हाम्रो कुरा कमल थापासँग मिल्दैन : खुमबहादुर

२०७१ कार्तिक २९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट

खुमबहादुर खड्का

संयोजक, हिन्दू राष्ट्रका लागि कांग्रेस महाअभियान

नेपाली कांग्रेस विचारका आधारमा चल्ने कि धर्मका आधारमा भनेर तपाईंहरूमाथि पार्टीभित्रबाटै प्रश्न उठिरहेको छ नि ?

Khum Bahadurयसो भन्ने कांग्रेसका नेताहरूले कि त बुझ पचाइरहेका छन् कि कांग्रेसलाई नै बुझिरहेका छैनन् । मुख्य कुरा के हो भने यो राष्ट्र निर्माण भएदेखि नै हिन्दू राष्ट्र थियो । ०६२/६३ को आन्दोलनका वेला कहीँकतै पनि धर्मनिरपेक्षताको कुरा थिएन । यस्तो अवस्थामा एकाएक पार्टीलाई जानकारी नै नदिई, केन्द्रीय समितिमा छलफलसमेत नगराई नेताहरूले धर्मनिरपेक्षता पास गराए । यसमा गम्भीर गल्ती भएकाले सच्याउनुपर्छ भनेर म लागेको हुँ । यसमा अस्पष्ट हुनुपर्ने ठाउँ छैन ।

अर्को कुरा, नेताहरूले आ–आफ्नै विचार राख्ने हो । कसले के भन्छ भन्ने कुरालाई म अन्यथा मान्दिनँ । ०४७ को संविधान हुँदा नेपाली कांग्रेसको विधान के थियो, त्यतिवेला पनि केही साथी गणतन्त्र हुनुपर्छ भनेर उफ्रिरहेका थिए नि त  उनीहरूलाई लागेको कुरा भने । उनीहरूको स्वतन्त्रताको कुरा थियो । अहिले त्यही स्वतन्त्रताको उपयोग गरेर म हिन्दू राष्ट्र बन्नुपर्छ भन्ने अभियानमा सरिक भएको छु । यसबीचमा मैले साधारण जनताको अत्यन्तै सकारात्मक प्रतिक्रिया पाएको छु । पार्टीका नेता कार्यकर्ताको ठूलो समर्थन पाएको छु र अरू पार्टीका साथीहरूको पनि सहानुभूति र समर्थन छ ।

 धर्मनिरपेक्षता घोषणा भएको सात वर्षसम्म केही नगरी यतिवेला संगठित रूपमा हिन्दू राष्ट्रका लागि अभियान थाल्नुपर्ने के आइलाग्यो तपाईंहरूलाई ?
संविधानसभाबाट जबर्जस्ती धर्मनिरपेक्षता पास भएपछि हामीले पार्टीको केन्द्रीय समितिबाट विरोध गरेका छौँ । बाहिर पनि बोलेका छौँ । अहिले किन हामी आयौँ भने संविधान बन्ने लक्षण देखियो । पहिला संविधान बन्ने लक्षण थिएन । त्यसकारण संविधान बन्नुअघि नै घचघच्याउनुपर्‍यो भनेर हामी लागेका हौँ । संविधान जारी भइसकेपछि भोलि संशोधन होला, दुईतिहाइ पुग्ला/नपुग्ला त्यो भिन्नै कुरा हो । समयमै संविधानसभा सदस्य, कांग्रेस र अन्य पार्टीका नेतालाई घचघच्याउन यतिवेला संगठित रूपमा लागेका हौँ । कांग्रेसमा हामीले पहिलेदेखि नै यो आवाज उठाइरहेका हौँ । कांग्रेसको कुनै पनि कमिटीबाट धर्मनिरपेक्षता पास गरेको छैन ।

