खोजखबर
गोरखा, असोज १२ गते ।
सिरानचोक गाउँपालिकाका २९ वर्षीय एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना देखिएसँगै गाउँपालिकाको कार्यालय सात दिनका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।
‘उहाँमा रुघा खोकीको समस्या देखियो, अनि पिसिआर गराएका थियौं,’ उनले भने, ‘पोजेटिभ रिर्पोट प्राप्त भएको छ । त्यसैले अहिले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं ।’ यो वीचमा उनको सम्र्पकमा आएका हुनसक्ने मानिसहरुको पहिचान गरी कन्ट्याक्ट टे«सिङ गर्ने गाउँपालिकाको तयारी छ । उक्त रिर्पोट प्राप्त नहुँदासम्म सबैलाई संयमित भइदिन आग्रह गरिएको छ । गाउँपालिकाका सबै कर्मचारी र जनप्रतिनिधि होमक्वारेन्टिनमा बस्ने बताइएको छ ।
यसैवीच वडा नम्बर ३ हर्मीको कार्यालय पनि बन्द गरिएको वडा सचिव अजिता राईले बताईन । ती कर्मचारीको घर रहेको घिमिरे गाउँ क्षेत्र सिल गरिएको छ ‘पूर्वमा वडा नम्बर ३ र ५ को सिमाना (पहिरे खोला), पश्चिममा सापकोटागाउँ, कालढुङ्गासम्म, उत्तरमा नवलपूर र दक्षिणमा बुढिखोलासम्म सिल गरिएको छ,’ उनले भनिन्, ‘अत्यावश्यक बाहेकका काममा हिडडुल नगर्न, घरैमा सुरक्षित साथ बसिदिन सम्र्पूणमा आग्रह गर्दछु ।’ यसैगरी गाउँपालिकाको केन्द्र रहेको चित्रे पोखरी क्षेत्र पनि सिल गरिएको वडा नम्बर ५ ले जनाएको छ । संक्रमित कर्मचारीलाई गोरखा क्याम्पसको आइसोलेशनमा ल्याइएको छ ।
यता १२ किलो प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार दैलेख घर भई १२ किलो प्रहरी चौकीमा कार्यरत २५ वर्षका सुरक्षाकर्मीको रिर्पोट पोजेटिभ आएको हो । योसँगै १२ किलो प्रहरी चौकी पनि सिल गरिएको छ । संक्रमित प्रहरीलाई गोरखा क्याम्पसको आइसोलेशनमा ल्याएको छ । त्यहाँ कार्यरत सबै प्रहरीहरुलाई चौकीमै क्वारेन्टिनमा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । १२ किलोको सुरक्षाका लागि जिप्रकाबाट छुट्टै टोली खटाइएको एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।
जिल्लाभर भने बुधबार अन्य ३ जनामा पनि संक्रमण पुष्टि भएको छ । आरुघाट गाउँपालिका ९ मा बस्ने २४ र २६ वर्षका मजदुर र पालुङटार ५ का २२ वर्षीय पूरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । बुधबार मात्र गोरखामा ५ जना संक्रमित थपिएका छन् । योसँगै अहिलेसम्म गोरखामा कोरोना संक्रमितको संख्या दुई सय ४९ पुगेको छ ।