
एजेन्सीको सहयोगमा । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प प्रशासनले कोरोनाविरुद्धको भ्याक्सीन आफ्ना नागरिकहरुलाई फ्रिमा दिने बताएको छ । कोरोनाबाट अत्याधिक प्रभावित रहेको अमेरिकाको स्वास्थ्य र मानव सेवा विभाग र रक्षा विभागले संयुक्त रुपमा बुधवार यस योजनाको दस्तावेज जारी गरेको छ ।
कोरोनाको टिका वितरण सबै नागरिकका लागि जनवरीको शुरुवातबाट हुने भएको छ ।
अहिले कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु ओरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
हालसम्म विश्व भरमा कोरोना भाइरस संक्रमित दुई करोड २० लाख ४६ हजार चार सय ८८ व्यक्ति निको भइसकेका छन् । विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या तीन करोड तीन लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख ५० हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ ।
कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६८ लाख ७४ हजार पाँच सय ९६ भन्दा बढी संक्रमित भएका छन् भने दुई लाख दुई हजार दुई सय १३ जनाको मृत्यु भएको छ ।