
जसले सहरलाई हराभर बनाउछ
तर संकट पर्दा सहरले गाउँ धपाउछ ।
माथिका शब्द ‘सहरले गाउँ धपाउछ’ बोलको गीतबाट लिइएको हो । जसलाई नेकपा एमाले नेता खानेपानी मन्त्री तथा जनवादी गीत तथा साहित्यकार मणि थापाले लेखेका हुन् ।
दोस्रो चरणको कोरोनाको संक्रमण भयावह हुदै गएपछि सरकारको विहिवार रातीदेखि कर्फ्यु लगाउने तयारी गरेसँगै सरकारले आ-आफ्नो घर फर्किनलाई २ दिनको समयसिमा दिएको आज पहिलो दिन पुरा भएसँगै बसपार्क र एअरपोर्टमा भिडभाड छ । यो संकटमा सबैभन्दा बढी पीडित दैनिक ज्याला गरेर खाने मजदुरहरु बन्ने गर्दछन । सहरमा हरहमेसा मजदुरी गरेर बाच्दै आएका मजदुरहरु अति प्रभावित हुनेहरुमा पहिलो पंतिमा रहने गर्दछन । काम नभएपछि उनीहरुलाई बस्न खानकोलागि धौंधौ पर्ने हुदै कतिपय मजदुरहरु गाउँ फर्किने तरखरमा देखिन्छन् ।
गीतकार थापाले यो गीत अहिलेको परिस्थितीमा सहरबाट गाउँ फर्किने मजदुरको परिवेशलाई लिएर लेखेका हुन् । सधैँ गीत तथा साहित्य मार्फत निमुखा, मजदुर र पिडित वर्गको आवज आवाज बुलन्द गर्दै आएका मन्त्री थापाले यो गीतमा पनि ठेला गाडा धकेल्ने, रिक्सा चलाउने लगायत मजदुरको आवाज उठाएका छन् ।
गीतमा संगीत तथा स्वर धनु ज्ञाङ्मीको रहेको छ । गीतको एक भिडियो पनि बनाइएको छ । बिभिन्न तस्बिर प्रयोग गरेर बनाइएको भिडियोमा मजदुरको काम र महत्त्व झल्कन्छ । भिडियो भने भीम कुमखीले तयार पारेका हुन् ।
मन्त्री थापा भन्छन्, ‘लकडाउनमा नयाँ नयाँ गीतसंगीत सिर्जना गर्ने समय मिलेको छ ।’ जनवादी फाटमा रहेर लामो समयदेखि यस्तै गीत तथा साहित्य सिर्जना गर्दै आएका थापाले मजदुर सहरबाट गाउँ फर्किने समस्या स्वदेशमा मात्र होइन विदेशमा समेत देखेकोले पनि ‘सहरले गाउँ धपाउछ’ गीत आफुले लेखेको बताए ।
‘सहरलाई वास्तविक रुपमा हराभर बनाउने काम गाउँबाट आएका मजदुरहरुले गर्दछन्,’ थापाले भने, ‘जब सहरमा संकट पर्छ । तब सहरले मजदुरहरुलाई गाउँ धपाउछ । रोक्न सक्दैन भन्ने संसारभर देखियो । त्यो देखेको प्रभाव र मजदुरहरुको यर्थाथ चित्रण गर्न गीत तयार पारेको हो ।’ गीत मार्फत् मजदुरहरुको समस्या उजागर गर्न खोजेको थापाको भनाइ रहेको छ ।
जनयुद्ध र संकटकालको समय भूमिगत रहदा गरेको अनुभुतिभन्दा अहिले बेग्लै खालको अनुभुति उनले गरेको बताउँछन् । ‘जसले संकट व्यहोर्दै आएको छ । उनीहरुमा यो संकटकालमा सहन सक्ने क्षमता भने धेरै हुँदो रहेछ भन्ने अनुभूति पनि भएको छ,’ उनले थपे ‘यो समय भविष्यको बारे सोचेर सिर्जनामा सदुपयोग गर्नुपर्छ ।’
राजनीतिक नेताका रूपमा बढी चिनिएका मन्त्री मणि थापा । २०१८ सालमा प्युठानमा जन्मिएका थापा विद्यार्थीकालदेखि नै राजनीतिमा होमिए । माओवादीले गरेको १० वर्षे युद्धका धेरै मोर्चामा सहभागी भए ।
०३५ देखि ०७४ सम्मको राजनीतिक यात्रामा उनको सबैभन्दा बढी चर्चा ०६२ को चर्चित चुनवाङ बैठकमा भयो । त्यसपछि उनले माओवादी पार्टी नै छाडिदिए ।
लगत्तै सांस्कृतिक क्रान्ति समूह गठन गरे र ०६५ मा आइपुग्दा यो समूहलाई आफ्नै अध्यक्षतामा क्रान्तिकारी कम्युनिस्ट पार्टीका रूपमा गठन गरे । तर, उनी राजनीतिमा लगभग गुमनामजस्ता भए ।
अन्ततः ०७३ मा माओवादीमै मिसिए । र माओवादी र नेकपा एमालेको एकता भए पछि फेरी अहिले पुन: ०७३ कै अवस्थामा पार्टी पुगेपछि उनी प्रम ओली पक्षमै रहिरहे । यो उनको राजनीतिक पाटो भयो । थापा नेताबाहेक गीतकार पनि हुन् । विद्यार्थी जीवनमै जनवादी गीत लेख्न सुरु गरेका उनले यो पाटोलाई कहिल्यै टुंग्याएका छैनन् ।
युद्धका वेला जनता उराल्न उनका गीत माध्यम बने । अहिलेसम्म एक सय ५० भन्दा बढी गीत लेखिसकेका छन् ।
भिडियो हेर्नुहोस् :