कोरोना संक्रिमतहरु घरमै बस्नुहोस नत्र ६ महिनासम्म जेल हुन सक्छ, दशैको मुखमा सरकारको आग्रह ‘बुढापाकासँग टीका लगाएर आर्शिवाद नलिनू’

२०७७ आश्विन २३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , २३ असोज । सरकारले कोरोना सङ्क्रमण पुष्टि भई आइसोलेशनमा नबस्ने मानिसलाई ६ महिनासम्म जेलमा राख्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कतिपय सङ्क्रमित आइसोलेशनमा नबसेर बाहिर घुमिरहेको वा काममा समेत जाने गरेको सूचना आएको भन्दै त्यस्ता व्यक्तिलाई पक्राउ गरी सङ्क्रामक रोग ऐनअनुसार कारबाही गर्ने बताउनु भयो  ।

स्वास्थ्य मन्त्रालयले पक्राउ गरी कारबाहीका लागि गृह मन्त्रालयलाई अनुरोध गरिसकेको भन्दै प्रवक्ता गौतमले कोरोना सङ्क्रमित भएको व्यक्ति आइसोलेशनमा बसेर नबसेको बारेमा जानकारी लिन छिमेकीहरुलाई आग्रह गर्नुभयो ।  एक जना सङ्क्रमित बाहिर निस्कँदा अरु धेरैलाई सङ्क्रमणको जोखिम हुने भएकोले सङ्क्रमित व्यक्ति स्वयं सचेत हुनुपर्ने र व्यक्तिले लापर्वाही गरेमा परिवारका सदस्य तथा छिमेकीहरुले प्रहरीलाई खबर गर्नुपर्ने उहाँले बताउनुभयो । यस्तै प्रवक्ता गौतमले पीसीआर परीक्षणका लागि स्वाब दिएपछि नतिजा नआउञ्जेल अनिवार्य क्वरेण्टीनमा बस्न आग्रह गर्नुभयो ।

त्यस्तै सरकारले कोरोना संक्रमण फैलिने डर भएकाले यस वर्षको दसैंमा बुढापाकासँग गएर टीका नलगाउन पनि आग्रह गरेको छ ।  प्रवक्ता डा.गौतमले दसैंमा बुढापाकासँग गएर टीका लगाएर आर्शिवाद नलिन आग्रह गरे ।  त्यसै गरी उनले दसैंमा भीडभाडमा गएर किनमेल नगर्न भनेका छन्। ‘दसैंमा भीडभाडमा गएर सपिङ नगरी भएकै लुगा कपडा र सरसमानको उपयोग गरी पुरानै लुगा लगाउँ’ उनले भने ‘घरमै बनाएको खाने कुरा घरकै सदस्य मिलेर मात्रै खाउँ।’

नेपालमा कोरोना संक्रमण हुनेको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५९  जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या एक लाख ६ सय ७६ पुगेको छ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६  जना रहेका छन् भने होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना छन्।

गौतमका अनुसार २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय पुगेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय