प्रयोगकर्ताको डाटा चोरी भएको फेसबुकद्वारा स्वीकारोक्ती, के भएको घटनामा ..

२०७४ चैत्र ८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं, ८ चैत । सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गरेको छ ।

क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका हुन् । उनले फेसबुक प्रयोगकर्ताका सामग्री तेस्रो पक्षले जानकारी लिन नसकिने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले एप्स बनाउने अलेक्जेन्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकका बीच जे भएको छ त्यो विश्वासघात नै भएको बताए । उनले फेसबुक र फेसबुक प्रयोगकर्तामाथि पनि विश्वासघात भएको बताएका छन् ।

जुकरबर्गले फेसबुकमा आएको समस्या समाधानका लागि केही प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएका छन् । फेसबुकमा डाटा चोरी भएको खबर सार्वजनिक भएलगत्तै फेसबुकको शेयरमा आठ प्रतिशत गिरावट आएको थियो ।

अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गर्ने क्याम्ब्रिज एनालिटिकल कम्पनीले फेसबुकका पाच करोडभन्दा बढी प्रयोगकर्ताको जानकारी चोरेको आरोप सार्वजनिक भएको थियो ।

यस्तो थियो घटना

 

फेसबुकका ५० मिलियन भन्दा बढी प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक परामर्श दिने फर्मले अनधिकृत रुपमा प्रयोग गरेको भन्ने आरोप लागेपछि आलोचना सुरु भएको हो ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको प्रचार प्रसार टिमले अनुबन्धित गरेको क्याम्ब्रिज एनालिटिका (सिए) ले फेसबुकका प्रयोगकर्ताको व्यक्तिगत विवरण लिएर त्यसलाई राजनीतिक प्रचारका लागि प्रयोग गरेको आरोप छ ।

सिएमाथि फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण अनधिकृत रुपमा लिएको आरोप लागेपछि उसले आफ्ना प्रमुख अलेक्जेण्डर निक्सलाई निलम्बित गरेको छ ।

अमेरिकाको निर्वाचन कानुनको सिएले उल्लंघन गरेको हुन सक्ने आरोप छ । बेलायतको लण्डनमा आधारित कम्पनी सिएले भने आफूले कुनै किसिमको गलत काम नगरेको दाबी गर्दै आएको छ ।

फेसबुकले पनि आरोप अस्वीकार गर्दै आएको थियो । बेलायत तथा युरोपियन युनियनको संसदले फेसबुकका प्रमुख मार्क जुकरबर्गसँग प्रयोगकर्ताको जानकारी सुरक्षित रहेको र कुनै किसिमले गलत प्रयोग नभएको प्रमाण दिन माग गरेका छन् ।

फेसबुकमाथि हुने गरेको आलोचना नयाँ होइन तर पछिल्लो पटक प्रयोगकर्ताको जानकारी असुरक्षित मात्रै नभई अनधिकृत रुपमा प्रयोग गर्न दिएको कुराले उसमाथिको दबाब अहिलेसम्मकै उच्च भएको छ ।

गएको हप्ता बेलायती पत्रिका द गार्डियन र अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले फेसबुकका दशौँ लाख प्रयोगकर्ताको जानकारी अनधिकृत रुपमा प्रयोग भइरहेको र यसबारे फेसबुकले प्रयोगकर्तालाई जानकारी नदिएको भन्दै खबर छापेका थिए । डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले फेसबुकबाट प्रयोगकर्ताको जानकारी संकलन गरेको उनीहरुले दाबी गरेका छन् ।

यो खबर आएपछि फेसबुकले क्याम्ब्रिज एनालिटिकाको पेज बन्द गरेको छ । एनालिटिकाले अनधिकृत रुपमा जानकारी संकलन गरेको र त्यसलाई डिलिट पनि नगरेको दाबी गरिएको छ ।

एनालिटिकाले बनाएको पर्सनालिटी क्वीज एप्लिकेशन मार्फत फेसबुक प्रयोगकर्ताको जानकारी संकलन गरिएको दाबी छ । यसरी संकलन गरिएको जानकारी सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको पक्षमा प्रचार गर्नका लागि प्रयोग भएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय