लोग्नेको गर्लफ्रेन्ड – यस घिमिरे

२०७७ आश्विन २४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 7 मिनेट
  • यस घिमिरे

राधाले आज सपिङ मलमा प्रत्यक्ष देखी, सन्जय एउटा केटीसँग त्यहीँभित्रको क्याफेमा मुखामुख हुँदै कफी प्युँदै गरेको । एकदुई जनाले ‘भाउजू ! दाइको आजकल अफिसकै एउटीसँग लसपस छ है’ नभनेका होइनन् । यस्तो कुराले मनमा केही चिसो पसे पनि ‘ह्या.. होइन होला है ! कोही राम्रो साथी पनि त हुन सक्छ नि’ भनेर हाँसेरै टारीदिएकी थिई ।

तर, आज भने खुद आफ्नै आँखाले देखी, दुवै जना एकापसमा झुक्दै आँखा जुधाउँदै र ओठमा मुस्कानको स्वाद लिएर कफी प्युँदै गरेको । त्यहीमाथि टेबलमा क्यास्ट्रो ब्रान्डको सामानसहितको झोला देख्नेबित्तिकै त शान्त स्वाभावकी राधालाई पनि रिसको ज्वाला छुट्यो– ‘गिफ्ट किनिदिएको होला नि नकचरीलाई …!’ बिजुली चम्केसरीको यो विचारले कतै भित्रैसम्म हल्लायो । त्यहीँ गएर गिफ्टको झोलालाई च्यातचुत बनाउँदै त्यो केटीको जगल्टा उखेल्न मन बन्यो । खाइरहेको तातो कफी लोग्नेको टाउकोबाट खन्याइदिन मन लाग्यो ।

‘होस्, तमासा के बनाउनु ? अहिलेसम्म सहनुसम्म सहेँ, अब भने खबर लिन्छु । घर त आउ !’ मनमनै सोची । छोराको लागि हेर्दै गरेको टि–शर्ट पनि त्यतिकै छोडेर खुसुक्क बाहिरिई ।

‘ट्याक्सी ! घट्टेकुलो जाने हो ?’

‘हुन्छ बस्नुस्– ‘ड्राइभरले पछाडिको लक खोलिदिँदै भन्यो ‘५०० रुपियाँ लाग्छ ।’

अरुबेला भा’भए तीन सय भनेर बार्गेनिङ गर्ने राधालाई आज केही भन्न मन लागेन, चुपचाप बसी । मनभित्र तर्कनाको आँधीबेरी चल्दैछ भन्ने त अत्यधिक रातो अनुहारले बोल्दै थियो । तर्कनाको हुँडरीमा हेलिँदै गर्दा कतिखेर ट्याक्सीले घट्टेकुलो पुऱ्र्यायो थाहै पाइन । भाडा तिरेर यन्त्रवत कोठाको बेडमा साडी पनि नखोली डङ्ग्रङ्ग पल्टिइ । सिनेमाको दृश्य झैँ सन्जयसँग चिसिँदै गएका दिनहरू उनको मानसपटलमा फनफनी घुम्न थाल्यो ।

०००

‘होइन ! के ल्याङफ्याङको कपडा लगाएकी ? अल्लि म्याचेबल त लगाउनु.. पल्लो घरकी समाको ड्रेसअप सेन्स त ख्याल गर्नु..।’

‘तिमी त दुईटा छोरा पाउनासाथ बुढीमान्छे जस्ती देखियौ । अनुहारमा चार्मिङ नै छैन । अगाडिको रमिला भाउजूलाई हेर त, दुई बच्चाको ममी भएर पनि अनम्यारिड जस्ती देखिनुहुन्छ । टिप्स लिने गर वहाँसँग !’

‘ब्रेकफास्ट तयार भा’छैन अझै ? कति बजे पुग्नु अफिस ? हाउ स्लो यु आर ! सरिता माइजुसँग सिक, कसरी फटाफट मामालाई तयार हुन मद्दत पुऱ्याउनुहुन्छ भनेर । आई बिकेम लेट अलवेज !’

‘एउटा जाबो साडी लगाउन कति बेर लगाकी हो ? शर्मिला दिदीले टीसर्ट–पैन्टमा ठाँट्टिएर हिँड्दा तिम्रोचाहिँ घन्टौँ साडी मिलाउँदैमा जान्छ भन्या ।’

‘गार्डन किन त्यति फोहोर ? यो डगीलाई किन ननुहाइदे’को ? रमेशको बुडीले पनि कुकुरको स्याहार गेरेकी नै छे त । नसक्ने भए क्यानल हाउस फिर्ता गर ।’

‘बाबुहरूको स्कुलबाट फोन आ’को थियो आज, कुन्नी के फङ्क्सन छ रे । म अफिसको कामले भ्याउँदिनँ । तिमी जानू ।’

‘राधा ! एक कप कफी बनाएर ल्याउ ।’

‘राधा ! मेरो मोजा खोइ ?’

‘राधा ! जुत्तामा पोलिस लगाइदेउ है, बाबुहरूको लगाउँदाखेरि ।’

‘राधा ! बच्चाहरूको कपडामा आइरन लगाइदिँदा मेरो सर्टपैन्टमा पनि लगाइदेउ है । म जिम गर्न हिडेँ ।’

‘राधा ! बाबुहरूको होमोर्क हेरिदेउ त मलाई अफिसकै कामको ओभरलोड छ । आई एम टायर्ड टु ।’

‘राधा ! निम्तोमा तिमी जाउ, म बिजी छु, भ्याउँदिन ।’

‘राधा ! हाउ कोल्ड यु आर अन बेड । यस्तो लाग्छ तिमी किनेर ल्याएको सेक्स डल हौ । यु ह्याभ जिरो सेक्स अपिल ।’

राधा ! राधा ! राधा !

मानौ, राधाको ज्यान फलामको हो । हात चारओटा छ । मुख सिलाइएको छ । मस्तिष्क रोबोटको हालिएको छ । स्वाभिमानमा भोटेताल्चा मारिएको छ अनि उनको भागमा इच्छा, आराम, आमोदप्रमोद भन्ने विषय बनेको नै छैन ।

‘सन्जय ! म नपढेकी गँवार नारी थिइन् । साह्रै कुरुप पनि त थिइनँ । तिमी नै मरिहत्ते गरेर माग्न आ’का थियौ । बाबा–आमाको विरोधका बाबजुद मैले तिमीलाई रोजेँ । बाबाले भन्नुहुन्थ्यो– लागेको बानी छुट्न गाह्रो हुन्छ लोग्नेमान्छेलाई । धनी, पढेलेखेको, हेण्ड्सम भएर के गर्नु ? अल्ली धेरै केटीहरू खेलाउँदै हिँड्छ रे त्यो मान्छे । बिहेपछि पनि त्यस्तै रहिरह्यो भने जीवन नर्क हुन्छ छोरी ! मैले भनेको मान । सोझो सज्जन केटो पनि पाइन्छन् । यो केटालाई चाहिँ ‘नो’ भन्देउ ।’

‘तर तिम्रो चेहरा देख्नेबित्तिकै मलाई के भयो के भयो ! पहिलो भेटमै माया लागेर आयो । अनि बिग्रेकै बानी रहेछ भने पनि सुधार्छु भन्ने लाग्यो । मैले ढिपी कसेँ । मेरो जिद्दीको अगाडि वहाँहरू हार्नुभयो र तिमीलाई स्वीकार्नुभयो । बाबा–आमाले तिमीलाई मानसम्मान दिनुभएकै थियो । ज्वाइँ मान्नुभएकै थियो । तिम्रै जागिरको खातिर मैले आफ्नो हुँदाखाँदाको जागिर छोडेर यही घर–ब्यवहार र दुई बच्चाको रेखदेख सर्लक्क धानेरै बसेकी थिएँ । आखिर के पुगेन संजय तिमीलाई ? ममा के कुराको कमी भयो र तिमीलाई त्यो नखर्माउलीको माया चाहियो ? अनि त्यस्तो गिफ्ट आजसम्म मलाई कहिल्यै दिएको सम्झना छ तिमीलाई ? तिमीलाई त न मेरो जन्मदिन याद रहन्छ न हाम्रो वेडिङ एनिभर्सरी नै ।’

ओछ्यानमा ढल्किएर यस्तै तर्कना मनमा खेलाउँदा खेलाउँदै कतिखेर आँशुको ढिक्का कान भित्र पसिसकेछन्, थाहै पाइनँ । टुक्रुक्क पलङमा उठेर बसी ।

०००

सम्झिन्नँ भने पनि बारबार राधालाई त्यही क्यास्ट्रोको झोला याद आइरह्यो । मन्द मुस्कानसहितका ओठहरू र ती चार आँखाको चम्किलो भाका झलझली नाचिरह्यो ।

‘नकचरी आइमाइ ! एउटी नारी भएर नारीकै घर खोस्न तम्सिने । पक्कै थाह छ त बच्चाको बाउ हो, विवाहित हो भन्ने । ४५ वर्षकोले म कुमारकेटो हुँ भनेर फसाएन होला त ! खान पल्केकी नाई हरामी केटी ! खुब चेपारो पार्दै धुत्छेहोलि’नि मेरो लोग्नेलाई.. ! रिसको पारो पुनः ट्यक्सीमै हुँदाको बेला जसरी माथि उक्लियो– ‘त्यहीँ गएर जगल्ट्याउन पर्नेरहेछ नखर्माउलीलाई ! बेक्कारमा हिँडेछु ।’

राधालाई क्याफेमा केही नगरी यत्तिकै हिँडेकोमा भने थकथकी लाग्न थाल्यो ।

‘हुन त आफ्नै सिक्का खोटो भएपछि अरुलाई नि के दोष दिनु र ?!’ लामो निश्वास छोड्दै गर्दा अर्को तर्कना मनमा खेल्यो– ‘संजयको बारेमा बाबा सही हुनुहुन्थ्यो, आई वाज रङ । बाह्र वर्ष कुकुरको पुच्छर ढुंग्रोमा हाले’नि बाङ्गा’बाङ्गै भनेको यस्तैलाई होला ।’

मन बेस्सरी बेचैन भयो । छाती गरुङ्गो भएजस्तो, सास फेर्न गाह्रो भएजस्तो भयो । छटपटी बढेर बेडको छेउमा टुक्रुक्क बसिरहन सकिन अनि उठेर कोठाभित्रै टहलिन थाली । अचानक, भित्तामा झुण्डिएको ठुलो काठको फ्रेम भएको ऐनामा राधाको नजर पऱ्यो । छरपस्ट भएको कपाल, आँशुले लत्पताएको गाजल, बिना मेकअपको फुङ्ग उडेको सपाट चेहरा ! आफ्नै रुपरङ्ग देखेर खिन्न बनायो ।

‘उफ्फ ! बच्चाको हेरचाह, नाता–कुटुम्ब, घरब्यबहार अनि लोग्नेको जागिर भन्दैमा मैले १५ वर्ष आफैलाई बिर्सेछु । हरेक श्रीमानलाई आफ्नो श्रीमती अल्ली शृङ्गारपटार गरेर चिटिक्क परेर बसोस् भन्ने चहना हुन्छ होला । साथीभाइको अगाडि लिएर ँिड्दा ‘वाह’ सुनियोस् भन्ने चाहना हुन्छ होला । जतिसुकै ब्यस्त भए पनि एकघन्टा बिहान छिटो उठेर आफैलाई हल्का सिँगार्न समय निकाले पनि त हुन्थ्यो ! म पनि उस्तै हो ! लोग्नेलाई मात्र के दोष दिनु ?। त्यो केटीले कस्तो आफैलाई सजाएकी थिई ! कपाल त्यस्तै सिल्की, अनुहारमा मेकअप त्यस्तै खुलेको, हरियो साडी कस्तो सुहाएको ! सन्जयलाई पक्कै त्यही श्रृङ्गारले नजिक खिँचेको हुनुपर्छ । मैले यो चिज दिन्थेँ भने पक्कै उ मसँग चिस्सीने थिएन ।’

‘यो विचारले भने राधाको मनको ज्वारभाटालाई एक्कासी शान्त बनाइदियो । मुख फेसवासले धोइपखाली गरेर दराजबाट हरियो साडी र त्यसलाई सुहाउने ब्लाउज निकालेर ड्रेसिङ टेबल अगाडि बसेर मेकअप गर्न थाली ।

‘वाउ ! ममु, यु लुक्स सो ब्युटीफुल । हजुर कतै निस्किन लाग्नुभएको हो र ? ‘भर्खर स्कुलबाट आइपुगेको १२ वर्षको रोहनले विस्मयकारी नजरले हेर्दै भन्यो । ८ वर्षको कान्छो छोरो पनि ममुको बदलिएको स्वरुपलाई उस्तैगरी नियालीरह्यो ।

‘बच्चा ! तिमीहरू आइपुग्यौ ? ल, फटाफट ड्रेस खोलेर हातमुख धोएर ज्ञानी भएर बस्ने, म खाजा रेडी बनाइहाल्छु.. हस् ?’

राधाले आफ्नो अनुहार एकपल्ट घोरीएर ऐनामा हेरी । कुनै पनि कोणबाट लोग्नेको गर्लफ्रेण्ड भन्दा कम सुन्दर लागेन । हरियो साडी अझ खुलेको देखी अनि मुसुक्क हाँसी । हृदयको कतै कुनामा आत्मविश्वास जाग्यो अनि बच्चाहरूलाई खाजा बनाउन ब्यस्त रही ।

<strong>०००</strong

‘राधा ! यो डगीलाई पानी त राख्दिनु । हेर, बिचरोको कपमा एक थोपा पानी छैन ।’ झमक्क साँझमा आइपुगेको सञ्जय गार्डेनबाटै करायो– ‘दिनभरि केही काम छैन तैपनि यत्ती एउटा ककुरको स्याहार गरेको पाँउदिन । थाह छ ? कति हालेर किनेको यो जर्मन शेफर्ड ? पूरा २२ हजार ! हेर्न सक्दिनँ भनेको भए ल्याउने नै थिइनँ ।’

कुकुरलाई टाउको र गर्धनमा सुम्सुम्यायो । ‘हग’ गऱ्यो । कुकुरले पनि पुच्छर हल्लाउँदै उप्रति कृतज्ञता प्रकट गऱ्यो ।

बच्चाहरूलाई होमवर्क गराएर भर्खर खाना बनाउन भान्छामा छिरेकी राधाले संजय कराएको सुनेर जगमा पानी लिएर हतार–हतार बाहिर कुँदी । उसलाई पुर्णविश्वास थियो, ‘आज मलाई देख्नासाथ लोग्नेको आँखा विस्मयले भरिनेछ, एकटक लगाएर हेर्नेछ अनि पछाडिबाट अँगालो मारेर कानमा सुस्तरी भन्नेछ– ‘वाह, मेरो श्रीमतीजी ! हाउ ब्युटीफुल यु आर !’

जगबाट पानी खन्याउँदै गर्दा लोग्नेबाट प्रशंसाको यो शब्द कतिखेर सुनुँजस्तो भएको राधालाई– ‘लु ! के पारा हो आज तिम्रो ?! कसलाई देखाउनको लागि यसबेला सजधज भएर बसेकी ? टोलका केटाहरूलाई ?!’ भन्ने रुखो अवाजले टाउकोबाट चिसो पानी खन्याएको जस्तो बनायो । मर्ममा शाब्दिक तातो झीर रोपियो । अकस्मातको अनपेक्षित पीडाले रन्थन्याएर जडवत त्यहिँ उभिइरही । लोग्ने भने उसलाई हेर्दैनहेरी भित्र पस्यो ।

राधाको मनमा सानोतिनो भुकम्प नै गयो अनि मनमनै भनी– ‘नाउ ! आई एम स्योर । आई एम इन रङ्ग ह्याण्ड । म गलत थिएँ । बाबा, हजुर सही हुनुहुन्थ्यो । अब भने मैले जीवनकै ठूलो यो भुललाई सुधार गर्नुपर्छ र गर्छु पनि ।’

राधाको मनमा केही कुराको दृढ निश्चय पलायो ।

०००

टेबलमाथि राखेको फाइल पल्टाउँदै संजयले थोरै आश्चर्यमिश्रीत हुँदै सोध्यो– ‘यो के हो ?’

‘तिम्रो र मेरो पन्ध्र वर्षको यात्रा टुङ्ग्याउने निर्णय– ‘अ डिभोर्स पेपर, आई वान्ट योर साइन ।’ बच्चाको कपडा पट्याउँदै दराजमा थन्क्याउँदै गर्दै, उतिर हेर्दैनहेरी शुष्क श्वरमा जवाफ दिई ।

सायद जवाफ अपेक्षित भएर होला केही बोलेन । राधाको पारपाचुके गर्ने निर्णयले वास्तवमा भित्रभित्रै खुशी पनि थियो तर भावलाई बाहिर प्रकट हुन दिएन । झलक्क गर्लफ्रेन्डको चेहरा सम्झियो– भर्खरकी छे, राम्री छे, मोर्डन छे । बोल्न, हाँस्न, खान जानेकी छे । गीत उस्तै मीठो गुनगुनाउँछे डान्स उस्तै राम्रो । उसलाई अपनाउने बित्तिकै जीवन अहिले जस्तो बोरियतसँग कट्ने छैन भन्ने सोचेर ढुक्क भयो ।

(प्रिय पाठक ! हरेक कुराको सादृश्य वर्णन गर्दा कथा लामो हुन गएर तपाइँलाई झ्याउ लाग्न सक्ने हुनाले अबको घटनालाई थोरै ‘फास्ट फर्वार्ड मुड’मा दौडाएँ है । अँ, अनि उनीहरू विधिवत रूपमा अलग भए । छोराहरू आमासँगै बस्ने अदालती फैसला रह्यो । यता संजय स्वतन्त्र भएको मात्र के थियो, गर्लफ्रेन्डले लात हानी । एउटा धनी एनआरएनसँग अमेरिका भास्सिइ । स्वास्नी र गर्लफ्रेन्ड दुवै गुमेपछि भने उसको दिनचर्या अस्तब्यस्त हुनथाल्यो । न खानको ठेगान न घर आउनको ठेगान । इष्टमित्र साथीभाइहरू यसै–यसै तर्किएर किनारा लाग्न थाले । अरुको त कुरै भएन, समयमा खान नपाएपछि उसको त्यै बफादार जर्मन शेफर्ड कुकुर पनि नफर्किने गरी कतै गायब भयो । घर भुतबङ्गला जस्तो भयो अनि आफू जोगीजस्तो ।)

दुई वर्षपछि…

एकदिन अकस्मात राधासँग भुगोलपार्कमा संजयको आमुन्नेसामुन्ने भयो । एकछिन त दुवैजना हेराहेर मात्र गरे । बोली फुट्न हम्मे पऱ्यो । के बोल्ने–नबोल्नेको दोधारमा संजयकै बोली फुट्यो– ‘सन्चै छ्यौ राधा ?’

झुस्स बढेको दाह्री, खुज्मुजिएको सर्ट, मुर्झाएको अनुहार देखेर राधालाई नमिठो लाग्यो । बिचरा ! त्यस्तो आगोजस्तो भर्भराउँदो मान्छे यस्तो भएर हिँड्दैछ भनेर कता–कता माया पनि लाग्यो । छातीको देब्रे कुना चस्किएको जस्तो भयो । मलिन स्वरमा भनी– ‘अँ, सन्चै छु । के स्वरुप लिएर हिँड्नुभएको यस्तो ? बिहे गर्नुभएको छैन अझै ?‘

उ केही बोलेन । पर क्षितिजतिर नियालीरह्यो । मनमा अतीतको छाया परेर होला आँखाको कुनो रसाएर आयो । रसाएको आँखा देखेर राधाले अनुमान गरी हाली, ‘पक्कै त्यो केटीले धोका दिई ।’

‘तिमीले बिहे गऱ्यौ ? छोराहरूलाई कस्तो छ ? मलाई कत्तिको याद गर्छन् राधा ?’ उसले योभन्दा बढि सोध्न सकेन । गला अबरुद्ध भयो ।

‘फेरि के बिहे गर्नु र संजय ! एकपल्टकोले नै जीवनभर भारी पुग्ने गरेर चोट दिएको छ ! मेरो अबको जिन्दगी भनेकै तिनै दुई छोराहरू हुन् ।’

राधाको अनुहारमा पीडामिश्रीत उदासी छायो अनि पार्कको हरियो धुपीको पात औंलामा खेलाउँदै भनी– ‘बरु तिमीलाई छोराहरूको याद आउँदैन सायद । रोहनले मिस त बेस्सरी गर्छ तर अल्ली बुझ्ने भैसक्या’छ, त्यति पिरोल्दैन । कान्छो अझै सानै छ, जतिखेर नि बाबा कहिले आउनुहुन्छ भनेर हैरान बनाउँछ । तिमीले आफ्नो फोन नम्बर चेन्ज गरेछौ । फेसबुक पनि डिएक्टिभ गरेछौ । कसरी तिमीसँग कन्ट्याक्ट् गराइदिनु मैले ? एकपल्ट भेटाउन लिएर आएको पनि थिएँ । घरमा ताला झुन्डिएको देखेँ, त्यत्तिकै फर्कियौँ ।’

अब भने उस्को संयमको बाँध टुट्ने तर्खर गर्दै थियो । त्यहीँ डाँको छोडेर रुँदै राधाको पाउ समाएर माफी माग्न मन भयो । तर डिभोर्स दिइसकेको स्वास्नीसँग कुन मुखले माफी माग्नु ? गरुङ्गो मन बनाउँदै चौरबाट उठ्यो अनि बिस्तारै भन्यो– ‘ल राधा, आफ्नो र छोराहरूको ख्याल राख है । उनीहरूलाई तिमीजस्तै ज्ञानी र असल मान्छे बनाउनु ।’

चार पाइला पर पुगिसकेको संजयले रुँदै भन्दै गरेकी राधाको आवाज सुन्यो– ‘म एक्लैले सक्दिनँ सञ्जय । छोराहरूलाई तिमी चाहिन्छ । म के गरुँ ?’

घटना र विचार पत्रिकामा सम्प्रेषण गरिएको ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय