एनआरएनएलाई आइएलओले दियो पाँच करोड १० लाख अनुदान

२०७७ असार २१, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 1 मिनेट

केजिन राई

बेल्जियम : संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले गैर आवासीय नेपाली संघलाई पाँच करोड १० लाख रुपैयाँ अनुदान  दिने भएको छ। एनआरएनएले शनिबार विज्ञप्ति जारी गर्दै आइएलओ र संघबीच गत मंगलबार सहमतिपत्रमा हस्ताक्षर भएको जानकारी गराएको छ ।

संघका अध्यक्ष कुमार पन्तका अनुसार विशेष गरेर कोभिड–१९ बाट प्रभावित मलेसिया, यूएई, कतार र साउदी अरब गरी  चार देशका नेपालीको सहयोगार्थ आइएलओले आर्थिक सहयोग गरेको हो । कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा सो रकम खर्च हुने संघले जनाएको छ ।

संघले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरेर कार्यालय स्थापना गर्दै आफ्नो कार्य अघि बढाउने तयारी गरेको छ ।

विदेशमा कोरोनाकै कारणले जागिर छोड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने तयारी संघले गरेको छ ।

संघमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको लेखा प्रणाली तथा आर्थिक अनुशासन र आर्थिक पारदर्शिता कायम भएसँगै आगामी दिनमा पनि थप अन्तर्राष्ट्रिय दातृ निकायबाट यस्तै सहयोग प्राप्त गर्न सक्ने बाटो खुला भएको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार  गैरआवासीय नेपाली संघले पहिलो पटक विदेशी संस्थाबाट यति ठूलो आर्थिक सहयोग प्राप्त गरेको हो  ।

सहयोगको लागि गैरआवासीय नेपाली संघको तर्फबाट संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा, डा. पुरु श्रेष्ठ र एकनाथ खतिवडाले विशेष भूमिका निर्वाह गरेका थिए ।

आइएलओले संघको प्रस्तावलाई करिब पाँच हप्ता लगाएर अध्ययन गरेपछि आर्थिक सहयोग गर्ने निष्कर्षमा पुगेको थियो । अन्तर्राष्ट्रिय श्रम संगठनले विश्वभर छरिएका श्रमिकको हितमा काम गर्दै आएको छ ।

अन्नपूर्ण पोस्ट अनलाइनबाट साभार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय