दोलखा भिमेश्वरको शिलामा पसिना आयो

२०७८ बैशाख २५, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

दोलखा । दोलखा स्थित प्रसिद्ध भिमेश्वर मन्दिरको शिलामा शनिबार एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ ।
शनिबार दिउँसा १२ बजेर १५ मिनेट देखी १ बजेर ३० मिनेट जाँदा सम्म शिलामा पसिना आएको स्थानिय समाजसेवि युवा भरत प्रधानले जानकारी दिए । यस पटक भिमेश्वरको शिलामा माथिल्लो भागबाट आएको पसिना बाँया साईटमा र तल्लो भागमा आएको पसिना बिचमा आएको प्रधानले बताए । बायाँ पसिना आउदा जनतामा अनिष्ट हुने जनविश्वास छ । यस पटक बाँया र बिचभाग दुबैमा आएको छ ।

भिमसेनलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सँख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका थिए । भिमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई चम्मरले हम्किने चलन छ । भिमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टा सहित सवै प्रकारका बाजाहरु बजाईन्छ । पसिना आएको खवर सार्वजनिक हुना साथ ठूलो संख्यामा दर्शनार्थी मन्दिर परिसरमा पुगेका थिए ।

शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई क्रमिक रुपले दिने गरिन्छ । भिमसेनको शिलामा पसिना आए राष्ट्र, राष्ट्रप्रमुख, सरकार तथा जनतामा अनिष्ट हुने बताईन्छ । शिलाको सवै भागवाट पसिना आए मुलुकमा ठूलै अनिष्ट हुने अनुमान गरिन्छ । दायाँवाट आउँदा राष्ट्र प्रमुख तथा सरकार र बाँयावाट आउँदा जनतामा अनिष्ट हुने जनविस्वास छ । भीमसेनको शिलाको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउने प्रचलन रही आएको छ ।

भीमसेनको शिलाको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउनका लागि जिल्ला प्रशासन कार्यालय दोलखाले राष्ट्रपति कार्यालयलाई जानकारी समेत गराईसकेको छ । भोली नै राष्ट्रपतिलाई भीमेश्वरको महाप्रसाद दिईने दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

भीमेश्वरको शिलामा पसिना आएपछि प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुख मन्दिर पुगी भीमेश्वर मन्दिर पुजा व्यवस्थापन समितिहरुसँग बैठक राखि राष्ट्र प्रमुख समक्ष महाप्रसाद पठाउने चलन अनुसार आज बसेको बैठकले भोली नै राष्ट्रपति कार्यालयमा प्रसाद पठाउने निर्णय गरेको हो । भीमसेनको प्रसाद लिएर दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी, गुठियार, सल्लाहाकार र जनप्रतिनिधि सहितको टोली भोली राष्ट्रपति कार्यालयमा जाने छन । यो समाचार राजधानी दैनिकका लागि दीपशंकर चौलागाईले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय