
नेपाली काँग्रेसको आगामी कार्यकालको लागि सभापतिमा दाबी गर्दै आएका नेता विमलेन्द्र निधिले रामचन्द्र पौडेलालाई सभापति स्वीकार गर्न प्रकाशमान सिहं र शेखर कोइराला तयार भए आफूले पनि सर्मथन गर्ने बताएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि सभापतिमा दाबी गदै प्रचारलाई तीव्र बनाएका निधिले अकस्मात गरेको नयाँ प्रस्तावले नेपाली कांग्रेस राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ ।
चितवन-काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले भने, ‘यदि पौडेलजीलाई सर्वसम्मत स्वीकार गर्ने हो भने म दाबी छोड्छु ।’ उनले अर्का आकांक्षी देउवाले समेत दाबी छाड्नुपर्ने या कोइराला र सिंहले मात्र छोड्ने हो भन्ने विषयमा भने खुलेर बताउन चाहेनन् ।
रामचन्द्र पौडेलका लागि मैदान खाली गर्ने बताएका उनले अरु उम्मेदवार कायम रहे आफ्नो उम्मेदवारी पनि कायमै रहने बताए । उनले असन्तुष्टि छाडेर बैठक र कार्यक्रमहरूमा उपस्थित हुन पौडेललाई आग्रह समेत गरे ।