हुन्डीमार्फत घुस, के हो हुन्डी ? अनुसन्धान शून्य !

२०७१ कार्तिक ३०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

 

  • घुससहित पक्राउ परेका भन्सारका नायब सुब्बामाथि अनुसन्धानका क्रममा भारतीय एजेन्टमार्फत हुन्डीबाट घुस रकम लिने गरेको खुलासा
  • अख्तियारले कडाइ गर्न थालेपछि भन्सार, राजस्व कार्यालयलगायत निकायका कर्मचारीले हुन्डीमार्फत नै घुस कारोबार मिलाउने गरेको स्रोतको दाबी

ghus-curruptionअख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात पक्राउ गर्न थालेपछि सरकारी कर्मचारीले हुन्डीमार्फत घुस कारोबार गर्न थालेका छन् । जोखिम कम रहेको भन्दै सेटिङ मिलाएर हुन्डीमार्फत घुस लेनदेन हुन थालेको हो ।

अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले कर्मचारीको घुस लिने तरिका फेरिएको सूचना आयोगले पाएको बताए । ‘३–४ तह बनाएर घुस लिनेदेखि हुन्डीबाट पनि लेनदेन हुने गरेको बुझिएको छ,’ प्रवक्ता सापकोटाले नयाँ पत्रिकासँग भने, ‘चोरहरू सधैँ प्रहरीभन्दा अगाडि हुन्छन् ।’

अघिल्लो शुक्रबार २१ लाख ४० हजार घुससहित पक्राउ परेका अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका नायब सुब्बा हरिवंश कार्कीमाथि अनुसन्धान गर्ने क्रममा पनि हुन्डीमार्फत नै घुस लिने गरेको खुलेको छ । सुनसहित पक्राउ परेका भारतीय नागरिकहरूको मुद्दा छिटो फैसला गरी सामान्य मात्र सजाय गराउन उनीहरूले पटक–पटक हुन्डीमार्फत घुसको कारोबार मिलाएका हुन् ।

अनुसन्धानमा आबद्ध अधिकारीहरूका अनुसार कार्की सुरुमा पैसा लिन हिच्किचाएका थिए । उनले भारतमा आफूहरूको एजेन्ट रहेको बताउँदै उतैबाट हिसाबकिताब मिलाउने आग्रह गरेका थिए । हुन्डी कारोबार गर्नेहरूसँग सम्पर्क नभएको र पैसा ल्याइसकेकाले लिन आग्रह गरेपछि कार्कीले पैसाको झोला लिएर आफ्नो कारमा राखेका थिए ।

अख्तियारले यसअघि मोटो रकम घुससहित केही कर्मचारीलाई पक्राउ गरेको थियो । तीन महिनाअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अधिकृत शम्भु चालिसेलाई १० लाख घुस लिएर फर्कंदै गर्दा अख्तियारले पक्राउ गरेको थियो । त्यस्तै, मालपोत कार्यालय, सरकारी वकिलको कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूलाई समेत अख्तियारले घुससहित रंगेहात पक्राउ गरिसकेको छ ।

अख्तियारले कडाइ गर्न थालेपछि धेरै घुस लेनदेन हुने भन्सार, राजस्व कार्यालयलगायत निकायका कर्मचारीले घुस कारोबार हुन्डीमार्फत नै मिलाउने गरेको स्रोतको दाबी छ । प्रहरी तथा सेनामा हुने खरिदको कमिसनसमेत हुन्डीमार्फत नै मिलाइने गरिएको स्रोत बताउँछ ।

हुन्डीमार्फत विदेशमा लिइने घुस रकम विदेशी बैंकहरूमै राख्ने गरिएको पनि स्रोतको भनाइ छ । धेरै पैसा घरमा राख्न पनि जोखिम हुने र बैंकमा राख्दा अनुसन्धानमा तानिने भएकाले घुस कारोबारीहरूले विदेशमै राख्ने गरेका हुन् । खातामा धेरै पैसा राखेका व्यक्तिहरूमाथि राष्ट्र बैंकले पछिल्लो समय छानबिनमा कडाइ गर्दै आएको छ ।

राष्ट्र बैंकका प्रवक्ता मनमोहन श्रेष्ठ पनि हुन्डीमार्फत धेरै नै कारोबार हुने गरेको बताउँछन् । ‘हुन्डीको कारोबार घटाउन बैंक र मनी ट्रान्सफरहरूले सेवा सरलीकरण गरी सेवाशुल्क घटाउनुपर्छ,’ उनले भने ।

के हो हुन्डी ?

हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो । दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ । नेपालबाट भारतमा पैसा पठाउन हुन्डीको भारतमा रहेको एजेन्टले नेपालको एजेन्टलाई खबर गर्छ, नेपालको एजेन्टलाई पैसा दिएपछि भारतको एजेन्टले आफ्नो व्यक्तिलाई पैसा उपलब्ध गराउँछ । यसबापत उनीहरूले केही प्रतिशत रकम लिने गर्छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलका नायब सुब्बा हरिवंश कार्कीले कवित चौधरी नामका व्यक्ति भारतमा एजेन्ट रहेको र उनैमार्फत हिसाब मिलाउने गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ । तर, हुन्डीमाथि अनुसन्धान गर्ने अधिकार आफूहरूलाई नभएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटा बताउँछन् ।

मनी ट्रान्सफर कम्पनीभन्दा कम कमिसन लिने भएकाले विदेशमा रहेका कामदारले समेत हुन्डीमार्फत नै कारोबार गर्ने गरेका छन् । भारत, हङकङ, दुबई, मलेसिया, चीन, जापान मात्र होइन, युरोप र अमेरिकामा समेत हुन्डीमार्फत नेपालीले कारोबार गर्ने गरेका छन् । यसमा केही मारवाडी व्यवसायी संलग्न रहेको प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीका अनुसार मनी ट्रान्सफरको कारोबार गर्नेहरू पनि हुन्डीको धन्दामा सक्रिय छन् ।

पहिले विद्युतीय सामग्रीको कारोबार गर्ने व्यक्तिहरूले त्यसैको आवरणमा हुन्डीको धन्दा चलाउने गरेका थिए । बैंकिङ च्यानलबाट कारोबार गर्दा स्रोत खुलाउनुपर्ने भएकाले अवैध किसिमको पैसा लेनदेन हुन्डीमार्फत हुने गरेको हो ।

लागुऔषध, हतियार तथा सुनलगायत सामान तस्करीमा पनि हुन्डीमार्फत नै आर्थिक लेनदेन हुने गरेको प्रहरी अधिकारी बताउँछन् । उनीहरूका अनुसार नेपालमा पछिल्लो समय दैनिक सय किलोभन्दा धेरै सुन तस्करी हुने गरेको र त्यसको लेनदेन हुन्डीमार्फत नै हुने गरेको छ । त्यस्तै, आतंकवादी क्रियाकलापको पैसा पनि हुन्डीमार्फत नै एक देशबाट अर्काे देशमा पुग्ने गरेको छ ।

अनुसन्धान शून्य

तीन–चार तह बनाएर घुस लिनेदेखि हुन्डीबाट पनि लेनदेन हुने गरेको बुझिएको छ । चोरहरू सधैँ प्रहरीभन्दा अगाडि हुन्छन् । हुन्डी कारोबारीमाथि अनुसन्धान गर्ने अधिकार अख्तियारलाई छैन : अख्तियारका प्रवक्ता श्रीधर सापकोटा

हुन्डीमार्फत कारोबार व्यापक नै छ भन्ने छ । संगठित अपराध भएकाले अनुसन्धान अलि जटिल छ । हामीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौँ । हुन्डी कारोबारीमाथि निगरानी भइरहेको छ : एसएसपी पुष्कर कार्की

नेपालमा हुन्डी कारोबारको अनुसन्धान गर्ने प्रमुख निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हो । तर, स्थापनाको तीन वर्षमा विभागले एउटा पनि हुन्डी कारोबारको अनुसन्धान गर्न सकेको छैन । प्रमाण नभेटिने भएकाले अनुसन्धान कठिन हुने विभागका कर्मचारी बताउँछन् ।

स्रोतका अनुसार उपत्यकाका न्युरोड र ठमेल क्षेत्रमा हुन्डीमार्फत धेरै कारोबार हुने गरेको छ । पसलको आवरणमा धेरै व्यक्तिले हुन्डीको काम गर्दै आएका छन् । तर, प्रहरीले समेत हालसम्म एकजनालाई पनि पक्राउ गर्न सकेको छैन । हुन्डी कारोबारीलाई केही प्रहरी अधिकारीबाट पनि संरक्षण हुने गरेको स्रोतको दाबी छ ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की भने हुन्डी कारोबारीमाथि निगरानी भइरहेको बताउँछन् । ‘हुन्डीबाट कारोबार व्यापक नै छ भन्ने छ,’ उनी भन्छन्, ‘संगठित अपराध भएकाले अनुसन्धान अलि जटिल छ, हामीले सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छौँ ।’

हुन्डी नियन्त्रण हुन नसक्दा अन्य किसिमका अपराध पनि बढेको प्रहरी अधिकारी बताउँछन् । नेपालबाट ठूलो मात्रामा लागुऔषध विभिन्न देशमा जाने गरेको छ । यसरी बिक्री हुने लागुऔषधको पैसा नेपालमा अवैध तरिकाबाट नै आउने गर्छ । हुन्डीको अनुसन्धान नै नहुने भएकाले निर्वाध रूपमा अर्बौं रकम यसकै माध्यमबाट लेनदेन हुने गरेको छ ।

श्रीधर मैनालीले तयार पारेको नयाँ  पत्रिका दैनिकमा प्रकाशित समाचार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय