गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपा निर्णय

२०७७ भाद्र १९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यमा रिक्त एक स्थानका लागि गौतमलाई मन्त्रीपरिषद बैठकबाट सिफारिस गर्ने निर्णय भएको बताए ।

‘अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति ज्युबाट मनोनित गरिने राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि राष्ट्रपति समक्ष सिफरिस गर्ने निर्णयमा सरकार पुगेको जानकारी गराउनु भयो’, बैठकपछि प्रवक्ता श्रेष्ठले भने ।

गत २० फागुन देखि राष्ट्रियसभा सदस्यमा मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने एक पद रिक्त रहेको छ । नेकपा सचिवालय निर्णयपछि अब सरकारले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस गर्नेछ ।

गत १४ फागुनमा नेकपा सचिवालयले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनितका लागि सिफारिस गर्न निर्णय गरेको थियो । तर प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिन खोजेकाले सो निर्णय कार्यान्वयन हुन सकेन् ।

शूरुमा राष्ट्रियसभा सदस्य हुन नखोजेका गौतमले एकाएक सदस्य सहित सरकारमा जाने आफ्नो इच्छा एवं अडान अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल समक्ष राखेका थिए ।

एक साता यता राष्ट्रियसभा सदस्यमा गौतम की खतिवडा भन्ने बिषयमा गम्भिर छलफल भयो । प्रधानमन्त्री ओलीले यस बिषयमा छलफल गर्दा अध्यक्ष दाहालले पार्टीको पुरानो निर्णय अनुसार गौतमलाई नै सिफारिस गर्नुपर्ने अडान राखेको नेकपा स्रोतले जनाएको छ ।

सचिवालय बैठक बस्नुभन्दा अघि अध्यक्षद्धय ओली र दाहालबीच छलफल भएको थियो । छलफलमा ओलीले खतिवडालाई नै निरन्तरता दिनुपर्ने वताए पनि दाहालले त्यसो नगर्न अडान लिएपछि गौतमलाई सिफारिस गर्ने निर्णय सचिवालयले गरेको हो ।

यसैगरी नेकपाले गठन गरेको ‘समस्या समाधान सुझाव कार्यदल’ ले दिएको प्रतिवेदनमा छलफल गर्दै बैठकले ठोस कार्ययोजना बनाई प्रस्ताव प्रस्तुत गरिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

नेकपामा पछिल्लो समय विवाद बढदै गएपछि महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको ६ सदस्यीय कार्यदलले बिभिन्न प्रस्ताव सहितको प्रतिवेदन पेश गरिसकेको छ । कार्यदलले पेश गरेको प्रतिवेदनमा अध्यक्षद्धय ओली र दाहालको कार्यविभाजन, संघीय सरकार र प्रदेश सरकार पुनर्गठन गर्न, पार्टी एकता महाधिवेशन लगायतका बिषयमा सहमतीको प्रस्ताव तयार गरेको थियो ।

यस्तै बैठकले बाग्लुङ जिल्लाको ढोरपाटनमा बाढीबाट हुन गएको क्षतिप्रति दुख व्यक्त गर्दै सरकालाई उद्धार, राहत र पुर्नस्थपनाको कामलाई तीव्रतापूर्वक व्यवस्थितरुपमा अगाडि बढाउन आग्रह गरेको छ । यस्तै पार्टी कमिटीलाई उद्धार र राहतमा जुट्न निर्देशन गरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय