इराकमा आइएस जिहादी समूहको अपहरणमा परेका ३९ भारतीयको हत्या

२०७४ चैत्र ६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नयाँ दिल्ली, ६ चैत ।  सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ । भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गरेको दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

भारतीय संसद्मा विदेशमन्त्री सुषमा स्वराजले इराकमा तीन वर्षअघि निर्माणसम्बन्धी काममा कार्यरत ३९ जना भारतीय नागरिकको इस्लामिक स्ट्टेस (आइएस)ले हत्या गरेको पुष्टि भएको जानकारी दिनुभएको हो ।

इराकको मोसुल सहरको उत्तरपश्चिम भागमा पर्ने बादुशमोमा नगरको दुर्गम क्षेत्रमा एक सामूहिक चिहान फेला परेको र उक्त चिहान तिनै भारतीय नागरिकको रहेको पुष्टि भएको उहाँले बताउनुभयो । गाडिएको अवस्थामा रहेका ३९ वटा शवको डिएनए परीक्षणबाट उनीहरु सन् २०१४ मा अपहरण गरी बेपत्ता बनाइएका भारतीय नागरिकको भएको स्वराजले संसद्मा जानकारी दिनुभएको छ ।

यद्यपी हिजो सोमबार संसदमा स्वराजले ३८ जनाको डिएनए नमूना परिक्षणबाट पुष्टि भएको र एक जनाको भने आंशिक मात्र मिलेको बताउनुभएको थियो । आइएस जिहादी समूहले सन् २०१४ को अक्टूबारमा इराकको मोसुल सहरबाट ती ३९ जना भारतीय नागरिकलाई अपरहण गरेका थिए ।

इराकमा अपहरणपछि उनीहरुको हत्या भएको अनुमान गरी सोही समयदेखि नै व्यापक मात्रामा खोजी कार्य गरिएको थियो । ती सवै भारतीय नागरिक उत्तरी प्रान्त पञ्जावका थिए । ती कामदार मोसुलमा रहेको एक निर्माणसम्बन्धी कम्पनीमा कार्यरत रहेका थिए । कार्यस्थलबाटै उनीहरुलाई आइएसले अपहरण गरेका थिए । अपहरणमा परेदेखि नै अपहरणकारीबाट भारतीय सरकारसँग फिरौतीका लागि कुनै माग नगरेको सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय