फेसबुकको प्रेमले प्रहरी खोरमा

२०७१ कार्तिक १३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए1न्यूज नेपाल

फेसबुकमार्फत जोडिएको सम्बन्धले एक युवतीले नसोचेको पीडा भोगेकी छिन् । फेसबुकमार्फत चिनजान भई प्रेमको कसम खाएका कुन्दन श्रेष्ठले ब्ल्याकमेलिङ गरेपछि युवती प्रहरीको शरणमा पुगेकी हुन् । ब्ल्याकमेलिङ गर्ने श्रेष्ठ प्रहरी खोरमा परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आफ्नै प्रेमिकासँग ब्ल्याकमेलिङ गर्ने श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो । प्रहरीका अनुसार श्रेष्ठले ब्ल्याकमेलिङ गर्दै युवतीसँग १३ लाख असुलेका थिए । त्यतिले पनि नपुगेर गोप्य फोटोहरू सार्वजनिक गरिदिने भन्दै थप यातना दिएपछि युवती श्रेष्ठविरुद्ध प्रहरीको शरणमा पुगेकी हुन् । पाँच वर्षसम्म कैद सजाय हुनसक्ने विद्युतीय कारोबार ऐनअन्तर्गत प्रहरीले श्रेष्ठमाथि कारबाही चलाउने भएको छ ।

सिआइबीका डिएसपी नरेश मल्लका अनुसार करिब तीन वर्षअघि दुईजनाबीच फेसबुकमा चिनजान भएको थियो । पछि इमेलमार्फत कुरा भई उनीहरू प्रेम सम्बन्धमा गाँसिएका थिए । धेरैपटक भेटेर घुम्न पनि गएका थिए । तर, श्रेष्ठले युवतीसँगको सम्बन्धलाई पैसा कमाउने माध्यम बनाएको प्रहरीले जनाएको छ ।

युवतीका गोप्य भिडियो र फोटो संकलन गरी श्रेष्ठले गत वर्षदेखि नै ब्ल्याकमेलिङ सुरु गरेको प्रहरीले जनाएको छ । पटक–पटक गरेर युवतीले १३ लाखभन्दा बढी बुझाइसकेकी थिइन् । तर, श्रेष्ठले सताउन छाडेनन् । गोप्य फोटोहरू परिवारलाई पठाइदिने, सार्वजनिक गरिदिने भन्दै उनले लगातार धम्की दिई पैसा मागिरहेका थिए । अति भएपछि युवती प्रहरीको शरणमा पुगेकी थिइन् ।
प्रहरीले प्रमाणसहित श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीले उनको कम्प्युटर तथा इमेलमा युवतीका गोप्य फोटोहरूसमेत फेला पारेको छ ।

फेसबुक, भाइबर, भी–च्याट, स्काइप, ट्यांगोजस्ता माध्यमबाट संकलन गरेका फोटो तथा सन्देशहरू सुरक्षित राखेर श्रेष्ठले युवतीलाई ब्ल्याकमेल गरेका थिए । मोरङ घर भई बानेश्वर बस्ने श्रेष्ठ दुबईमा काम गरेर केही महिनाअघि मात्र फर्किएका थिए । युवतीले भेटेर यस विषयमा कुरा गर्न खोज्दा पनि उनी सम्पर्कमा नआई ब्ल्याकमेलिङ मात्र गर्दै आएको पीडितले बताएको प्रहरीले जनाएको छ ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय