भाेलि मध्यरातदेखि आन्तरिक उडानमा रोक, २२ गतेदेखि अन्तर्राष्ट्रिय उडान पनि रोकिने

२०७८ बैशाख १९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सरकारले भोलि मध्यरातदेखी आन्तरिक उडान रोक्ने निर्णय गरेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसअनुसार आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भनेर चौतर्फी आलोचना बढ्दै गएपछि आइतबार साँझको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै आन्तरिक उडानसहित कोरोना महामारीबाट आक्रान्त भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय गरेको हो ।

यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सीसीएमसीबाट आन्तरिक उडान बन्द गर्ने प्रस्ताव आएकाले तत्कालका लागि उडान बन्द गर्नुपर्ने अवस्था आइलागेको बताएका थिए । काठमाडौंबाहिर पनि निषेधाज्ञा जारी हुने क्रम बढ्दै गइरहेकाले बढीमा वैशाखभर वा ७ देखि १५ दिन ट्रायलका रूपमा आन्तरिक उडान बन्द गरिने उनको भनाइ छ ।

त्यसैगरि सरकारले वैशाख २२ गते रातिदेखि  अन्य सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ ।

केही दिनअगाडि सरकारले नेपाल भएर तेस्रो मुलुक जान प्रतिबन्ध लगाएको थियो । सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने कुनै निर्णय नलिए पनि नेपालसँग हवाई सेवा हुने देशले भने धमाधम उडानहरु बन्द गरेका छन् ।

हङकङ र जापानले नेपालसँगको उडान बन्द गरिसकेका छन् । साउदी अरब पनि नेपालमा उडान बन्द गर्ने प्रक्रियामा छ । हाल नेपालबाट मलेसिया, कतार, दुबई, भारत, टर्कीलगायत देशमा मात्रै उडान भइरहेको छ । भारतमा उडान गर्न संसारभरबाट रोक लगाइँदा नेपाल र भारतबाट दुइतर्फी एक–एक हवाई सेवा सुचारु नै छ ।

भारतीयहरू नेपाल हुँदै सउदीतर्फ उडान गरिरहेका थिए । त्यसमा नेपालले गत सातादेखि नै कडाइ गरेको छ । हाल आन्तरिकतर्फ दैनिक ७० र अन्तर्राष्ट्रियतर्फ २० वटा मात्रै उडान/अवतरण भइरहेका छन् । सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ दैनिक ९० र आन्तरिकतर्फ तीन सयभन्दा बढी उडान/अवतरण हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय