प्युठान जिल्ला अस्पतालमा डिम्बाशयमा हुने जटिल खाले पानीको फोका(DERMATOID CYST) को अप्रेशन

२०७४ माघ २८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

-डा समीर लामा

प्युठान -जुम्रीकाँडाकी ३५ वर्षीया मनिसरा रोकालाई तल्लो पेट असाध्यै दुख्यो भनेर उनका आफन्तले प्यूठान अस्पताल ल्याए। उनको भिडियो एक्सरे गर्दा पेटमा पानीको निकै ठूलो फोका देखियो, जसको उपचार अप्रेशन नगरी सम्भव थिएन। तर ठूलो अस्पताल जान त के, यहि उपचार गराउन पनि पैसाको समस्या भएपछी जसरी नि यहिं उपचार, अप्रेशन गर्नुपर्ने भयो।

पैसा नभएर “हामी त घर जान्छौं, डिस्चार्ज गर्दिनुस्” भनेर भनीसकेका उनलाई “तपाईं यहि रोग लिएर घर जानुहुन्छ भने घरमै ज्यान गुमाउनुपर्छ, बरु तपाईंलाई १ पैसा लाग्दैन, खाएको बसेको औषधीको पनि सबै म व्यवस्था गर्छु, बरु जाने बेलामा भाडा नि दिएर पठाम्ला” भनेर सम्झाएर चित्त बुझाएर बल्ल बल्ल राखियो। त्यसपछी उनको भिडियो एक्सरे रिपोर्ट बारे देशका विभिन्न ठूला अस्पतालमा कार्यरत रेडियोलोजिस्टहरुसँग छलफल गरियो, आफ्नै क्वार्टरको ‘वाइम्याक्स’ भिडियो एक्सरे गर्ने कोठामा लगेर इन्टरनेट जोडेर भाइबरमा भिडियो कल गरेर भएपनि स्पेस्लिस्टसँग सल्लाह सुझाव मागियो।

नेपालका वरिष्ठ स्त्री रोग विशेषज्ञसँग फेसबुकमा समस्या, रिपोर्ट पठाएर अवस्था जानकारी गराएर सल्लाह मागियो। र साधनस्रोत र जनशक्तिले भ्याएसम्म सक्दो तयारी गरी अन्तत अप्रेशन गरियो। उनको पाठेघरको बाँयापट्टि निकै ठूलो जटिल खालको पानीको फोका (Dermoid cyst- डिम्बाशयको एक खाले ट्युमर) रहेछ, जुन आफैंमा बटारिएर पेटभित्र रगत चुहिन थालेको रहेछ। रोगको प्याथोलोजी जाँचको लागि निकालिएको मासु चितवनको ल्याबमा पठाइएको छ।

अन्तमा यति दु:ख गरेर एउटा जीवन बचाउन पाउँदाको खुसी र आत्मसन्तुष्टि म यहाँ शब्दमा वर्णन गर्न सक्दिनँ। उनको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीहरुको टोली, पाटन अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. पबन शर्मा , विपीकोइराला स्वा. वि. प्रतिष्ठान धरानका रेडियोलोजिस्ट साथी डा. अशोकराज पन्त, रेडियोलोजिस्ट साथीहरु डा. राजिव रिजाल , डा. रोशन पंगेनी, उपचारमा खर्चको लागि ‘विपन्न विरामी सहयोग कोष’ का सहयोगीदाताहरु सबैलाई धेरै धेरै धन्यवाद। यो काम यहाँहरु सबैको सहयोगले नै सम्भव भएको हो।

यो खालको अप्रेशन हाम्रो जिल्ला अस्पतालमा पहिलो हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय