हिब्रु भाषाको नेपालसम्बन्धी वहुचर्चित गीत “नेपाल हारेखोखा : Nepal Far Away”

२०७७ मंसिर १८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट
सन् १९८८ अर्थात् वि.सं. २०४५ मा रेकर्ड गरिएको यो गीत ईजरायलकी वरिष्ठ गायिका Ms.Gali Atari ले स्वरबद्ध गर्नुभएको हो भने यसमा Mr. Ariel Zilber को संगीत र Ms. Rachel Shapira को शब्द रहेको छ।
कतै टाढा नेपालमा एउटा ढुङ्गाबाट निर्मित चराको मूर्ति रहेको, उक्त चरा कुनै दिन उँड्ने र उँडेपछि सारा संसारभर शान्ति स्थापना हुने, युद्धहरु नहुने किंवदन्ती सुनेको आधारमा गीतकार Ms. Shapira द्वारा लिखित उक्त गीतमा उल्लेख गरिएको मूर्ति पाटनमा रहेको थियो। यसै गीतको प्रभावले गर्दा पनि हुनुपर्छ, उक्त क्षेत्र ईजरायलीहरुको रोजाइमा पर्दै गएको थियो जुन भूकम्पले बिग्रन पुग्यो। तथापि, करिव तीन दशकदेखि लगातार यो गीतले नेपाललाई ईजरायलीहरु माझ परिचित गराईरहेको छ। कतिपय ईजरायलीहरु यो गीत सुनेपश्चात् नेपाल घुम्न गएको समेत भन्ने गरेका छन्। युट्युब लगायत अन्य वेभसाईटहरुमा सजिलै भेटिने यो गीत आज पनि उतिनै मन पराईने भएकाले गायिका Atari अचेल हुने कन्सर्टहरुमा समेत यो गीत गाउने गर्नुहुन्छ।
नेपाल-ईजरायलबीच सांस्कृतिक पुलको काम गरिरहेको यस सुपरहिट गीतका सिर्जनाकारत्रय Gali Atari, Ariel Zilber र Rachel Shapira लाई दुई देशबीच कूटनैतिक सम्बन्ध स्थापना भएको ६० औं बर्षगाँठको अवसरमा नेपाली राजदूतावास, तेल अबिबले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ।
कलाकारत्रयलाई ईजरायली संस्कृति तथा खेलकुद मन्त्री H.E. Chili Tropper तथा ईजरायलका लागि नेपाली महामहिम राजदूत डा. अन्जान शाक्यले स‌ंयुक्त रुपमा खादा तथा प्रमाणपत्रले सम्मान गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि माननीय मन्त्रीज्यूले दुई देशबीचको कुटनैतिक सम्बन्ध स्थापनाको हीरक जयन्तीको अवसरमा शुभकामना र यस कार्यक्रम आयोजना गरेकोमा दूतावासलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन आफू प्रतिबद्ध रहेको बताउनुभएको थियो भने महामहिम राजदूतले दुई देशमा एक-अर्को देशको Cultural Center स्थापना गर्न उपयुक्त हुने विचार व्यक्त गर्नुभएको थियो। त्यसैगरी कलाकारहरुले यस “अनपेक्षित” र “फरक” कार्यक्रमका लागि दूतावासप्रति आभार प्रकट गर्नुभएको थियो।
नेपालका लागि ईजरायली पूर्व राजदूत तथा ईजरायली परराष्ट्र मन्त्रालयको एसिया प्यासिफिक महाशाखाबाट H.E. Yaron Mayer, मन्त्रालयकै सांस्कृतिक कुटनीति व्यूरो प्रमुख Mr. Ziv Nevo Kulman लगायत करिब २० जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपालका लागि ईजरायली राजदूत H. E. Hanan Goder को नेतृत्वमा साना नेपाली बाबुनानीहरुले गाएको यो गीतको भिडियो तथा शुभकामना सन्देश समेत प्रसारण गरिएको थियो। यस कार्यक्रमको सफलताको लागि अतुलनीय योगदान पुर्याउनुहुने नेपाल पर्यटन बोर्डका PR Officer तथा नेपालको तर्फबाट ईजरायलका लागि VNY 2020 को goodwill ambassador, mountaineer, renowned public figure – Mr. Nadav Ben Yehuda तथा अन्य सम्पूर्ण व्यक्ति तथा संस्थाहरुमा दूतावास परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।
(कार्यक्रममा महामहिम राजदूत तथा गायिका Gali Atari ले संयुक्त रुपमा गाउनुभएको उक्त गीतको भिडियो छिट्टै पोस्ट गरिनेछ।)
(नेपाली राजदूतावास इजरायलको आधिकारिक फेसवुक पेजबाट)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय