लिदै पनि छ तर यी भेंडाहरुलाई के थाहा छैन भने तिम्रो खोपडीमा कम्युनिस्ट नाउँको किरा रहेसम्म “ओल्लो घरको नरे पल्लो घरमा सरे” भने जस्तो मात्रै हो। यो किरा सर्दा-सर्दै अन्ततः ढिलो चाँडो प्रचण्डकै भकारीमा आएर टुंगिने हुन् नारायणमान बिजुक्छेको मजदुर किसान पार्टी बाहेक !! ताजा उदाहरण K.P ओली नै छ यिनलाई ०५२ सालतिर RAW को एजेन्ट महाकाली बेचुवा भन्दै दौडिने बाईस पच्चीस उमेरका अल्लारे ठिटाहरु बामपंथी एकताको नाउँमा K.P “बा” भन्दै बुढेसकालमा झोला बोक्न आइपुगेका थिए, बिचमा अहिले फ़ेरि कोहि तानाशाह भन्दै गए कोही यतै “बा” “बा” भन्दै पिंढिमा बस्दै छन् !
कम्युनिस्टको झोला बोक्नेहरुले के बुझ्नु भने यो वा उ… होइन नेपालमा रहेका सबै यी वामपन्थी पार्टीहरू कहिल्यै अमेरिका युरोपेली युनियनको नेपालमा तगारो बनेको छैन इतिहास देखि अहिलेसम्म कुनै पनि मिसनको बरु उल्टै तिनको मिसनमा सहयोगीको भुमिकामा खेल्दै छ।
अल्पबिकासित तेस्रो मुलुकमा खासगरी दक्षिण एशियाली देशमा युरोपेली युनियन र अमेरिकाको आफ्नो रणनीतिक स्वार्थ साँध्ने हतियार भनेको तिनले चलाउने INGO हरु नै हो र नेपालमा समाज व्यवस्थापन गर्न गैरसरकारी संस्थाले गर्दै छ भन्नेमा कोही कसैलाई दुई मत नहोला !
नेपाली कांग्रेसका नेता प्रदीप गिरीले एक ठाउँमा बोल्नु भएको रहेछ “नेपालमा लोकतन्त्रको लागि कांग्रेसले जिम्मेवारी लिनुपर्छ समाज व्यवस्थापनको जिम्मा वामपन्थीलाई दिनुपर्नेछ” गुदी कुरै यही हो, र भइरहेकै यही हो यहाँनेर अहिलेसम्म सुक्ष्म रूपमा गरिरहेकै यही हो त्यसैले यहाँको जाति धर्म इतिहास संस्कृति सभ्यताको पश्चिमी दृष्टिबाट ब्याख्यान् लगाउने नै नेपालमा बामपंथी तप्काका बुद्धिजीवीहरु हुन्।
नेपालमा पश्चिमीहरुले समाज व्यवस्थापनमा वामपन्थीलाई अगाडि सारेको धेरै अगाडि देखि हो त्यसैले उपत्यकामा नेवार समुदायको जिम्मा पद्मरत्न तुलाधरलाई तामाङको पर्शुराम तामाङलाई मगरको सुरेश आले मगरलाई अगाडि बडाएर आजको मिलेर बसेको समाजमा खण्डित समाज हुन पुग्नुको कारण नै बामपंथी समाज व्यवस्थापनका कारणहरु हुन् !!
त्यसैले बामपंथी नेताहरू अमुर्त रूपमा अमेरिकी साम्राज्यवाद पश्चिमी पुँजीवाद भन्दै साइनबोर्ड मात्रै झुन्डाएर बसेका हुन् तर त्यही साम्राज्यवादका दारा नंग्रा रूपी INGO को मतियार तिनको गाउँ गाउँमा व्यवस्थापन त सबै बामपंथी बाट नै भैरहेको होइन र ?
आजको हाम्रो समाजमा आङ्काजी प्रवृत्तिको उद्गम त्यही पश्चिमी गैरसरकारी संस्था र बामपंथी सहकार्य बाट निक्लेको कचडा होइन भन्ने कोही छ ?
जातीय उत्थानका नाउँमा पश्चिमी लगानीमा जातजातिका संघ संस्था खोल्न लगाएर चर्को चर्को संवेदनशिल धार्मिक साम्प्रदायिक नारा सार्वजनिक ठाउँमा गुन्जिदा पनि बामपंथीले नसुनेको जस्तो गर्ने ! थाहा नपाएको जस्तो गर्ने !! ख्याल् नै न भएको जस्तो गर्ने !! कुनै समस्या नै होइन जस्तो गरेर टार्दै छल्दै गर्दै परोक्ष रूपमा आङ्काजी गोपाल गुरुङको फौज तयार गर्ने बामपंथी होइन ? त्यति मात्रै होइन आज तपाईं बजारमा पुस्तक पसलमा जानु भयो भने बाहुनवाद !! हिन्दुवाद !! को सैद्धान्तिककरण गर्दै भाष्य लेख्ने सबै बामपंथी पृष्ठभुमिका बाहुनहरु नै हुन्छन्। पश्चिमीहरुले जातीय घृणावादको जरो बामपंथी पार्टी बाट फैलाएर आफ्नो खुनी दारा नंग्राले हाम्रो समाज थिलो थिलो पारेको छ, यो कटु सत्य कुरा सबैको अगाडि जगजाहेर छ तर यसबारे यी उग्र उग्र राष्ट्रवादको कुरा गर्दै जनमानसमा भिंड उचाल्ने बामपंथीहरु जब पश्चिमी साम्राज्यवादको दारा नंग्रा बारेमा कुरा आउँछ तब यी सबै मौन बस्छन् !
अत: अहिले यी झुन्डहरु MCC को चर्को बिरोध गर्दै अमेरिकी साम्राज्यवाद प्रचण्डलाई अमेरिकी साम्राज्यवादको दलाल भन्दै सरापेर आफुलाई अब्बल दर्जाको क्रान्तिकारी देखाउनेहरुलाई पनि राम्रोसँग के थाहा छ भने उनको दानापानी पनि अमेरिकी युरोपेली युनियनले ल्याई दिएको संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था गयो भने तिनको नेतागिरी गरेर खाने दिन पनि जानेछ त्यसैले यी सबै भुरे टाकुरे बामपंथी नेताहरु MCC को नाउँमा भेंडा गोठ अलिकति ठूलो बनाउन दौडधूप मात्रै गरेको हो ढिलो चाँडो सयुक्त मोर्चा एकता गठबन्धनका नाउँमा प्रचण्डकै गोठमा थन्किने हो, त्यसैले सडकमा जतिसुकै प्रचण्डको विरुद्धमा आगो ओकाले पनि प्रचण्डको अगाडि पुगेपछि बोल्ने भनेको यति नै हो ” हाम्ले पनि भन्नका लागि भन्दिएको पो त कमरेड !!

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय