कता गए नेपाली डुप्लिकेट ?

२०७४ बैशाख २१, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

झट्ट हेर्दा अनुहार उस्तै लागेको भरमा आफूलाई म फलानोको नक्कली, डुप्लिकेट भनेर चर्चामा आउन खोज्नेहरूको कालान्तरमा भागाभाग भएको छ । एकताका नेपाली फिल्म क्षेत्रमा बलिउड स्टारहरूसँग अनुहार तथा जिउडाल मिल्दाजुल्दो लाग्ने कलाकर्मीको बिगबिगी नै थियो । कतिपयले आफूलाई आफ्नो सक्कली परिचयबाट भन्दा नक्कलीबाट बिकाउन खोजेका थिए । तर, अन्ततः ती प्रयास ‘नाकाम’ सिद्ध भए ।

‘ज्वाला’ फिल्मका सहनायक अमित ढुंगानालाई बलिउड हिरो विवेक मुश्रानको डुप्लिकेट भनेरसमेत प्रचार गरियो । अमित पनि आफूलाई नेपाली विवेक नै ठान्थे । पछि उनी आफ्नै निर्माणमा ‘माया नमार’ नामक फिल्ममा पुनः सहनायक भई देखिए । फिल्म हिट भए पनि डुप्लिकेट अमित हिरोका रूपमा जमेनन् । उनी पछिल्लो समय भाइ रमितका साथ ‘बुद्ध बर्न इन नेपाल’मा देखिएका छन् । उनी पुनः हिरोका रूपमा उठ्ने सम्भावना देखिँदैन ।

प्रकाश सायमीले ‘अवतार’ फिल्मबाट नेपाली ज्याकी श्राफ भन्दै सीमान्त उदासलाई हिरो बनाए । झट्ट हेर्दा ज्याकीझैँ पनि देखिने सीमान्तले त्यसपछि ‘रानीखोला’,‘मजदुर’, ‘शुभकामना’ लगायतका दर्जनभन्दा बढी फिल्ममा अभिनय गरे । तर, उनलाई दर्शकले न नक्कली ज्याकीका रूपमा मन पराए, न सक्कली सीमान्तका रूपमा । ‘मिसन नेपाल’ नामक फिल्मसमेत निर्माण गरेका सीमान्त अचेल फिल्मवृत्तमा सक्रिय देखिँदैनन् ।

निर्देशक रमेश बुढाथोकीले एभरेस्ट क्यासिनो जानेआउने क्रममा नेपाली बबी देओल फेला पारे । अर्थात्, उनी हुन्, सौरभ कार्की । झट्ट हेर्दा बबी देओलझैँ देखिने सौरभले आफ्नो हेयरस्टाइल पनि बबीको झैँ बनाएका थिए । उनले हिरो बन्ने मौका पाए, ‘लगनगाँठो’ र ‘फेरि तिम्रो याद आयो’ फिल्ममा । बुढाथोकीकै निर्देशनमा बनेका ती दुवै फिल्ममा सौरभ हिरो थिए । तर, दर्शकले उनलाई पनि हिरोका रूपमा सकारेनन् । पछि उनी ‘करुणा’ टेलिसिरियलमा पनि देखिएका थिए । उनले ‘घमण्ड’ नामक भिडियो फिल्ममा पनि अभिनय गरेका थिए । अचेल उनी पनि फिल्म अभिनयमा सक्रिय छैनन् ।

हेटौँडाका नवीन श्रेष्ठलाई फिल्मवृत्तमा बलिउड हिरो विवेक ओबरायसमेत भनियो । फिल्म अभिनयतिर खासै लगाव नराखेका उनलाई दीपक श्रेष्ठले ‘जीवनसाथी’ फिल्ममा हिरो लिए । पहिले उक्त फिल्ममा श्रीकृष्ण श्रेष्ठ हिरो थिए । श्रीकृष्ण बिरामी परेकाले नवीनलाई चान्स मिलेको थियो । तर, नवीन जमेनन् । जीवनसाथी पछि ‘आफ्नोपन’, ‘एकता’लगायतका फिल्ममा अभिनय गरे पनि नवीनले कुनै कमाल देखाउन सकेनन् । बिहेपछि हेटौँडातिरै फर्कीए । नेपाली सलमान खान भनेरसमेत चिनिने दिनेश शर्मा भने फिल्म अभिनय, निर्माण र निर्देशनमा सक्रिय नै छन् । ‘चट्याङ’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका शर्मालाई सुरुवाती दिनमा नेपाली सलमान खान भनेरसमेत चिनाइने गरिन्थ्यो । अनुहार उस्तै लागे पनि दिनेशले आफूलाई सलमानको डुप्लिकेट हुँ भनेर कहिल्यै भजाएनन् । त्यसै कारण हुन सक्छ, उनी अहिलेसम्म पनि उत्तिकै सक्रियताका साथ फिल्मकर्ममा छन् ।

आफूलाई राजेश हमालको डुप्लिकेट भनेर गर्वानुभूति गर्ने एक अभिनेता छन्– शीतल केसी । कपाल, हिँड्ने, बोल्ने शैली हमालसँग मेल खाँदो भएकाले शीतललाई राजेश हमाल भनेर झुक्किने दर्शक पनि कम छैनन् । तर, शीतलले आफूलाई फिल्म अभिनयमा स्थापित गर्न सकेनन् । म्युजिक भिडियो, टेलिफिल्मतिर राम्रै चले पनि फिचर फिल्ममा भने उनले अहिलेसम्म कमाल देखाउन सकेका छैनन् । उनले हमालसँग ‘मेरो राजेश दाइ’ फिल्ममा सँगै अभिनय पनि गरेका थिए ।

झरना ब्रजाचार्यलाई विपाशा बसुसमेत भन्ने गरिन्थ्यो । दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरे पनि झरना हिरोइनका रूपमा कहिल्यै जमिनन् । उषा पौडेललाई कतिपयले मनीषा कोइराला भनेरसमेत दाँज्ने गर्थे । उषा पनि आफूलाई मनीषासँग दाँजिएकोमा गर्वानुभूति गर्थिन् । अन्ततः उषाले पनि हिरोइनका रूपमा करिअर स्थापित गर्न सकिनन् । भारतीय हिरो राहुल रोयसँग मुम्बई पसेकी उनी कसोकसो अमेरिका पुगिन् । गत वर्ष अभिनेता सुधांशु जोशीसँग बिहे गरिन् ।

फिल्ममा मात्र होइन, हास्य टेलिफिल्मको दुनियाँमा पनि नक्कलीको बिगबिगी छ । क्यारिकेचरर ज्योति काफ्ले त आफूलाई सीधै नक्कली बाबुराम भट्टराई भनेर परिचय दिने गर्छन् । उनले आफूलाई नक्कली बाबुराम भट्टराई भनेरै भिजिटिङ कार्ड बाँड्ने गरेका छन् । आफ्नो असली परिचयबाट स्थापित हुन नसकेपछि ज्योतिले नक्कलीको सहारा लिएका हुन् । त्यसमा पनि उनको करिअर सुखद छैन । उनीसँगै मेकअप आर्टिस्ट विपना बस्नेतले आफूलाई नक्कली हिसिला यामी भनेर कलाकारिता गर्दै आइरहेकी छिन् । हास्यकलाकारितामा खासै दख्खल नभए पनि नक्कली हिसिलाको रूपमा भने विपनाले गर्जाे टारिरहेकी छिन् ।

अनुहार उस्तै लाग्ने कलाकर्मी बग्रेल्ती छन् । निर्देशक अभिनेता शोभित बस्नेत र भिलेन सुनील थापाको अनुहार उस्तै लाग्छ । उनीहरू दुईदेखि दर्शक झुक्किने गरेको पनि पाइन्छ । बोलेपछि भने शोभित र सुनील भनेर छुट्टिने गरेको छ ।

‘होस्टेल रिटन्र्स’ र ‘लभलभलभ’की अभिनेत्री स्वतिमा खड्का र आइटम डान्सरका रूपमा आफूलाई बिकाउने धुनमा रहेकी रिया श्रेष्ठको अनुहार उस्तै मानेर झुक्किने गरेका दर्शक पनि बग्रेल्ती छन् । त्यसैगरी, हास्यकलाकार सुरज चापागाईं ‘बान्दे्रे’ र विराज भट्टका हिरो भाइ कृष्ण भट्टको अनुहार पनि उस्तै लाग्छ । कृष्ण अभिनयमा सक्रिय रहँदा बान्द्रेले पनि कहीँकतै हिरोको झैँ ‘मेजमानी’ पाउने गर्दथे ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय