
कमिसन नपाएपछि प्रधानमन्त्री केपी ओलीका पकेटका भनिएकाबाटै भारतबाट आउने तयारीमा रहेको १० लाख कोभिसिल्ड खोप रोक्न लगाएको विषयले अहिले व्यापक चर्चा पाएको छ । जसको चौतर्फी विरोध भएको छ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको अष्ट्राजेनिका खोपको व्यावसायिक उत्पादन भारतको पुणेस्थित सेरुम इन्स्टिच्यूट इण्डिया प्रालिले सुरु गरेपछि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दियो ।
नेपालले सेरमसँग थप २० लाख डोज खोपको सम्झौता गरेको थियो । त्यसमा १० लाख डोज खोप आइसकेको थियो । १० लाख डोज खोप आउन बाँकी थियो ।
तर, आफूले कमिसन पाउनुपर्ने भन्दै सेरुम इन्स्टिच्यूटका नेपाली कमिसन एजेण्ट सुरज वैद्य र विजय दुगडले खेलोफड्को गरेपछि रोकिएको बुझिएको छ ।
त्यसपछि नै सेरुमले अचानक स्वास्थ्य मन्त्रालयलाई सम्झौता भइसकेको १० लाख डोज खोप दिन आनाकानी गर्दै स्थानीय एजेण्टमार्फत् प्रक्रिया अघि बढाउन आग्रह गर्दै पत्र पठाएको बुझिएको छ ।
सेरुमले पत्र पठाइसकेपछि कमिसन एजेण्टको चालबाजी बुझेका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी ओलीलाई ब्रिफ गरे । ‘हजुरहरूकै मान्छे हुन्, यस्तो चलखेल गरिरहेका छन् । के गर्ने हो ? जवाफमा प्रधानमन्त्रीले भने, ‘ए हो र ? तिनै पो रहेछन् ।’ वैद्य एमालेसँग निकट व्यवसायी हुन् ।
प्रधानमन्त्री ओलीसँग उनको भित्री सम्बन्ध छ । सोही कारण ओलीले वैद्यलाई ‘भिजिट नेपाल २०२०’ को संयोजक बनाएका थिए ।