कांग्रेसलाई बदलेर ०६२/६३को अवस्थामा पुर्‍याउने तपाईंहरूको उद्देश्य हो ?
कांग्रेस पार्टी अथवा कुनै व्यक्तिलाई बदल्ने, कसैलाई फाइदा/बेफाइदा पुर्‍याउने भन्ने होइन । यो मुलुकलाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने अभियानमा हामी लागेका हौँ । यो अभियानले कांग्रेसलाई पनि राजनीतिक रूपमा घाटा लाग्दैन, फाइदा पुग्छ । मूलत: देशकै फाइदाका लागि हामी संगठित भएका हौँ ।

हामीले बिहीबार पार्टीका साथीहरूलाई मात्रै बोलाएका छौँ । १४ देखि २० कात्तिकसम्मका लागि मात्रै अहिले कमिटी गठन गरेका हौँ । बिहीबार विधिवत् रूपमा हाम्रो अर्को कमिटी बन्छ र कामको बाँडफाँड गर्छौं । सबै पार्टीका लाइकमाइन्डेड साथीलाई स्वागत गर्छौं । पशुपतिशमशेर, लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटाजीले यो एजेन्डाका पक्षमा बोलिसक्नुभएको छ । हाम्रो कुरा कमल थापाजीसँग मिल्दैन । थापाजीहरूले राजासहितको हिन्दू राष्ट्र भन्नुभएको छ, हामीले गणतान्त्रिक हिन्दू राष्ट्र भनेका छौँ । जोसँग विचार मिल्छ, सबैलाई समेटेर शान्तिपूर्ण आन्दोलनका लागि तयारी गर्छौं । सार्क सम्मेलन सकिएपछि संविधानसभाबाट हिन्दू राष्ट्र पारित हुने अवस्था आयो भने हामीले केही गर्नैपरेन । त्यो अवस्था आएन भने शान्तिपूर्ण आन्दोलन थाल्छौँ ।

संस्थागत रूपमा त कांग्रेसले हिन्दू राष्ट्र अभियानलाई मान्यता दिएको छैन नि ?
पार्टीका प्रवक्ता दिलेन्द्र बडूजीले यस्तो अभिव्यक्ति दिएको मैले पनि सुनेँ । केही लाइकमाइन्डेड साथीहरू मिली हामीले व्यक्तिगत स्वतन्त्रताको उपभोग गरेर यो अभियान चलाएका हौँ । त्यस हिसाबले यो व्यक्तिगत नै हो । तर, धर्मनिरपेक्षतामा जाने पनि त पार्टीको निर्णय होइन नि । अहिले सत्तामा जो–जो साथीहरूले जे–जे गरिरहनुभएको छ, पार्टीले कहाँ म्यान्डेट दिएको छ ? त्यसकारण पार्टीले निर्णय गर्ने हो भने महासमितिको बैठक बोलाऔँ न त । हिन्दू राष्ट्रको एजेन्डामा प्रजातान्त्रिक रूपमा पार्टीबाट छिनोफानो गर्न किन हिचकिचाउने ? धर्मनिरपेक्षताका पक्षधर साथीहरू त्यसमा लाग्नुस् । मौन बस्नेहरू आफ्नो विवेक प्रयोग गर्नुस्, हामी हिन्दू राष्ट्रका पक्षमा लाग्छौँ । प्रजातान्त्रिक अभ्यास गरौँ र निर्णय निकालौँ । कसैले कसैलाई रोक्ने, दबाब दिने भन्ने कुरै छैन नि ।

 तपाईंले कांग्रेसमा आफ्नो स्थान बलियो पार्न र नेता बन्नका लागि यो अभियान चलाउन खोज्नुभएको हो ?
हेर्नुस्, यो देशमा अहिले कोही नेता नै छैन । प्रधानमन्त्री, सभामुख, पार्टी सभापति धेरै भएका छन् । मन्त्री धेरै भए । म पनि धेरैपटक भएँ । यतिकै आधारमा कोही पनि नेता बन्दैन । राजनीति गर्ने मान्छेसँग दृष्टिकोण हुन्छ । २० वर्षपछि के हुन्छ भन्ने विषयमा अहिलेका नेतासँग कुनै दृष्टिकोण नै छैन । कसरी सत्ता हत्याउने, कसरी सभापति, महामन्त्री, प्रधानमन्त्री हुने भन्नेमा मात्रै सबै केन्द्रित छन् ।

