विदेशमा गरेको आम्दानी इन्टरनेटबाट औपचारिक प्रणालीबाट ल्याउन पाइने, मोबाइल वालेटबाट पनि रेमिट्यान्स ल्याउन सकिने

२०७७ आश्विन ४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

अब इन्टरनेटमार्फत विदेशमा आम्दानी गरेको रकम औपचारिक प्रणालीबाट भित्र्याउन पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले केही दिनअघि परिपत्र जारी गर्दै विभिन्न सामाजिक सञ्जालबाट सामग्री राखिएबापत प्राप्त हुने रकम, अन्तर्राष्ट्रिय खुद्रा व्यापारबाट प्राप्त हुने रकमसमेत औपचारिक प्रणालीबाट ल्याउन सकिने व्यवस्था गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कँडेलले बताए ।

‘पहिला यसरी भएको आम्दानी या त हुन्डीबाट आउँथ्यो, या त उतै अड्किने गरेको सुनिन्थ्यो,’ उनले भने, ‘त्यस्तो आम्दानीलाई सहजै ल्याउने व्यवस्था गर्न लागेका हौँ ।’ युट्युबमा सामग्री राख्दा आउने विज्ञापनबाट प्रतिहजारपटकको भ्युजमा १८ डलर पाउने गर्छन् ।

जब कि सामग्रीकै प्रतिहजारपटकको भ्युजमा तीनदेखि ५ डलर पाउँछन् । यस्तो भ्युजको निश्चित सीमापछि रकम पनि बढ्ने गर्छ ।

राष्ट्र बैंकले गत १० माघमा फेसबुक, ट्विटर, युट्युबमार्फत विज्ञापन गर्दा भुक्तानी दिने वा पाउने काम गैरकानुनी भन्दै विदेशी विनिमय अपचलनअन्तर्गत कारबाही गर्ने बताएको थियो ।

नयाँ परिपत्रले भुक्तानी दिन रोक लागेकै भए पनि भुक्तानी प्राप्त गर्न भने खुला गरेको छ । नयाँ व्यवस्थापछि अब नेपाली सफ्टवेयर निर्माता, एनिमेसन बिक्रीकर्ताले समेत औपचारिक माध्यमबाट भुक्तानी लिन सक्ने कँडेलले बताए ।

विदेशबाट बैंकिङ प्रणालीमार्फत पैसा आएपछि मोबाइल वालेटजस्ता भुक्तानी सेवाप्रदायकबाट समेत स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिने सुविधा दिइएको छ । भविष्यमा भुक्तानी सेवाप्रदायककै सञ्जालबाट समेत सोझै रकम ल्याउन सकिने व्यवस्था हुने संकेत राष्ट्र बैंकका अधिकारीहरूले गरेका छन् ।

‘अहिले बैंकबाट भुक्तानी लिनुपर्दा ४०–५० डलरसम्म खर्च हुने गर्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘शुल्क महँगो भएकाले थोरै आम्दानी गरिरहेकाहरूले रकम ल्याउन सकिरहेका छैनन्, त्यसैले भुक्तानी सेवाप्रदायकलाई पनि यसमा सहभागिता गराउन लागिएको हो ।’

राष्ट्र बैंकका ती अधिकारीका अनुसार यस्ता भुक्तानी सेवाप्रदायकलाई विदेशबाट सञ्जाल प्रयोग गरेर रेमिट्यान्ससमेत ल्याउन सक्ने सुविधा दिन लागिएको छ । भुक्तानी सेवाप्रदायक संस्थाहरूले समेत यसको माग गर्दै आएका थिए ।

‘यो मागको सुनुवाइ भएमा औपचारिक माध्यम बढ्नेछ,’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भने । राष्ट्र बैंकले ०७३ मा गरेको अध्ययनअनुसार करिब ६ प्रतिशत रेमिट्यान्स हुन्डीजस्ता अनौपचारिक माध्यमबाट आउने गरेको छ । यसलाई आधार मान्दा करिब ९ खर्बसम्म रेमिट्यान्स भित्रिने मुलुकमा ५० अर्बसम्म रुपैयाँ हुन्डीबाट आउने गर्छ ।

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा इ–कमर्सका माध्यमबाट व्यापार गर्न चाहनेलाई थोरै परिमाणमा रकमसमेत विदेश पठाउन सक्ने सुविधा दिएको छ ।

‘विदेशमै अनलाइनमार्फत सामान किनेर त्यहीँ बिक्री गर्ने उद्देश्यले कसैले भण्डारणका लागि खर्च चाहिएमा पैसा लैजान सक्नेछ,’ कँडेलले स्पष्ट पारे, ‘तर, यसरी पठाइने रकमको सीमा कायम गरिनेछ, यो २–४ सय डलरभन्दा बढी हुँदैन ।’ अहिले पनि राष्ट्र बैंकले विदेश भ्रमणमा जाँदा पाँच हजार डलरसम्मको विदेशी मुद्रा लैजान सक्ने सुविधा दिइरहेको छ ।

 

नयाँ पत्रिका दैनिकमा प्रकाशित ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय