कि कसो ?? &&&&&&& : एक पादरीको पत्र – राजेश रुम्वा लामा

२०७८ मंसिर २०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

एक पादरीको पत्र:
मान्य गुरुवर यस्ता कथाहरूको बारेमा हाम्रा धर्मप्रचारकहरूलाई जानकारी दिन सक्ने बनाउने हो भने हाम्रा पादरीहरूले यिनीहरूसँग छलफल गर्न सक्ने योग्यता हुनुपर्दछ । यदि मान्य गुरुवरले मेरो लागि एक किताब पठाउनसकेको खण्डमा हाम्रा यूरोपेली देवताका बारेका कथाहरूको बारेमा यिनीहरूलाई ज्ञान दिन सकिन्थ्यो र यसवाट यिनीहरूले फाइदा पनि उठाउन सक्तथे । यद्यपि अहिले हामी त्यस्ता कथाहरूमा विश्वास गर्दैनौ । मार्काको हाम्रो प्रान्तस्थित मोन्ते ग्रानातो अथवा दास्कोली अथवा ओफ्फिदाको धार्मिक शिक्षालयमा यो धरती र ब्रम्हाण्डको वारेमा लेखिएका थुप्रै कथाका कितावहरू भएको जस्तो लाग्दछ मलाई । ओभिदियोले लेखेको प्रकृतिको विकासको क्रमसँगै आएका परिवर्तनहरू ( Metamorphosis of Ovidio ) जस्ता कितावहरू भए ज्यादै राम्रो हुन्थ्यो । यसै गरी मूर्तिपूजाको विरुद्धमा लेखिएका केही कितावहरू पठाइदिन सक्नुहुन्थ्यो भने अझ ज्यादै राम्रो हुनेथियो । यहाँ म आफू त्यस विषयमा कमजोर हुँदाहुँदै पनि जसोतसो धानिराखेको छ। तसर्थ यस्ता विषयका केही कितावहरू हुने हो जसमा देवता र विज्ञानवारेको सन्दर्भलाई मिलाएर लेखेको होस् , हाम्रो लागि यहाँ ज्यादै महत्त्वपूर्ण सावित हुन सक्तछ । मान्य गुरुवरका दयावान् पिता महाप्रभुसँग कथैकथाहरूबारे उल्लेख भएको यस्तो पत्र पठाउने साहस गरेकोमा मलाई धिक्कार्नु हुने छैन भन्ने लागेको छ । मैले यस्तो लेख्नुपरेको कारण यो पनि हो कि हाम्रा धर्ममा आधारित यस्ता कथाहरू यिनीहरूलाई सुनाउने हो भने यहाँका मानिसहरूले हाम्रो धर्म नै संसारको सबैभन्दा वेस धर्म भनेर मान्न थाल्ने छन् । भनाइको मतलव “जहाँ छिद्र छ आफ्नो मतलव साध्य गर्न त्यहीवाट घुस्नुपर्दछ”। ( hic punctus hic labor )
काठमाण्डु नेपाल अधिराज्य २९ जुलाई १७१७
यशूको तुच्छ एवं आज्ञाकारी पुत्र
जुशेप्पे फेलिछे दा मोररो।
काठमाण्डु नेपालको लागि धर्मप्रचारकका प्रमुख।
मल्ल कालमा नै इसाई धर्म प्रचार गर्न आएको पादरीहरुले आफ्नो रोममा भएको पोपलाई लेखेको पत्रमा उल्लेख गरेको कुराले के बुझिन्छ भने “यूरोपेली देवताका बारेका कथाहरूको बारेमा यिनीहरूलाई ज्ञान दिन सकिन्थ्यो……यद्यपि अहिले हामी त्यस्ता कथाहरूमा विश्वास गर्दैनौ।” अर्थात आफुहरुले युरोपेली देवी देउता बारेमा विश्वास नगरेता पनि यहाँनेर नेपालमा फैलाउन पाए यिनीहरू आफ्नो देशको अन्धविश्वास नै भए पनि फैलाउन खोज्दै गरेको देखिन्छ।
दोस्रो मुर्ति पुजाको चर्को बिरोध गर्दै उपत्यकामा हिंडेको रहेछ भन्ने यो पत्र बाट देखिन्छ जसले गर्दा काठमाडौमा चर्को जनअसन्तोष बढेर गएको रहेछ भन्ने अर्को पत्रमा यसरी उल्लेख गरेको छ “यसै वर्षको १८ जुलाईको दिन हामीविरूद्ध यहाँ काठमाडौमा जनअसन्तोष उठ्यो। यस असन्तोष वढ्दै गएर हाम्रो जीवन नै खतरामा पर्ने हो कि जस्तो लागेको थियो। त्यतिखेर पादरी आयुक्त यहीं हामीसँगै हुनुहुन्थ्यो र सवैले रुचाएको पादरीको रूपमा उहाँले यस जनअसन्तोषलाई साम्य पार्न कुनै कसर बाँकी राख्नुभएन। यो डरलाग्दो जनअसन्तोषको रचनाकारं मूर्तिपूजक ब्राम्हणहरू थिए र यिनीहरू हाम्रो ज्यादै डाह गर्दछन् र उनीहरूको काल्पनिक दैविक शक्तिलाई हाम्रो उपस्थितिले क्षति पुऱ्याएको ठान्दछन्। यो जनअसन्तोष दवाउन अरू कुरा केही पनि चाहिएन खाली राजाले सार्वजनिक रूपमा आएर यी फिरंगीहरुले न त मबाट केही प्राप्त गरेका छन् न मैले नै यिनीहरूलाई केही दिएको छु भनेपछि पर्याप्त हुन गयो।(पादरी जुशेप्पे फेलिचे दा मोर्रोको पत्र। काठमाडौ १० नोभेम्बर १७१६)
यो पत्र बाट के देखिन्छ भने यी रोम बाट आएका धर्म प्रचारक पादरीहरुले विभिन्न उपहारहरु दिएर उपत्यकाको मल्ल राजाहरूलाई आफ्नो वशमा पारेर निर्वाद रूपमा काठमाडौको नेवार समुदायलाई इसाईकरण गर्दै गरेको देखिन्छ भने यसबाट जनस्तरमा असन्तोष बढ्दै गएको तर मल्ल राजाले नै पादरीहरुलाई राजकीय संरक्षण र सुबिधा दिएर राखेको कारण उपत्यकाको जनता कुण्ठित भएर बस्न परेको देखिन्छ।
पत्रमा अर्को महत्त्वपूर्ण कुरा छ “जहाँ छिद्र छ आफ्नो मतलव साध्य गर्न त्यहीवाट घुस्नुपर्दछ” भनेर पोपलाई लेखेको छ अर्थात जहाँ कम्जोर छ त्यहीँ हान्नु पर्छ भनेर रणनीति अवलम्बन गर्नुपर्ने भएकोले सहयोग गर्नुपर्‍यो भन्दै आफ्नो मुख्यालयमा पत्राचार गरेको छ। तत्कालीन समयमा कम्जोर छिद्र भनेको उपत्यकाको तीन वटा मल्ल राजाहरूमा एकापसमा अन्तर्विरोध थियो, पादरीहरुले त्यसको फाइदा राम्रोसँग उठाएर आफ्नो दुनो सोझ्याएको देखिन्छ भने अहिले हाम्रो कम्जोर क्षेत्र भनेको रुढीबादी छुवाछूत प्रथा हो त्यसलाई हतियार बनाएर दलितको नाउँमा डिजिटल आक्रमण गरिरहेको छ।
अर्को एक ठाउँमा ल्हासा बाट लेखेको पत्रमा ल्हासामा खासै धर्मान्तरण गराउन सकेन तर नेपाल (उपत्यकाबाट) १ हजार जतिलाई धर्मान्तरण गराउन सफल भएको भनेर लेखेको छ, यस्तो प्रकारले नेपालीहरुलाई ईसाकरण गर्ने अभियान द्रुतगतिमा निर्वाद रूपमा चल्दा-चल्दै बिचैमा खलनायक बनेर बडा महाराज पृथ्वीनारायण शाह उभिन आइपुगेछ।
मल्ल कालमा निर्वाद रूपमा राजकीय सुबिधा लिएर धर्म प्रचारप्रसार गर्दै आएको पादरीहरुलाई गोर्खाली राजा आएपछि यसरी पत्र लेखेर आफ्नो रोममा रहेकोे भ्याटेकिन सिटीलाई जानकारी गराएको छ यसरी ………
“अब धर्मप्रचारकहरूको क्रियाकलाप यी राजाको शुभेच्छामा भर पर्न गयो । यी राजालाई खुशी नपारेमा केही कार्य पनि नहुने देखी ई.सं. १७६४ मा साधनस्रोतको अभाव हुँदाहुँदै पनि आयुक्तले पादरी मिकेलाञ्जेलो दा ताविआगोलाई नुवाकोटमा नै बसी काम गर्ने गरी नियुक्त गरे , जहाँ त्यतिखेर गोरखाली राजाको राजधानी थियो र त्यो पनि सधैंका लागि नभएर केही समयको लागि फाइदा लिने दृष्टिकोणबाट मात्र बनाइएको थियो । निरंकुश , निर्दयी र कसैको कुरामा पनि झट्ट विश्वास नगर्ने यी राजाले धर्मप्रचारकहरूप्रति अलिकति पनि ध्यान दिएनन् र उनीहरूको कुरा सुन्दा पनि सुनेनन् । पछि ई.सं. १७६८ मा जब यिनले काठमाडौं र पाटन पनि जिते , त्यतिखेर पनि यिनको दृष्टिकोणमा कुनै परिर्वतन आएन। केपुचिनहरूको स्थानीय राजासँगहरूको सम्बन्ध राम्रो भए तापनि अब यिनीहरू आफूलाई सुरक्षित महसूस गर्न सकिराखेका थिएनन् । गोरखालीहरूको कट्टर हिन्दूवादले धर्मपरिवर्तन गराउने कुनै सम्भावना नै पैदा गरेन । तसर्थ उपत्यकामा रहेका तीन मिशनहरूले आयुक्तको निर्देशनलाई नपर्खिकनै ( किनकि बाटो बन्द थियो ) पादरी जुशेप्पे दा रोभातोको जिम्मामा नेपाली क्रिश्चियनहरूलाई सुरक्षितसाथ बेतिया पुऱ्याउने सामूहिक निर्णय भयो । पृथ्वीनारायणको अनुमति पाएर ई.सं. १७६ ९ को ४ फेब्रुअरीको दिन नेपाली क्रिश्चियनहरू आफ्नो मातृभूमि छाडेर बेतियातर्फ लागे । बाँकी रहेका दुई धर्मप्रचारकहरूले पनि अब यहाँ बसेर केही फाइदा नहुने देखी केही हप्तापछि नै ठूलो कठिनाइको साथ अनुमति लिएर तराईतर्फ झरे र यस प्रकार नेवारहरूको पुरानो नेपाल जहाँ धर्मप्रचारकहरू बाँचेर काम गरेका थिए , उनीहरूको सम्पूर्ण काम इतिहासको पानाबाट बिलाएर गयो। पादरी जुशेप्पेको पत्र (तिब्बत र नेपालमा इटालियन धर्मप्रचारकहरु ७९)
अहिले हामी जनगणनामा हिन्दु लेखौं किराँत लेखौं बौद्ध लेखौं हाम्रो संख्या यति उती भनेर उफ्रिदै छौं यदि तीन सय वर्ष अगाडि बडा महाराज पृथ्वीनारायण शाहको उदय नभएको भए यतिबेला हामी अफ्रिकीहरु जस्तैः क्याथोलिक लेखौं ! प्रोटेस्टेन्ट लेखौं !! एङ्लिकन लेखौं !! भन्दै उफ्रदै गरिरहेका हुने थियौं होला होइन र ? की कसो ??

May be an illustration
राजेश लामा रुम्वाज्युको फेसवुकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय