बुद्ध , ब्रम्ह कमल र  किङ्ग प्रोटियाको पेन्टिङ्गमा देखेको  नेपाल

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ १३, मा प्रकाशित
अनुमानित पढ्ने समय : 6 मिनेट
फाईल तस्विर

– वावुराम खत्री, टेक्सास अमेरिका

कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिन शुरु भएपछिका दिनहरुमा घर भित्र कोरोना छिर्ने डरले सताई रह्यो । सामाजिक दुरी कायम समेतका उपाय अपनाउने  र  भ्याक्सिनको तीब्र प्रतीक्षा  गर्ने बाहेक अर्को विकल्प थिएन । भ्याक्सिन लगाउन शुरु भएपछि जनावरीको दोस्रो हप्ता पहिलो डोज भ्याक्सिन लगाउने अवसर मिल्यो । लामो समय सम्म भोगेको डरको अवस्थाबाट छुटकारा दिने कुनै ठुलै “ बुटी” मिले जस्तै महशुस भयो । फेब्रुवरी दोस्रो हप्ता दोस्रो डोज भ्याक्सिन लगाउने पालो आएकोले श्रीमती र म हस्पीटल तर्फ जाँदै थियौं । बाटोमा भान्जाले अष्ट्रेलियामा आफ्नै निवासमा रोपेको “ब्रम्ह कमल”फूल आजै राति मात्रै फक्रेको भन्दै केही फोटाहरु म्याजेन्जरमा पठाए । चम्किलो सेतो रंगको यो फूलको बारेमा यस भन्दा अघि सुनेको थिईंन त्यसैले जान्ने उत्सुकता जागेकोले सर्च गरें । यो फूल बर्षमा एक पटक रातको समयमा मात्र फक्रने तथा हेर्दा आकर्षक हुनका साथै ठुलो धार्मिक महत्व तथा औषधीय गुण समेत रहेछ । यो फूल घरमा राख्नाले शुभ हुने, बास्तु दोष मेटिने तथा फूल फक्रेको देखे मनोकाँक्षा पूरा हुने जन विश्वासपनि रहेछ । बिशेषत उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाईने कारणले यसलाई हिमाली फूलहरुको राजा फूल भनिंदो रहेछ । भारतको उत्तराखण्डमा यसलाई राज्य फूलको रुपमा मान्यता दिईएको रहेछ । फक्रेको यो फूलको फोटो देख्दा साह्रै खुसी लाग्यो र भान्जालाई धन्यबाद दिएँ ।

भ्याक्सिन लगाएर फर्कंदै गर्दा फोर्ट वर्थ, टेक्सासमा आफ्नै बसाई नजिकै नयाँ खुलेको एक फर्निचर स्टोरमा पस्यौं । हेर्दै जाँदा, भित्तामा झुण्ड्याईएको एउटा फूलको ठूलो पेन्टिङ्गमा आँखा पुग्यो । त्यो पेन्टिङ्गपनि ब्रम्ह कमल फूलको जस्तो लाग्यो त्यसैले नजिक गएर हेर्न थाल्यौं । सो पेन्टिङ्ग “किङ्ग प्रोटिया”भन्ने फूलको फक्रन बाँकि अवस्थाको रहेछ । थप जन्नका लागि सर्च गर्दा, यो दक्षिण अफ्रिकी उत्पत्तिको तथा आकर्षक,  सरल, विविधता, परिवर्तन र साहसको प्रतिनिधित्व गर्ने कारणले गर्दा दक्षिण अफ्रिकामा यसलाई राष्ट्रिय फूलको रुपमा मानिएको रहेछ । पेन्टिङ्ग मन परेतापनि किन्ने वा नकिन्ने बिषयमा केहीबेर दोधार भईरह्यो । यसै बीच, फोन झिकेर सो पेन्टिङ्गको एउटा फोटो खिचें तर एन्टीलाईट परेर होला फोटो त्यत्ति प्रष्ट आएन । केहीबेर पछि सल्लाह गरेर सो पेन्टिङ्ग किन्यौं । पेन्टिङ्ग प्याकिङ्ग गर्न अलि समय लाग्ने भनेकोले अघि फोनमा खिचेको सोही पेन्टिङ्गको फोटो हेर्न थालें । हतारमा खिचेको सो फोटोमा  पेन्टिङ्गको फ्रेममा स्टोरको पछाडिको भाग रिफेल्क्सन भएर अलि अस्पष्ट तथा धमिलो तर अनौठो दृष्य देखियो । नियालेर हेर्दा त्यो दृष्यमा “किङ्ग प्रोटिया”फूलको तल्लो भाग एकै डाँठमा उभिएको नीलो, सेतो र गुलाबी रंगको सुन्दर पहाडहरुको एकीकृत रुप जस्तो देखियो । माथिल्लो भाग चाहिं हल्का गुलाबी र सेतो रंगको पृष्ठभूमिमा कुनै अग्लो हिमाल मानौं सगरमाथाको प्रतिबिम्ब झैं देखियो । त्यही हिमालको भित्र अलि पर उज्यालोमा छाना मात्र भएका दुईवटा खुल्ला घरहरु र ती घर भित्र उभिई रहेका गौतम बुद्धका मूर्तिको धमिलो आकृति देखियो । कसरी त्यस्तो दृष्य देखियो भनी उत्सुक भई हेर्दा त्यहाँ दुईवटा घर जस्ता देखिने सेडहरु र अलि पर उभिई रहेका गौतम बुद्धका मूर्तिहरु राखिएको रहेछ । पेन्टिङ्गको फोटो खिच्दा शिशाको फ्रेमबाट परावर्तन भई टल्केको प्रकाशको कारण विपरीत तर्फको दृष्य त्यसरी फोटोमा आएको रहेछ । फोटोको उक्त दृष्यलाई अलि गहिरिएर हेर्दा लाक्षणिक अर्थ राख्ने आलाँकारिक महत्वको तथा सन्देशमूलक रहेको अनुभव गर्न पुगें । सो दृष्यले अलि भावुकपनि बनायो किनकि अमेरिकाको स्टोर भित्र सजाएको सो दक्षिण अफ्रिकी राष्ट्रिय फूलको पेन्टिङ्गको फोटो खिच्दा फोटोको दृष्यमा नेपाल सम्झाउने रंगीन पहाडको माथि हिमालको झल्को, त्यही हिमाल भित्र घरहरु अनि तिनै घरहरु भित्र बुद्धहरु उभिएका । यो सुन्दर दृष्य तथा आकृति सोच भन्दा परको संयोग थियो । हुनपनि दोस्रो डोज कोरोना भ्याक्सिन लगाउने हिंडे देखि बाटो जोडिएको ब्रम्ह कमल फूलको प्रसङ्ग अनि किङ्ग प्रोटियाको पेन्टिङ्ग र सो पेन्टिङ्गको फोटो खिच्दा फोटोमा देखिको दृष्य बीच फरक तर अलि अनौठा संयोगहरुको योग थियो । मलाई सो दृष्य भित्र कुनै देशको सुन्दर आर्दश चित्र देखे जस्तो लाग्यो जहाँ  “ब्रम्ह कमल” को फूल झैं अकर्षक, धार्मिक र औषधीय महत्व बोके जस्तै बैदिक धर्म संस्कृतिको आधारमा मानिसहरुको जीवन पद्धति र आत्मानुशासन निर्माण भएको होस । जहाँ “किङ्ग प्रोटिया”फूल झैं अकर्षक, सरल, विविधता, परिवर्तन र साहसको प्रतिनिधित्व गरे जस्तै पूर्खाको बीरता, बलिदानी र साहसले निर्माण भएको स्वतन्त्र, सार्वभौम र समृद्ध देश उभिएको होस । अनि, हरेक घरमा बुद्ध अर्थात र विवेक, अहिंसा र सत्यको बास होस ।  हो, साँस्कृतिक, ऐतिहासिक र प्राकृतिक रुपमा यो परिकल्पनाका धेरै बिशेषताहरु नेपालसंग मिल्छन ।

तथापि आजको नेपालको यथार्थ अवस्था बेग्लै छ । विश्वव्यापी कोरानो प्रकोपले डरलाग्दो संक्रमणले नेपाललाईपनि नराम्ररी सताई रहेको छ । दैनिक हजारौंको संख्यामा संक्रमित र  सयौंको संख्यामा मानिसहरु मरीरहेका छन । अस्पतालमा बेड, अक्सीजन र उपचार नपाएर अकालमै ज्यान गुमाउंदा अकल्पनीय पीडा र सन्त्रासको मानसिकतामा जनता रुमल्लिई रहेका छन । उता सरकार र राजनीतिक दल र तिनका उपल्ला नेताहरु भने जनताको यो दुMखमा एकजुट भएर समस्या समाधान गर्नु त कता हो कता, उल्टै सत्ताको लुछाचुँडी अनि फुट र जुटको अस्वभाविक र नित्कृष्ट राजनीतिक कृयाकलापमा व्यस्त छन । सरकार प्रमूख, सरकारका पदाधिकारीहरु, अनि सबै राजनैतिक दलका ठुला नेताहरुको कार्यशैली हेर्दा उनीहरु जनताको  दु:खमा साथ दिन नभै नितान्त देश र  जनताको दोहन गर्न मात्र राजनीतिमा लागेका हुन कि भन्ने देखिन्छ । बेलायत र अमेरिकी संसदमा नेपालको कोरोनाको संक्रमण, अवस्था र संभाव्य सहयोगका बारेमा छलफल हुँदै गर्दा स्वंयम नेपालको नेपालको व्यवस्थपिका संसद अर्थात प्रतिनिधि सभा भने गैर संवैधानिक ढंगले दुई, दुई  पटक विघटन गरिन्छ त्योपनि दुईतिहाई बहुमतको प्रधानमन्त्रीबाट । त्यसमापनि कुनैपनि तार्किक राजननीतिक कारण नभै केबल आफनाहरुले नै सरकार एकालौटी ढंगले सरकार चलाउन दिएनन भन्ने औचित्यहिन कारण देखाएर । राजनैतिक गैरजिम्मेवारी र कुव्यवस्थाको यो भन्दा खराब र बिडम्बनायुक्त उदाहरण के हुन सक्ला र ? आफ्नै पार्टी भित्रको समस्यापनि मिलाउन नसक्ने हो भने  देश र जनताको हित गर्छु भनेर राजनीतिमा आउनु र रहीरहनु चाहिं किन ?  आफ्नो सनक,  उन्माद र स्वार्थमाथि नियन्त्रण गर्न नसक्नेहरुले  सोझासाझा जनताहरुलाई झुट, धोका र अनुचित प्रभावमा पारी राज्यको शक्ति र साधन स्रोत माथि कब्जा र दोहन गरिरहने चाहिं किन ? यी प्रश्न सबै नेताहरुलाई साझा हो किनकि मौका मिल्दा र ठाउँ पाउंदा प्राय सबै नेताहरुले देखाउने रंग यस्तै नै हो ।

त्यसैले, यतिखेर जनतामा, चरम निराशामा छन । एक बर्ष भन्दा लामो समयदेखि नै  विकाराल रुपमा देखिएको कोरोना कहिले र कति मूल्यमा अन्त्य हुने हो?  दैनिक गुजारा, स्वास्थ्य, शिक्षा, रोजगारी, पेशा व्यवसाय, अर्थतन्त्र जस्ता आधारभूत कुरामा कायम आजको समस्या कसरी समाधान हुने हो र भोलिका दिनमा यसको प्रभाव झन कसरी देखिने हो भन्ने जस्ता  चिन्ताले मानिसहरुमा ठुलो अन्यौल र पीडाबोध छ । यो जटिलतामा पनि धमीलो राजनीतिले झनै पीडा थपेको छ । राजनीतिमा विचार, आदर्श र सिद्धान्त भन्दापनि व्यक्तिगत तथा झुण्डगत स्वार्थ सिद्धिको द्वन्द्वमा देश र जनता नराम्ररी फसेका छन । एकातिर जनताले लामो संर्षघ र त्याग गरी प्राप्त गरेका उपलब्धि गुम्ने हो कि भन्ने चिन्ता छ भने अर्कातिर राजनैतिक असक्षमताको कारण देशले कहिले सम्म यस्तै अस्थिरता, आन्दोलन र संक्रमण भोगी रहनु पर्ने हो भन्ने चिन्ताले बितृष्णा, बिभाजन र हिंसा बढाएको छ । नेता तथा कार्यकर्ताहरु बीचको गुटबन्दी, बाझबाझ तथा एक अर्काप्रतिको आरोप प्रत्यारोप तल्लो स्तर सम्म झरेको छ ।अब राजनीतिमा अनुशासन, सदाचार, शुबिचार र निष्ठा सकिएकै हो कि त भनी शंका गर्नुपर्ने अवस्था आएको छ । गुण र दोषको आधारमा सम्मान र दण्डीत गर्नु भन्दापनि क्षणभरको सन्तुष्टि वा स्वार्थको आधारमा समर्थन वा खण्डन गर्ने प्रचलन बढदै गएको छ ।

अर्कातर्फ, समाजबाद, साम्यबाद, जनबाद, अग्रगमन, प्रतिगमन, राष्ट्रबाद, राष्ट्रघात जस्ता संधै सुनिने तर नबुझीने शब्दजाल बडो प्रचलित छन । यी शब्दजाल भित्र जनतालाई अल्झाएर यथार्थमा संधै बेईमानी र गैर जिम्मेवारी भईरहने तथा फोस्रा आर्दश र सिद्धान्तलाई मानेर व्यक्तिगत स्वार्थ मात्र सिद्ध गरीरहने नेता र नेतृत्व कहिले सुध्रेलान?  अमूक बाद, सिद्धान्त तथा शब्दजालहरुको भरपूर प्रयोग भएका नेताहरुका कुटिल भाषण सुनेर होस वा सस्ता जोक र उखान सुनेर ताली पिटीरहने र लडी रहने कार्यकर्ताहरुले नेताहरुको पद लोलुपता र गैर जिम्मेवारीपूर्ण काम व्यवहारले तिनीहरु स्वंयम आफु, आफ्ना सन्तति र देशको भविष्य माथि खेलवाड भईरहेको महशुस गर्ने दिन कहिले आउला ? जति पटक आन्दोल र परिवर्तन भएपनि उपलब्धिलाई दीगो र संस्थागत गर्न नसक्ने कमजोर राजनैतिक पार्टीहरु, स्वार्थी नेता र नेतृत्वलाई गुण र दोषको आधारमा समर्थन र अलोचना गर्ने परिपाटी जनतामा कहिले विकास होला? सडकमा नारा घन्काउँदैमा र हातमा झण्डाहरु बोकेर प्रर्दशन गर्दैमा देश बन्नेवाला छैन भन्ने चेत कहिले खुल्ला? बिकास, समृद्धि र आशातीत परिवर्तनका लागि त जिम्मेवारीबोध गर्ने अनुशासित तथा नीति र नैतिकतामा अडेको नेता र नेतृत्व स्थापित गराउन सक्नु पर्छ  जसमा जनता र कार्यकर्ताको भूमिका नै प्रमूख हुन्छ । हरेक व्यक्तिले जिम्मेवारीमा रहेने नेताहरुलाई हरेक बिषयमा “किन र कसरी” भन्ने प्रश्न तब सम्म निरन्तर गर्न सक्नुपर्दछ जब सम्म नेताले त्यो प्रश्नको जबाफ तार्किक, ब्यावहारिक र न्यायोचित ढंगले चित्त बुझाउने गरी दिन सक्दैनन् । यही नै सही नेतृत्व स्थापित गर्ने एक महत्वपूर्ण आधार वा प्रकृया हो तर त्यसो हुन सकि रहेको छैन । त्यसैले, नेताहरुको नारा र भाषणमा सुनिने समृद्धि र प्रगतिका सपना तथा देश र जनताले दिनानु दिन भोगी रहेक समस्याहरु बीच ठुलो भिन्नता छ ।

अन्त्यमा, बिदेशको मरुभूमि र हिउँले ढाक्ने चिसो जमिनमा समृद्धि र सुन फलेको देख्दा तर नेपालको मलिलो र उर्वर भूमिमा संधै उन्यू र बनामारा मात्रै झ्याँगिएको देख्दा मन कुँडिदो रहेछ । देशबाट टाढै रहे बसेपनि आफ्नो देश र समाज बारे चासो, चिन्ता र सरोकार हुने नै रहेछ । यद्यपि, देश जे जस्तो अवस्थामा भएपनि राम्रो र सुधारको आशा अपेक्षालाई जीवन्त राखि राख्नु पर्छ नै । त्यही राम्रो आशा अपेक्षामै कोरोना भ्याक्सिन, “ब्रम्ह कमल”फूलको प्रसङ्ग, “किङ्ग प्रोटिया”को पेन्टिङ्ग र पेन्टिङ्गको फोटो खिच्दा फोटोमा देखिएको दृष्य सम्मको घटनाक्रमबाट सिर्जित संयोगले नेपाल बारे एउटा राम्रो स्वप्नील चित्र देखाएको छ । त्यो संयोगलाई यथार्थ र योगमा परिवर्तन गर्दै त्यो स्वप्नील चित्रलाई वास्तविकतामा परिणत गर्न सकिने आधारहरु पनि छन । माथि वर्णन गरे अनुसार पेन्टिङ्गको फोटो भित्र देखिएको सांयोगिक दृष्यले नेपालको ऐतिहासिक, साँस्कृतिक र प्रकृतिक  वास्तविकता दर्शाउँछ । नेपाल “किङ्ग प्रोटिया”फूल झैं अकार्षक, सरलता, विविधता, परिवर्तन र साहसको प्रतिनिधित्व गर्ने देश हो जसमा “ब्रम्ह कमल”फूलको जस्तै धार्मिक, साँस्कृतिक र औधषीय गुण समाहित छ । तर अभाव चाहिं नेपाली घरहरुमा स्थापित बुद्ध अर्थात विवेकलाई अलि बढी जगाउन जरुरी छ । त्यो जगाई राजनीतिमा कायम रहेका मूल विकृतिहरुलाई उपचार गर्नका लागि हो जसले अहिंशा र सत्य मार्ग अबलम्बन गर्दै राजनैतिक क्षेत्रमा हाल कायम विकृति, हिंसा र झुठ बिरुद्ध विवेक प्रयोग गरी सहि चेतनाको सम्प्रेण गर्न सकोस । यसको सरल र सिधा अर्थ यो हो कि, राजनीतिमा कायम रहेका विकृति नहटे सम्म देश बन्दैन । तसर्थ,  मूलतः जनता र राजनैतिक दलका कार्यकर्ताहरुले नेताहरुको अन्धभक्ति र उस्काहटमा रगत पसिना बगाउन छोडी आफू, समाज र देशलाई केन्द्रमा राखि सोचेर विवेक प्रयोग गर्न र आफ्ना नेताहरुलाई उनीहरुको ब्यवहार, बिसंगति र बिकृति बारे प्रश्न गर्दै  हरेक बिषयमा निरन्तर जिम्मेवारी बोध गराउने सचेतना अभियान अबिलम्बन शुरु गर्न सक्नुपर्दछ । जब देखि  यो अभियान शुरु हुन्छ तब देखि नै शान्त र समृद्धको नेपाल निर्माणको प्रकृयापनि संगसंगै अघि बढ्छ । हो, त्यही दिनबाट नेपाललाई कुनै पेन्टिङ्ग वा फोटोमा  देख्न वा भावना वा कल्पनामा खोज्न जरुरी पर्दैन । यही यथार्थ ज्ञान अविलम्ब सबैलाई बोध होस । बुद्ध जयन्तीको हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

सतर्क हौं !! – मोहन लामा रुम्वा

सतर्क हौं !! – मोहन लामा रुम्वा

– मोहन लामा रुम्वा ::::::::::::: गतवर्ष प्रधानमन्त्री K.P. ओलीले चुच्चे नक्सा निकाल्दा नेपाल र भारतको सम्बन्ध राजनैतिक तहमा मात्रै होइन जनस्तरमा पनि बिग्रन पुग्यो, नेपाल..