
काठमाडौँ- दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा पनि पछिल्लो समय कोरोना संक्रमणको दर तीव्र बढ्न थालेको छ ।
सबैभन्दा बढी भारत प्रभावित भएको छ भने भुटानमा संक्रमण नियन्त्रण उन्मुख देखिन्छ । भातरमा विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक साढे तीन लाख भन्दा वढिको संख्यामा संक्रमित थपिने क्रममा छ ।
वर्ल्डओमिटरको तथ्यांकअनुसार विहीबार विहान समाचार तयार पार्दासम्म भारतमा १ लाख ९५ हजार ११६, पाकिस्तानमा १६ हजार ६ सय , बंगलादेशमा १० हजार ६८३, अफगानिस्तामा २ हजार ५६७१, नेपालमा ३ हजार १७६, श्रीलंकामा ६३०, माल्दिभ्समा ७१ र भुटानमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सार्क राष्ट्रहरुले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड कडाइकासाथ लागू गर्न निर्देशन दिए पनि दैनिक संक्रमितको संख्या बढ्दो देखिएको छ ।
कोरोनाको कहर कस्तो छ सार्क राष्ट्रमा ?
भारत
पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।
यसअघि (आइतबार ) वैशाख १२ मा भारतमा ३ लाख ४९ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ७३ लाख ६ हजार ३०० पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ४२ लाख ९६ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १४ हजार ५४४ छ ।
यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ९५ हजार ११६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ८०६ जनाको मृत्यु भएको छ ।
दिल्लीमा मात्रै ३५० को मृत्यु
भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३५० जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप २२ हजार ९१३ जनामा नयाँ संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । संक्रमण बढेपछि दिल्लीमा लकडाउन लम्ब्याइएको छ ।
कोरोना सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ । आउँदो मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गरिएको हो । संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरातलगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् ।
पाकिस्तान
भारतपछि सार्क राष्ट्रमा कोरोना भाइरसको संक्रमण पाकिस्तानमा बढी देखिएको छ । कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म १६ हजार ६०० जनाको मृत्यु भएको छ भने ७ लाख ७२ हजार ३८१ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै पाकिस्तानमा ५ हजार ४९९ जना थपिएका हुन् भने १४७ जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा संक्रमितमध्ये ६ लाख ७२ हजार ६१९ जना उपचारपछि निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ८३ हजार १६२ रहेको छ । उनीहरुमध्ये ४ हजार ५२८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बंगलादेश
यसैगरी कोरोना भाइरसको संक्रमण बंगलादेशमा पनि बढ्दो रुपमा देखिएको छ । कोरोना भाइरसका कारण बंगलादेशमा हालसम्म १० हजार ६८३ जनाको मृत्यु भएको छ भने ७ लाख ३२ हजार बढी संक्रमित भएका छन् ।
बंगलादेशमा पछिल्लो २४ घण्टामा थप ९५ जनाको मृत्यु भएको छ भने ४ हजार २८० जना संक्रमित थपिएका छन् । बंगलादेशमा संक्रमित ६ लाख ३५ हजार १८३ जना उपचारपछि निको भइसकेको छन् । ८६ हजार १८३ सक्रिय संक्रमित रहेका छन् ।
नेपाल
नेपालमा पनि कोरोना संक्रमणको क्रम तिब्र रुपमा बढ्दो छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसंगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ७६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३७८ जना संक्रमितहरु निको भएका छन ।
योसंगै हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९ सय ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय जनाको पिसिआर परीक्षण भएको छ । जसअनुसार हालसम्म २४ लाख १७ हजार ४ सय १७ जनाको पिसिआर परीक्षण सम्पन्न भएको छ ।
त्यस्तै हालसम्म २२ हजार ४ सय ३४ जना आइसोलेसनमा रहेका छन भने ६५ जना क्वारेन्टाइनमा बसेका छन ।
श्रीलंका
सार्क राष्ट्रकै अर्को मुलुका श्रीलंकामा पनि कोरोना भाइरसको संक्रमण केही बढ्दो मात्रामा देखिएको छ ।
कोरोनाका कारण श्रीलंकामा पछिल्लो २४ घण्टामा थप पाँच संक्रमितको मृत्यु भएको छ भने ५७८ नयाँ संक्रमित थपिएका छन् ।
योसँगै हालसम्म त्यहाँ संक्रमितको संख्या ९८ हजार ५० पुगेको छ । जसमध्ये ९३ हजार ६६८ जना उपचारपछि निको भएका छन् भने ३ हजार ७५२ सक्रिय संक्रमित छन् । हालसम्म श्रीलंकामा ६३० जना संक्रमितको मृत्यु भएको छ ।
अफगानिस्तान
अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो छ । अफगानिस्तामा हालसम्म २ हजार ५६१ जनाको मृत्य भएको छ भने संक्रमितको संख्या ५८ हजार ३४६ पुगेको छ ।
अफगानिस्तामा पछिल्लो २४ घण्टामा १३२ जना संक्रमित थपिएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । अफगानिस्तानमा हालसम्म ५२ हजार ३०१ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ४८४ रहेको छ ।
माल्दिभ्स
सार्क राष्ट्रहरुमध्यकै अर्को मुलुक माल्दिभ्समा पछिल्लो २४ घण्टामा २५३ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २६ हजार ९२० पुगेको छ ।
हालसम्म माल्दिभ्समा ७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म त्यहाँ २३ हजार ९३५ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ हजार ९१४ रहेको छ ।
भुटान
सार्क राष्ट्रहरुमध्ये कोरोना भाइरसको सबैभन्दा कम प्रभाव भुटानमा देखिएको छ । भुटानमा हालसम्म कोरोना संक्रमितको संख्या ९८६ पुगेको छ ।
भुटानमा संक्रमितमध्ये ८८३ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म १ जना सक्रमितको मृत्यु भएको छ । हाल १०२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा २० नयाँ संक्रमित थपिएका हुन् ।