
काठमाडौं । डा. गोविन्द केसी र सरकारी टोलीबीच ८ बुँदे सहमति भएको छ । जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरबाट १९ औ सत्याग्रह शुरु गरेका डा. केसीको २७ औं दिनको दिन त्रिवि शिक्षण अस्पतालको उपचार कक्षमै रातको १२ बजेपछि सहमति गरिएको हो ।
सहमति भएसँगै डा. केसीले आइतबार बिहान अनशन तोड्ने भएका छन् । बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरेको गरेको थियो भने डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्य वार्ता टोली बनेको थियो । चिकित्सा शिक्षा सुधारको ६ बुँदे माग राख्दै डा. केसी १९ औं पटक अनशन बसेका थिए ।