०५८ सालमा यो देशमा क्रिस्चियनहरू कति थिए र अहिले कति पुगे ? २० वर्ष यही अवस्था कायम रहने हो भने नेपालमा धार्मिक द्वन्द्व हुनबाट कसैले पनि रोक्न सक्ने अवस्था छैन । त्यसकारण त्यस्तो द्वन्द्व नआओस् भन्न हामी संगठित भएका हौँ ।

केही साथी जनताको म्यान्डेटको कुरा गरिरहनुभएको छ । त्यसो हो भने जनमतसंग्रह गरौँ । अहिलेको चुनावको नतिजालाई एकपटक हेरौँ न । एमाओवादीले चुनाव जित्यो ? मधेशवादीले चुनाव जित्यो ? जातीय संघीयताको वकालत गर्नेहरूले चुनाव जिते ? उनीहरूले जनताको म्यान्डेट किन नमान्ने ? अहिले म्यान्डेट कांग्रेस र एमालेले पाएका छन् । प्रचण्ड र मधेसवादीले किन पाँचथरबाट द्वन्द्व निम्तिन्छ भन्नुपर्‍यो ? घोर दक्षिणपन्थी मधेसी र उग्रपन्थी माओवादी कसरी एकठाउँमा आइपुगे भन्ने कुरा नेपाली कांग्रेसका नेता–कार्यकर्ताले बुझ्ने कि नबुझ्ने ? कांग्रेसका नेता–कार्यकर्ताले अब आफूमात्रै केही बन्नका लागि चिन्ता गर्ने कि राष्ट्र र जनताको चिन्ता गर्ने ? मैले यही कुरा राख्दै आएको छु, धेरै साथीहरूको समर्थन छ ।

तपाईंले भनेको लाइनमा कांग्रेस आएन भने पार्टी फुटाएर जानुहुन्छ कि यसमै रहनुहुन्छ ?
हामी अलग पार्टी बनाउँदैनौँ । अलग विचार राखेर यही पार्टीभित्र सक्रिय हुन्छौँ । तर, यसको छिनोफानो हुनुपर्छ । महासमिति बोलाउन हामीले भनेका छौँ, यदि नेतृत्वका साथीहरूले मान्नुभएन भने आगामी महाधिवेशनबाट छिनोफानो गर्छौं ।

 महाधिवेशनसम्म संविधानसभाले आफ्नो निर्णय गरिसक्यो भने कुन संविधानमा हिन्दू राष्ट्र लेख्नुहुन्छ ?
हेर्नुस्, मुख्य कुरा शक्तिको हो । ०४७ सालको संविधान विश्वको उत्कृष्ट हो कि होइन ? माओवादीले गर्दा त्यस्तो संविधान च्यात्नुपर्‍यो कि परेन ? कांग्रेस पनि त तयार हुनुपर्‍यो नि π जनताले मानेको अवस्थामा संविधान हुन्छ, यदि मानेनन् भने त्यो कागजको खोस्टोबाहेक के हुन्छ ?

तपाईं एकातिर एकलजातीय पहिचानको आधारमा संघीयतामा जाने कुराको विरोधमा हुनुहुन्छ, अर्कोतिर एकल हिन्दू पहिचानका लागि आन्दोलन गर्ने भनिरहनुभएको छ । कुरो बाझिएन र ?
व्यक्तिगत रूपमा म पहिलेदेखि नै संघीयताको विरोधी हुँ । मैले आफ्नो कुरा राख्दै आएको छु । तर, पार्टीले संघीयताका पक्षमा निर्णय गरेको हुनाले स्वीकार गरेको छु र मान्छु पनि । संघीयता भौगोलिक र सामथ्र्यका आधारमा हुनुपर्छ भन्ने मेरो दृष्टिकोण हो । अहिले एमाले र कांग्रेसले ल्याएको संघीयताको प्रस्तावलाई राम्रै रूपमा हेरेको छु । मधेसवादीहरूले जातीय होइन भौगोलिक संघीयताका कुरा गरेका छन् । सबै पार्टीमा रहेका जातिवादीहरूलाई मेरो प्रश्न छ, जातीयताले यो देश रहन्छ ? आत्मनिर्णयको अधिकारले देश रहन्छ ? विदेशीका मतियार भएर यो देशलाई विखण्डन गराउन केही पार्टी र समूह संगठित रूपमा लागेका छन् । कम्युनिस्ट हुँ भन्नेहरूले जातीयताको कुरा गर्न मिल्छ ? देशमा जातीय आधारमा ससाना संघ बनाएर त्यहाँका जनतालाई थोरै पैसामा किन्ने र आफ्नो हैकम चलाउने मनस्थिति भएकाहरू अहिले सक्रिय छन् । यो कुरा नेपाली जनताले बुझ्नुपर्छ र कांग्रेसका नेता–कार्यकर्ताले पनि ख्याल गर्नुपर्छ । हाम्रा पुर्खाले बनाएको यो राष्ट्र बचाउन सबै विचार भएका मानिस आ–आफ्नो ठाउँबाट सक्रिय हुनुपर्छ ।

 यसको अर्थ, माघ ८ गते संविधान जारी गर्न नदिने गरी तपाईंहरू लाग्नुहुन्छ, होइन ?
संविधानमा हिन्दू राष्ट्र समेटियोस् भन्ने हाम्रो धारणा हो । संविधान बन्नैहुँदैन भनेका छैनौँ । तर, संविधान कस्तो किसिमले बन्छ, हामी हेर्छौं । हाम्रो कुरा छाड्नुस्, माओवादी र मधेसवादीले नै संविधान बन्न नदिने घोषणा गरिसकेका छन् । सार्क सम्मेलन सकियोस्, त्यो वेलासम्म धेरै कुरा आइसकेका हुनेछन् । यदि संविधानसभाका सदस्यले लिँडेढिपी छाडेनन् भने शान्तिपूर्ण आन्दोलन हुन्छ । त्यो आन्दोलनले कसलाई कहाँ पुर्‍याउँछ भन्ने कुरा भविष्यले बताउनेछ ।

राजतन्त्रका विषयमा तपाईंको दृष्टिकोण के हो ?
हाम्रो पार्टीले राजतन्त्रका विषयमा निर्णय गरिसकेको छ । गइसकेको राजतन्त्रका बारेमा मलाई केही भन्नु छैन ।

तपाईंको अभियानले राजा र उनका मान्छेहरूलाई फाइदा पुग्ला कि नपुग्ला ?
कसलाई नाफा हुन्छ, कसलाई घाटा हुन्छ त्यो हेरेर हामीले आन्दोलन गर्न लागेका होइनौँ । हामी संविधानसभाबाट हिन्दू गणतन्त्र घोषणा गर्न भनेका छौँ । यसबाट राजालाई कसरी फाइदा पुग्छ ? म जान्दिनँ ।

तपाईं दिल्ली पुगेर फर्किनुभयो, भारतीय नेताको सद्भाव लिएर आउनुभयो ?
म चेकअप गराउन भारत गइरहन्छु । हामीलाई भारतको सद्भाव चाहिन्छ । तर, सबै कुरा भारतले गर्नुपर्छ भन्ने चिन्तन राखेर विगतमा आन्दोलन गर्दा देश कहाँ पुग्यो ? म यो पक्षमा छैन । भारतीय जनताको नैतिक समर्थन र सद्भाव हुनुपर्छ । तर, भारतीय जनतालाई अघि सारेर हामी जानुपर्छ भन्ने होइन ।

 पर्शुराम काफ्लेले लिनुभएको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय