म बाटो मै छु साथी-एक परदेशीको मर्मस्पर्शी कविता

२०७६ भाद्र १६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साहित्य संकलक र प्रकाशक -अन्तरास्ट्रिय नेपाली साहित्य समाज नर्थ इस्ट ओहायो च्याप्टर

-बाबुराम खत्री

 म हराएको छैन साथी, म बाटो मै छु अझै

लर्बराएका छैनन पाईला, म हिड्दै छु अझै

सपनाको गन्तब्य खोज्दै, म बाटो मै छु साथी

संघर्षको भूमरी झैल्दै, म बाटो मै छु साथी

 

जे आफ्ना थिए तिनलाई टाढै छोडेर

जे पराई हुन तिनलाई नजिक रोजेर

म अदृष्य क्यानभासमा जीवनको चित्र कोर्दैछु

म अनन्त बिरानीमा आफैंलाई खोज्दैछु

तर,

म हराएको छैन साथी, खोजे भेटिन्छु नै

म बिलाएको छैन साथी, हेरे देखिन्छु नै

 

म पढ्दै छु जीवनलाई यो के रहेछ भनी

म बुझ्दै छु संसारलाई यो कहां रहेछ भनी

सुख दुःख, आफ्ना पराई सबैका अर्थ सापेक्षित रहेछन्

सफलता र सुख अनि असफलता र दुःखमा सम्बन्धहरु फेरिंदा रहेछन्

 

लाग्छ कहिले त केही ठूलै जीबनमा गुमाएँकि ?

बुनेको धरातल भत्काएर कतै अनिश्चितताको गोरेटो पो समाएँकि?

तर पाउँछुआफूलाई सिर्जना र संघर्षशिलहरु संगै उही बाटोमा हिडिरहेको

अनि एकै जीवनमा धेरै सत्य, अनूभव र ज्ञानको त्रिबेणी कमाउन जुटिरहेको

 

त्यसैले,

म सुखी नै छु, दुःखी छैन साथी

म हराएको छैन कहीं, बाटो मै छु साथी।

 

बाबुराम खत्री

धापासी काठमाण्डौं

हाल एक्रोन, ओहायो, अमेरिका

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय