
युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । नेपालमा पछिल्लो समयमा ‘नयाँ भेरियन्ट’को कोरोना प्रकोपलाई मध्यनजर गर्दै यूूएई र कुवेतले अनिश्चितकालका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
त्यस्तै ती मुलुकले नेपालबाट उड्ने अन्तर्राष्ट्रिय विमानलाई पनि ट्रान्जिटमा प्रतिबन्ध लगाइएका छन् । कार्गो उडान भने सुचारु रहने बताइएको छ । यूएईको ‘नेसनल इमर्जेन्सी क्राइसेस एन्ड डिजास्टर मेनेजमेन्ट अथोरिटी’ले गत सोमबार यस्तो निणर्य गरेका हुन् । यूएईले नेपालबाट प्रवेश गर्ने आफ्ना नागरिकलाई भने प्रवेशमा प्रतिबन्ध लगाएको छैन ।
नेपाल लगायत श्रीलंका, पाकिस्तानी तथा बंगलादेशीलाई पनि प्रवेशमा रोक लगाइएको यूएई सरकारले जनाएको छ । भारतीय नागरिकलाई भने यूएई सरकारले यसअघि नै प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ । तर, कूटनीतिक मिसन, सरकारी पदाधिकारी, गोल्डेन भिसा तथा व्यक्तिगत विमान भएका व्यक्तिलाई भने रोक लगाएको छैन ।
नेपाली कामदारका लागि आकर्षक श्रम गन्तव्य मुलक कुवेतले पनि नेपालमा पछिल्लो समय कोरोना संक्रमितहरुको वढ्दो संक्रमणलाआ मध्यनजर गर्दै अनिश्चितकालका लागि प्रतिबन्ध लगाउने निणर्य गरेको बताएको छ ।
कुवेतको नागरिक उड्डयन महानिर्देशनालयले अर्काे सूचना जारी नभएसम्मका लागि नेपालसहित पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट हुने सिधा हवाइ उडान स्थगित गरी आफ्नो मुलुक पस्न नदिने निर्णय गरेको हो ।
अत्यावश्यक तथा कूटनीतिक भिसा भएकालाई र कम्तीमा १४ दिन बाहिर बसेर कुवेत प्रवेश गर्न चाहनेलाई भने रोक नलगाइएको कुवेतको नागरिक उड्डयन महानिर्देशनालयले जनाएको छ । यसैगरी, कुवेतले नेपाललगायत प्रतिबन्ध लगाइएका देशबाट हुने कार्गाे उडान भने नरोकिने बताएको छ ।