
मंसिर १० कास्की– गणतन्त्रले देश नै बेच्न लागेको भन्दै हजारौं युवाहरु बुधबार पोखरामा ‘राजतन्त्र जिन्दावाद’ को नारा लगाउँदै सडकमा निस्किएका छन् । अब राष्ट्र र राष्ट्रियता जोगाउन देशमा राजसंस्था आवश्यक रहेको भन्दै युवाहरु सडकमा उत्रिएका हुन् ।
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै कोरोनाको कहरमा आफ्नो ज्यानको प्रवाह नगरी हजारौं युवाहरु सडकमा उत्रिएका थिए । उक्त अवसरमा ‘राजा लेराऔं देश बचाऔं’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘अखण्ड नेपाल जिन्दावाद’, ‘गणतन्त्र मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।
र्यालीमा सहभागी प्रत्येक सवारी साधनमा नेपालको राष्ट्रिय झण्डा, पूर्व राजा ज्ञानेन्द्र र रानी कोमल शाहको तस्वीर टाँसिएका थिए । केही दिन अगाडिदेखि देशव्यापी रूपमा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा र्याली तथा आमसभा हुँदै आईरहेको बेला आज पोखरामा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा विशाल मोटरसाइकल र्याली निकालिएको हो ।
राजासंस्था फर्काउन माग गर्दै समर्थकले पोखरामा मोटरसाइकल र्याली निकालेका हुन् । कास्कीका साथै स्याङ्जा, तनहूँ, पर्वत, लमजुङ लगायत विभिन्न स्थानका नागरिकहरु पश्चिमाञ्चलवासी नेपाली जनता नामक र्यालीमा सहभागी हुन आएका थिए ।
पोखराको अमरसिंहचोकमा पञ्चेबाजासहित हजारौँको संख्यामा सहभागीले ‘राजा आऊ, देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ ‘गणतन्त्र खारेज गर आदि विषयका नारा लगाएका थिए ।
र्यालीमा सहभागी शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेतले नेपालमा जसरी पनि राजसंस्था ब्युँत्याएरै छाड्ने बताए । आफूहरुको यो अभियानमा देशभरका नागरिकले स्तवःस्फूर्त रुपमा साथ दिएकाले राजसंस्था पुनर्वहाली भएरै छाड्ने विश्वास व्यक्त गरे ।
प्रहरीको कडा सुरक्षाको घेराबाट निस्किएको र्याली पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, हलनचोक, सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुंगास्थित मानवअधिकारचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीका कारण पोखराको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । जसले ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । राजनीतिक अस्थिरता बढेपछि जनतामा राजतन्त्र नै ठीक हो भन्ने विश्वास देखिएको छ भने विगतका केही दिनदेखि देशका विभिन्न ठाउँहरुमा राजा र राजतन्त्रको समर्थनमा र्याली जुलुस निकालिंदै आइएको छ ।
त्यस्तै जनकपुरमा पनि ठूलो प्रदर्शन भएको छ । जनकपुरधाममा आयोजित मोटरसाइकल –यालीमा गाउँ गाउँबाट राजतन्त्र समर्थकहरु सहभागी भएका थिए । उनीहरुले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागीहरुले ‘राजा आउ देश बचाउ, हिन्दू राष्ट्र कायम गर’ जस्ता नारा लगाएका थिए । जनकपुरधामको रेल्वे स्टेशनवाट निस्केको सो –याली नगरको विभिन्न चोकको परिक्रमा गरेको थियो ।