गाजापट्टीमा इजरायली सुरक्षाकर्मीसँग भएको प्रदर्शनमा आठ जनाको मृत्यु, सयौ घाइते

२०७४ चैत्र २४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

गाजा, ७ अप्रिल ।  प्यालेस्टाइनका आन्दोलनकारीहरुले शुक्रबार गरेको प्रदर्शनका क्रममा भएको झडपमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । इजरायली सुरक्षाकर्मीसँग शुक्रबार भएको सो झडपमा परी अरु एक हजार ७० जना घाइते भएका समाचारमा जनाइएको छ ।
प्यालेस्टाइन र इजरायलको सीमा क्षेत्रमा पर्ने गाजाका विगत केही दिनदेखि प्यालेस्टिनी आन्दोलनकारीले प्रदर्शन गर्दा इजरायली सुरक्षाकर्मीसँग झडप हुदै आएको छ ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अस्रफ अल क्बेड्राले शुक्रबार प्रदर्शनलगत्तै एक जना प्यालेस्टाइनी प्रदर्शनकारीको मृत्यु भएको र केही समयपछाडी थप सात जना गरी कुल आठ जनाको मृत्यु भएको बताउनु भएको छ ।

प्रदर्शनकारीहरुले शुक्रबार पूर्वी गाजा क्षेत्रको सिमाना अवरोध गरेर प्रदर्शन गरेपछि झडप सुरु भएको थियो ।
प्रदर्शनलाई मत्थर पार्नका लागि इजरायली सुरक्षाकर्मीहरुले प्रदर्शनकारीविरुद्ध रबरको गोली, अश्रुग्याँस, विस्फोटक पदार्थ र अग्नीनियन्त्रकहरु प्रयोग गरेका थिए । प्रदर्शनकारीहरुले भने सुरक्षाकर्मीविरुद्ध ढुंगा प्रहार गरेका थिए ।
हजारौंको संख्यामा रहेको प्यालेस्टिनी प्रदर्शनकारीहरुले शुक्रबार विहानैदेखि प्रदर्शन सुरु गरेका थिए । उनीहरुले कालो धुँवासहित प्रदर्शन गरेका थिए ।
सिन्ह्वाका एक जना फोटो पत्रकारले गाजा क्षेत्रमा कालो धुँवाको मुस्लो आकाशभरी देखिएको बताएका छन् । गाजाको इजरायली क्षेत्रमा इजरायली सुरक्षाकर्मीहरु ठूलो मात्रामा तैनाथ गरिएका छन् ।

उनीहरुले लडाकू सवारी साधनहरु विस्फोटक पदार्थहरु, हातहतियार, अश्रुग्याँस, अग्नी नियन्त्रकहरु आदी लिएर बसेका छन् ।
गाजा क्षेत्रको मुख्य ठाँउमा प्रदर्शन गर्नु अगाडी शुक्रबार बिहान उत्तरी र दक्षिणी क्षेत्रबाट प्रदर्शनकारीहरु जम्मा भएका थिए ।

इजरायली प्यालेस्टाइनबीच जारी यस द्वन्द्वको कारण एक हप्ता अगाडी नै इजरायली सेनाले गरेको आक्रमणमा परी १९ प्यालेस्टिनीको मृत्यु भइसेकेको थियो ।

इजरायली सेनाको आक्रमणमा परी एकै दिनमा १९ प्यालेस्टिनीको मृत्यु सन् २०१४ यताकै एक रक्तपातपूर्ण दिनको रूपमा रहेको उनीहरूको दाबी रहेको छ ।

शुक्रबार भएको प्रदर्शन केही वर्षयता भएका प्रदर्शनहरूमध्ये कै ठूलो जनसहभागितामा भएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय