
ए1न्यूज इजरायल
विगत केही समयदेखिको छलफललाई निश्कर्ष दिँदै नेपाल र इजरायलबिच “इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता” मा हस्ताक्षर भएको छ । सो सम्झौतामा समेत नेपालको तर्फबाट इजरायलका लागि नेपाली महामहिम राजदूत डा. अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्र मन्त्री गावी आस्केनवाजीले हस्ताक्षर गरेका छन् ।
यस Framework Agreement मा हस्ताक्षर भएसँगै ईजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ । यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल/रेष्टुरेष्ट, निर्माण लगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउने नेपाली दूतावासको दावी रहेको छ । यद्यपि, प्रत्येक क्षेत्रका लागि Implementation Protocol मा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया शुरु हुने बताइएको छ ।
यसअघि नै विभिन्न चरणमा छलफल भई सहमति समेत भइसकेकोले पहिलो क्षेत्रको रुपमा नर्सिङ क्षेत्र (Hospitals, Nursing Homes, Day Care Centers, etc.) मा नेपालबाट केयरगिभर ल्याउने सम्बन्धी Implementation Protocol मा छिट्टै सम्झौता हुने बताइएको छ । नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारी बीच सो Protocol मा काठमाडौंमा हस्ताक्षर हुनेछ र तत्पश्चात् केही महिनाभित्रै पहिलो चरणमा ५०० नेपालीहरु इजरायल आउने बाटो खुल्नेछ ।
त्यस्तै इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था MASHAV को तत्वावधानमा नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन Agriculture Center of Excellence स्थापना गर्नेसम्बन्धी समझदारीपत्र (Memorandum of Understanding-MoU) मा पनि दुई देश सम्झौता भएको छ ।
इजरायलको परराष्ट्र मन्त्रालयमा वुधवार आयोजित एक कार्यक्रमका बीच नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायलको तर्फबाट परराष्ट्र मन्त्री गाबी आस्केनाजीले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
यससँगै नेपालमा कृषि पूर्वाधार निर्माणले पनि तीब्रता पाउने छ भने पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाहरुको विदेशिने क्रममा समेत कमी आउने विश्वास गर्न सकिन्छ । यसले कृषिप्रधान मुलुक नेपालको कृषि क्षेत्रको विकासमा ठोस योगदान दिने अपेक्षा गरिएको छ।
सम्झौतामा हस्ताक्षर हुनुअघि महामहिम राजदूत डा. अन्जान शाक्य र इजरायल सरकारका परराष्ट्र मन्त्री गाबी आस्केनाजीबीच द्विपक्षीय भेटघाट भई दुई देशबीच आपसी सहकार्यका विभिन्न सम्भावित क्षेत्रका बारेमा चर्चा भएको थियो । भेटघाटका क्रममा परराष्ट्रमन्त्री गाबी आस्केनाजीले नेपालको संविधान दिवसको अवसरमा बधाई तथा शुभकामना दिँदै यो महामारी पछि छिटै नेपालका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको इजरायल भ्रमण हुने विश्वास व्यक्त गरेका थिए । मन्त्री आस्केनाजीले नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुहुदै नेपालीहरुको कोमलपन र सहनशीलतालाई इजरायलीहरुले मन पराउने गरेको बताउदै इजरायलीहरुलाई नेपाल जान प्रेरित गर्ने गरेको बताए । परराष्ट्र मन्त्री आस्केनाजीले नेपालको सौन्दर्यको चर्चा गर्नुभएको थियो ।
यसै सन्दर्भमा राजदूत डा. शाक्यले नेपाल र इजरायलबीच उच्चस्तरीय भ्रमण तथा सीधा हवाई उडानको आवश्यकता औंल्याउनु भयो। इजरायल नेपालको पुरानो मित्र रहेको स्मरण गर्दै राजदूत डा. शाक्यले आगामी दिनमा दुई देशबीच थप सघन सहकार्य हुने अपेक्षा व्यक्त गर्नुभयो । राजदूत डा. शाक्यले दक्ष तथा अर्धदक्ष नेपाली श्रमिकहरुका लागि इजरायलको कृषि, Hospitality, निर्माण लगायतका रोजगारीका क्षेत्रहरु पनि खुला गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो । राजदूत डा. शाक्यले विभिन्न विधामा विधार्थीहरुका लागि छात्रवृत्ति प्रदान, स्वास्थ्य, शिक्षा, उर्जा,पर्यटन, उद्यमशीलता विकास, विज्ञान तथा प्रविधि क्षेत्रमा सहकार्य गर्नुपर्ने विषयमा पनि जोड दिनुभयो ।
Photo : nepalembassy Facebook Page.